साफ उपाधिका लागि भारतसँग भिड्दै नेपाल

नेपाल र भारतबीचको फाइनल खेल शनिबार नेपाली समय अनुसार राती ८ः४५ मा हुनेछ।

नेपालभ्युज

साफ उपाधिका लागि भारतसँग भिड्दै नेपाल

काठमाडौँ । पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुग्दै इतिहास रचेको नेपालले फाइनलमा चिरपरिचित प्रतिद्वन्द्वि भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ। हिजो राती भएको लिग चरणको अन्तिम खेलमा भारतले डिफेन्डिङ च्याम्पियन माल्दिभ्सलाई ३–१ गोलले पराजित गर्दै अन्तिम दुईमा स्थान पक्का गरेको हो।

फाइनल प्रवेश गर्न भारतलाई जित्नै पर्ने दबाब हुँदा माल्दिभ्सलाई भने खेल बराबरीमा रोके मात्रै पुग्थ्याे। भारतका कप्तान सुनिल क्षेत्रीको दुई गोलको मद्दतले भारतले माल्दिभ्सलाई सहजै हराउन सकेको हो।

यद्यपि, खेलमा भारतलाई अग्रता भने महावीर सिंहले दिएका थिए। खेलको ३३ औँ मिनेटमा उनले गोल गर्दा भारतले अग्रता हाँसिल गरेको थियो। तर, पहिलो हाफको अन्तिम समयमा माल्दिभ्सले प्राप्त गरेको पेनाल्टीलाई सदुपयोग गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए। माल्दिभ्सका अस्फाकले पेनाल्टीमा गोल गर्दै खेल बराबरी बनाएका थिए।

खेलको दोस्रो हाफमा भारतका स्टार स्ट्राइकर सुनिल क्षेत्रीले दुई गोल गर्दै फाइनल यात्रा सुनिश्चित बनाएका थिए। उनले ६२ र ७१ औँ मिनेटमा लगातार दुई गोल गरेका थिए। खेलको अन्तिम समयमा भारतका सुवाशिष बोश रातो कार्ड खाँदै मैदान बाहिर गए पनि त्यसले भारतको जितलाई प्रभावित पारेन। लिग चरणको पहिलो दुई खेलमा बराबरीमा रोकिएको भारत बलियो मानिएका नेपाल र माल्दिभ्सलाई पराजित गर्दै अंक तालिकामा शिर्ष स्थानमा रहँदै फाइनल यात्रा तय गरेको हो।

चार खेलबाट भारतले ८ अंक जोड्दा दोस्रो स्थानमा रहेको नेपालले समान खेलबाट ७ अंक जोडेको छ। ५ टिम मात्रै सहभागी यो प्रतियोगिता राउन्ड रोविनको आधारमा खेलाइएको थियो भने समुह चरणको शिर्ष स्थानमा रहने दुई टिमले फाइनल खेल्ने तय थियो।

नेपाल र भारतबीचको फाइनल खेल शनिबार नेपाली समय अनुसार राती ८ः४५ मा हुनेछ।

पहिल्लो दुई महीनामा नेपाल भारतबीच हुने उक्त खेल चौथो खेल हुनेछ। यसअघि खेलेका तीन खेलमा नेपालले भारतलाई पराजित गर्न सकेको थिएन। भारत ७ पटकको साफ च्याम्पियन जितेको टिम हो भने नेपाल पहिलो पटक फाइनलको यात्रा तय गरेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved