काठमाडौं। साफ च्याम्पियनसिपको फाइनल प्रवेशका लागि आज (बुधबार) बंगलादेशसँग भिड्दैछ। खेलमा फाइनल प्रवेशका लागि नेपालले आज कम्तीमा बराबरी खेल्नुपर्नेछ।
माल्दिभ्समा जारी यो च्याम्पियनसिपको लिग चरणको तेस्रो खेलमा भारतसँग १–० ले पराजित भएपछि नेपालको एक खेल खेल्नु अगाडि नै फाइनल पुग्ने आशा पूरा हुन सकेन।
आफ्नो फुटबल इतिहासमा नै पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा स्थान सुरक्षित गर्न नेपाललाई आजको खेलमा अङ्क जोडे मात्र पुग्नेछ। चाहे त्यो अंक बराबरीबाट प्राप्त हुने एक अंक होस् वा जितबाट प्राप्त हुने तीन अंक।
प्रतियोगिताको आइतबारको दुई लिग खेलमा भारतले नेपाललाई पराजित गर्यो भने माल्दिभ्सले पनि श्रीलंकालाई १–० ले नै हरायो। यो हारपछि श्रीलंकाको साफको फाइनल पुग्ने संभावना सकियो भने बाँकी चार ओटै टिम नेपाल, भारत, बंगलादेश र माल्दिभ्सको फाइनल जाने संभावना कायमै छ। त्यसैले लिगको अन्तिम दुई खेल लिग चरणकै खेल भएपनि सेमिफाइनल सरह हुनेछ।
आजको पहिलो खेल नेपाली समय अनुसार अपरान्ह ४ः४५ बजे नेपाल र बंगलादेशबीच हुँदैछ। त्यसपछि राति ९ः४५ मा भारत र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ।
तालिकाका तीन खेलमा दुई जित र एक हारपछि ६–६ अंकसहित नेपाल र माल्दिभ्स पहिलो र दोस्रो स्थानमा छन्। त्यसैगरी अपराजित रहेपनि तीन खेलमा मात्र एक जित र दुई बराबरी पछि पाँच अंक रहेको भारत तेस्रो स्थानमा छ। बङ्लादेश भने समान खेलमा एक जित र एक बराबरीपश्चात् चार अंक जोड्दै चौथो स्थानमा रहेको छ।
फाइनलमा पुग्न अन्तीम खेलमा भारत र बंगलादेशलाई स्पष्ट जित आवश्यक छ भने नेपाल र मालदिभ्सलाई माल्दिभ्सलाई बराबरी नै काफी हुनेछ।
भारतलाई फाइनलमा पुग्न माल्दिभ्सलाई हराउनै पर्ने हुन्छ। बराबरीमा रोकियो भने सर्वाधिक सात पटकको उपाधि विजेता भारतको यो पटकको साफ यात्रा समाप्त हुनेछ।
उता डिफेन्डिङ च्याम्पियन माल्दिभ्सलाई नेपालको जस्तै भारतसँग बराबरी खेल नै अन्तिम दुईमा पुग्न पर्याप्त छ। खेल जिते त झन राम्रो। तर हार भोगेमा भने माल्दिभ्सको पनि यो च्याम्पियनसिपको यात्रा लिग चरणबाट नै सकिनेछ।
नेपालले अन्तिम खेलमा बंगलादेशसँग हार भोग्नबाट जोगिनु पर्नेछ। बंगलादेशसँग पराजित भएमा भने शुरुको दुई खेलमा जित हात पारे पनि नेपाल फाइनलमा पुग्नबाट बञ्चित हुनेछ।
नेपालका लागि बंगलादेश त्यति सजिलो प्रतिद्वन्दी पनि होइन। नेपालका प्रशिक्षक अब्दुल्ला अलमुताइरी भन्छन्,“अबको अन्तिम खेलबाट नेपालको फाइनलमा छनोट हुने संभावना कायमै छ, तर बङ्लादेशसँग मात्र होइन सबै खेल आफैमा गाह्रो हुन्छ। यो प्रतियोगिताका कुनैपनि खेल सजिलो छैन।”
हालसम्मको ‘हेड टू हेड’ हेर्दा पनि बंगलादेशसँगको नेपालको इतिहास निकै खराब छ। नेपालले बंगलादेशसँग खेलेका हालसम्मको २७ खेलमा मात्र ८ खेल जितेको रेकर्ड छ। अन्य १४ खेलमा बंगलादेश विजयी हुँदा पाँच खेल बराबरीमा सकिएको थियो।
तर फिफा वरीयता क्रममा भने बङ्लादेश नेपाल भन्दा २१ स्थान तल छ। वरीयता क्रममा बंगलादेश १ सय ८९ औँ स्थानमा छ भने नेपाल १ सय ६८ औं स्थानमा छ।
Facebook Comment
Comment