पुराना कथा

सिउँडीको झ्याङमा

तिमी ग्ल्याडिओलसलाई पनि मन पराउँछौ, मलाई भने सिउँडी मन पर्छ। म ग्ल्याडिओलसजस्तो कोमल छैन, म तिमीलाई बिझाउँछु। हो रमेन्द्र! तिम्रो रोमान्टिक अङ्ग्रेजी कवितामा मात्र म पग्लिरहन सक्दिनँ।

सिउँडीको झ्याङमा

एक चोटि खुब राम्रो समय थियो। घुमाउरा बाटा, पहाड, मैदान, समुद्र, चाँदीजस्तै टल्कने सिपीहरू, सुनका पाताजस्तै चम्कने बालुवाका प्रशस्त बगरहरू त्यहाँ ती साना-साना घुमाउने सिँढी भएका रेस्टुराँ, ठूला-ठूला चम्कने कोठामा  बसेर हामी भ्वाइलिन सुन्थ्यौँ। कहिले सितार सुन्थ्यौँ, कहिले साथमा भएका सबै साथीहरूलाई तल कोठैमा छोडेर हामी दुई जना मात्र माथि रेस्टुराँको खुला छतमा पुग्थ्यौं, बरफका टुक्रा हालेर गिलासभरि-भरि कटहरको रस पिउँथ्यौँ।

वन एन्ड टू एन्ड आई लभ यू एन्ड प्ले द गेम अफ लभ।

मरिना बीचमा हाम्रो अगाडि फुर्ती लगाई-लगाई खुट्टा बङ्ग्याएर नाच्ने  त्यो १५-१६ वर्षे आवारा मद्रासी ठिटो अङ्ग्रेजी गीतका शब्द र लयलाई भाँचभुँच गरी आफ्नै विशेषतामा हाउभाउका साथ गाएर दर्शकलाई खुसी पारी त्यसको पैसा धुत्ने बानी अनि माथि बालुवामा हाम्रा खुट्टासम्म आएर छुदै फर्कने समुद्री छालको सर्र-सर्र आवाज, केटाको नृत्य तत्परता, हामी पालैपालो त्यसलाई कति वटा चवन्नी दिन्थ्यौँ, कति वटा अठन्नी दिन्थ्यौँ, कुन्नि के पत्तो ! वन एन्ड टू एन्ड… हाम्रो त ती हातलाई छालबाट उछिट्टिएका पानीका चिसा-चिसा थोपाहरूले छोइरहन्थे। केटो भुरुङ घुमिरहन्थ्यो- वन एन्ड टू एन्ड …।

रमी-रमी रमेन्द्र

उसी-उसी

मेरो नाउँ उषा।

मलाई थाहा छ। मरिना बीच जाँदा बाटामा त्यो कलेजअगाडिको लभर्स पार्क, उसी ! त्यहाँ तिमीले सेल ट्वाइजहरू किनेकी थियौ।

नकराऊ रमेन्द्र ! म उसी होइन भनेको, मेरो नाउँ त उषा!

म तिमीलाई उसी नै भन्छु, पहिलेजस्तै तिमी मेरी उसी…उसी।

भन, म सुन्दिनँ।

मैसुर ! प्रकृतिको लोभलाग्दो हरियो डल्लो कृष्णा र कावेरी नदीको पातलो अँगालो। वृन्दावन गार्डेनको झिलिमिली रात, बत्तीका रङ्गीचङ्गी रूख, फूल र फोहराहरू, चामुण्डी हिल जाँदाको उकालो। हाम्रा हातखुट्टा थकाइले लल्याकलुलुक भएका थिए। टुरिस्ट बसमा हामीसितै सफर गरेको एउटा चिनियाँ प्रोफेसरले हामी दुईको हत्केलाको रेखा हेरेर के भनेको थियो?

उसी-उसी?

यहाँ घाम बिस्तारै हट्दै जान्छ, साँझ ओर्लन्छ अब यो सिउँडीको झ्याङमा। साँझ सर्छ यहाँ निकै वर एउटा रमाइलो साँझ। उसी त घामसित हट्दै जान्छे अनि उषा मात्रै बाँकी रहन्छ]।

यो रमेन्द्र कति फलाकिरहन सक्छ- भो-भो !

उसी ! जगन्नाथपुरी सम्झन्छ्यौ?

पुरी, पवित्र धाम ! त्यहाँ हामी दुई दिन बस्यौँ। भगवानको दर्शन गर्न गएको बेला पण्डाले चुच्चे टोपीजस्तो आकार भएको चाँदीको बिर्कोले हाम्रो टाउको छोपेर कति थुप्रो आशीर्वाद दिएको थियो। तिमीले प्रसादको पेडा भाँचेर आधा मलाई दिएर आधा पछि आफूले खाएको होइन? पुरीको त्यो विशाल समुद्र, जुनेली रातमा हामी त्यहाँ सिक्रीजस्तै जेलिएर ओर्लन्थ्यौँ। पानीको छेउछेउ किनारमा मोटा-मोटा डोरी लाएर बाँधिराखेको काठका ठूलठूला डुङ्गा अनि बालुवाको रासमाथि अँध्यारामा टिमटिमाइरहेका माझीका साना-साना छाप्राहरू कति रमाइला हुन्थे ! हामी मुठीभरि जूनकीरी बटुलेर फेरि अँध्यारामा छरिदिन्थ्यौँ । एक दिन बिहान त्यहीँ मैले तिमीलाई एउटा स्टार फिस लाइदिएर कस्तरी तर्साएँ, तिमी खुब कहालियौ।

मलाई एक्लै छाडिदऊ रमेन्द्र ! गएको कुरा नतान। ती दिन त्यस्तै थिए। अहिले न रमी छ न उसी छ। समय कौडीजस्तै घोप्टियो। तिमीले आफ्नो गतिलाई बीचैमा रोक्यौ र आफू पनि चुक्यौ। म यता पछारिएँ, हेर रमेन्द्र ! म चर्किएकी छु, फेरि हातमा उठाउने कोसिस नगर। चर्किएको वस्तु फुट्न बेर लाग्दैन।

मी निठुरी बेइमानी उसी…उसी ! हिँड, उता ग्ल्याडिओलस फुलेकोतिर जाऊँ, यो क्याक्टस मलाई मन पर्दैन।

हो, म बेइमानी, म यहीँ बस्छु। तिम्रो भाषा म जान्दिनँ। मलाई आफ्नै सिउँडी मन पर्छ, तिमी जान सक्छौ।

साँझ पूरासित पर्छ। मसलाका रूखका पात-पातमा फुस्रो घाम चिप्लिरहन्छ। मेरो के दोष छ भन न।

मसलाको झ्याम्मिएको रूखदेखि हलुकासित सुसाएको हावा सिउँडीका काँडादार झ्याङसम्म पसेर फेरि ढकमक्क फुलेको असारे फूलको रूखमा गएर थामिन्छ। चराका भुत्लाजस्ता फूल बिस्तारै काँप्छन् र फेरि स्थिर हुन्छन्।

सुषमालाई आज हेर्न जानुपर्ने। बिचरी! भर्‍याङबाट लडेर खुट्टा निकै मर्किएको छ।

तिमी सुन्दिनौ उसी? मेरो मुटु छामेर हेर।

पर्सि त कमलाको विवाह भइसक्यो। महेश दिनको चार चोटि मकहाँ आएर सल्लाह लिन्छ- सारी कति जोर हाल्नुपर्छ, यो डिजाइनको नेकलेस उसलाई मन पर्छ कि पर्दैन, लुगाको रङ।

उसी ! उसी !

हरे रमेन्द्र ! तिमी कति कमजोर छौ। तिमीमा बल छैन तापनि तिमी आफ्नो जिद्दी छोड्दैनौ। तिमी त कसैले नदेख्ने गरी मेरो टाउकोदेखि अत्तर खन्याउन मात्रै जान्दछौ। मधुकर, विनायक, सावित्रीहरूसित तिमी त्यसै डरायौ। उल्टा मसित पनि रिसाएर तिमीले सबैलाई तोड्यौ।

उसी ! सुन त।

चार वर्षसम्म तिमी मसित बोलेनौ, ममाथि तिम्रो कति-कति शङ्का रहेछ। मधुकरसित तिम्रो केको रिस ! अरूजस्तै ऊ पनि मेरो साथी हो, अझ मलाई माया गर्ने मेरो नजिकको दाजु। तिमीलाई थाहा छ रमेन्द्र, मधुकरको अन्तै कतै कुरा चल्दै छ।

मैले भनिहाले निँ मलाई माफ गर भनेर।

माफको के कुरो र ! तिम्रा आँखाको जालो पुछिए पनि तिम्रो मन अझै दुर्बल छ। मनको मनसितै नाता हुन्छ। त्यस भारी नातालाई आफूमा गाभ्न सक्ने शक्ति तिमीमा छैन रमेन्द्र !

असारे फूलका लस्करै उभिएका अग्ला-अग्ला रूख मानिसको आयुलाई ठगेर बसिरहेछन्। पहेँलो र रातो ग्ल्याडिओलसको घारीमा साँझमा पनि घामको तिरमिराउने रङ पोतिएको छ। मन त्यो पोल्ने रङमा गएर टाँसिन्छ। रमेन्द्र ! तिमी जान्नौ यहाँबाट? एउटा लामो सुस्केरा थुन्दाथुन्दै मुखबाट फुस्कन्छ।

तिमी फेरि मलाई साथ देऊ उसी! हामी फेरि समुद्रहरू भएका सबै ठाउँ चहार्न जाऔंला, बालुवामुनि-मुनि लुकेका साना-साना शङ्ख र सिपीहरू छानी बटुलौंला।

फुटेको भाँडो जोड्न सजिलै छ तर त्यहाँ जोडमा देखिने भद्दा रेखा छोपिन सक्दैन। हामीले मिल्ने कोसिस गरे पनि हाम्रो मनमा कोरिएको धर्सो… साँच्ची रमेन्द्र ! हामी सुखी हुन सक्दैनौं।

रमेन्द्र ! रमेन्द्र ! तिमी कमजोर छौ, तिमी प्रेमलाई पचाउन सक्दैनौ, चाँडै नै तिमी अघाउँछौ, निलेको जति सबै बान्ता गरिदिन्छौ। म तिम्रो गनाउने बान्ता हुन चाहन्न। सिउँडीका थुम्काथुम्की परेका डल्लाहरू हेर न, हो, म त्यस्तै सारो छु। तिम्रो प्रेमको कोमलाइ ज्यादै तरल छ। तिमी सिउँडीको काँचो दूधलाई पचाउन सक्दैनौ।

साँझ सिउँडीको बाक्ला झ्याङ-झ्याङमा अल्झिंदै जान्छ। एक थुप्रो बादल पर डाँडामा आएर बेरिन्छ- आषाढस्य प्रथमदिवसे। डाँडाको टाकुरो र मुनि सिउँडीका मसिना फूलमा मेघदूत आएर अड्छ। यक्ष, खोइ त्यो विरही यक्ष !

उसी ! तिमी आफ्ना बुबालाई रोक्न सक्दिनौ?

किन?

तिम्रो विवाह पक्का हुँदै छ होइन?

तिमीले केटालाई चिनेकी छौ?

अहँ, मुख पनि देखेको छैन। तस्बिर ल्याएका थिए। मैले त हेरिनँ, हेर्नुपर्ने के खाँचो?

मैले तस्बिर नहेरीकनै हुन्छ भनिदिएकी छु।

आकाशमा बिलाउन बाँकी रहेको उज्यालोको आधा पाखो बादलको सेतो तहमा पुगेर एकछिन छर्लङ्गिन्छ। एकपाखे उज्यालो आकाशमा अघिदेखि चक्कर काटिरहेको एउटा चरो एकैछिनमा बिलाउँछ। चरो हेर्दा दुई वटा आँखा त्यसै  टोलाउँछन्।

उसी ! उसी ! तिमी सुखी हुन सक्छ्यौ त?

सक्छु, किन सक्दिनँ। सबैले आफ्नो सुखको आधा भाग सिङ्गै मलाई सारिदिन्छ भने म सुखी हुन्नँ? उसको सुखलाई जतनसाथ तह लाएर राख्छु।

उसी ! तिमीले मेरो मुटु छामिनौ।

रमेन्द्र ! तिमीले मलाई बुझेनौ।

म मर्छु।

मर्न ज्यादै गाह्रो हुन्छ, तिमी मर्न सक्दैनौ।

तिमी विवाह रोक्न सक्छ्यौ उसी ! सबै तिम्रो हातमा छ, विवाह गर्दिनँ भन। तिमी कति स्वार्थी छौ रमेन्द्र ! मेरो यति सुख पनि तिमी हेर्न सक्दैनौ। ती चार वर्ष तिमीले फिर्ता पाइसकेकै छौ नि ! यो बाँकी समय मलाई देऊ।

उसी !

रमेन्द्र ! तिमी पनि सुख खोज्छौ, म पनि। तर हाम्रो सुख एकै ठाउँमा छैन। तिमी एकातिर बग्छौ, म अर्कातिर। सम्झ, चार वर्षले हामीलाई कता-कता पुर्‍यायो। तिमी ग्ल्याडिओलसलाई पनि मन पराउँछौ, मलाई भने सिउँडी मन पर्छ। म ग्ल्याडिओलसजस्तो कोमल छैन, म तिमीलाई बिझाउँछु। हो रमेन्द्र! तिम्रो रोमान्टिक अङ्ग्रेजी कवितामा मात्र म पग्लिरहन सक्दिनँ।

तिमीलाई थाहा छैन होला, मसँग विवाह हुनेको पाँच वर्षकी एउटी छोरी छे। बिचरी आमा नभएकी केटी! मलाई देखेर उसलाई आफ्नी आमा पाएजस्तै लाग्ला हगि रमेन्द्र !

उसी ! उसी !

म त्यो टुहुरी केटी र उसको बाबुलाई आफ्नो भएभरको माया दिन्छु, सिङ्गै मुटु उनीहरूको अगाडि राखिदिन्छु। तिमीलाई थाहा छ, अनि त्यो केटीको बाबुले मलाई कति माया गर्छ। माया गर्छ, धेरै-धेरै माया गर्छ। रमेन्द्र । तिमीलाई थाहा छ हगि, म पेन्टिङ गर्छु। तिमीलाई त मेरो पेन्टिङ कहिल्यै मन पर्दैनथ्यो।मैले ब्रस समातेँ कि तिमीलाई झर्को लाग्थ्यो। त्यस केटीको बाबुलाई मेरो रुचिका बारेमा सब थाहा छ, अझ मैले तस्बिर पनि बनाउँछु भन्ने सुनेर त ऊ ज्यादै  खुशी भयो।

उसी !

ऊ तिमीजस्तो छैन। तिमीले जस्तो रोमान्टिक कविता रच्न ऊ जान्दैन, तर मलाई विश्वास छ रमेन्द्र। उसले मलाई कहिल्यै पनि दुःख दिदैन। ऊ पनि मसितै यी सिउँडीका झ्याङमा बसेर मैले तस्बिर बनाउन लागेको क्यानभासमा हेरिरहन्छ। साँच्ची रमेन्द्र ! उसको र मेरो सुख एउटै ठाउँमा आएर अड्छ जस्तो लाग्छ।

उसी ! उसी !

छिः रमेन्द्र ! मलाई उसी नभन भनेको होइन? भइगो, अब जाऊ। मलाई एकान्त देऊ। सिउँडीका झ्याङलाई राम्ररी खोतल्नु छ मैले, मेरो तस्बिरमा के-के नमिलेजस्तो भयो। असारे फूल अँध्यारामा डुब्दै गइरहेछन्। रमेन्द्र ! उठ, ओह रमेन्द्र ! तिमी सुखी रहू, सुखी।

असारे फूलसितै रमेन्द्र अँध्यारामा हराउँछ।

तिमी जान्छौ रमेन्द्र! जाऊ। त्यसैले त मैले भनेको तिमी यहाँ टिक्न सक्दैनौ भनेर। साँच्ची, तिमी आफूलाई ममा कहाँ हराउन सक्छौ र !

अँध्यारो, निस्पट्ट अँध्यारो। के भनेर गयो रमेन्द्रले? सुखी रहू, सुखी। जे होस्, जीवनप्रति वितृष्णा छैन। आफूलाई जसोतसो बाँच्नैपर्छ सिउँडीको फूलझैँ आफूलाई काँडा-काँडामा टाँगेर।

उसी ! उसी ! उसी !

रमेन्द्रले छोडेर गएको सुस्केरा अझै यहाँ बजिरहन्छ। उसको शरीरको गन्ध ! उफ् ! कान र नाक थुन्नुपर्छ, ओ रमेन्द्र !

उसी ! उसी ! उ…!


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved