खेलकुदप्रेमीलाई भ्याइनभ्याई यो दशैं

तपाईंले यो पटकको दशैंमा खासै कुनै योजना बनाउनुभएको छैन भने र खेलकुदमा रूचि छ भने विशेष र रमाइलो हुनेवाला छ।

खेलकुदप्रेमीलाई  भ्याइनभ्याई यो दशैं

दशैं भन्ने बित्तिकै कतिपयलाई लामो फुर्सदको समय कसरी बिताउने भन्ने हुन्छ। वर्षभरिमा एक पटक पाइने अलिक लामो बिदामा कसैले घुम्ने, कसैले साथीभाइ भेट्ने र कसैले लङ्गुरबुर्जा, तास, पिङ आदि खेल्ने योजना बनाएका हुन्छन्।

यदि तपाईंसँग माथिका योजना छैनन् तर ‘स्पोर्टस्’ मा रुचि छ भने यसपालिको तपाईंको दशैं साह्रै विशेष र रमाइलो हुनेवाला छ। खेलप्रेमीलाई मनोरञ्जन दिन यो पटक संयोगले दशैं दौरान धेरै अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता र खेलहरू सञ्चालन हुँदैछन्।

साफ च्याम्पियनसिप फाइनल टकाको भोलिपल्ट

दशैंमा नेपालको लागि सबैभन्दा महत्वपूर्ण प्रतियोगिता भनेको साफ च्याम्पियनसिप हो।

दक्षिण एशियाली फुटबलमा राष्ट्रिय टिमको सबैभन्दा ठूलो प्रतियोगिता हो यो। जसको १३ औं संस्करण माल्दिभ्समा चलिरहेको छ।

च्याम्पियनसिपमा नेपालको लिग चरणको अन्तिम खेल महाअष्टमीका दिन हुँदैछ। लिग चरणको अन्तिम खेलमा नेपालले दक्षिण एशियाको चिरप्रतिद्वन्द्वी  बंगलादेशसँग खेल्दैछ। यो खेल बुधबार नेपाली समय अनुसार पौने पाँच बजेदेखि शुरु हुँदै छ।

च्याम्पियनसिपको पहिलो खेलमा आयोजक माल्दिभ्सविरुद्ध नेपालले १-० को जित दर्ता गरेको थियो। मनिष डाँगीको ८६ औं मिनेटको आकर्षक तथा एक मात्र निर्णायक गोलमा माल्दिभ्सलाई हराँउदा उक्त जित ऐतिहासिक बन्यो। किनकि माल्दिभ्सलाई नेपालले साफ च्याम्पियनसिपमा हराएको यो पहिलो अवसर थियो भने २२ वर्षमा नेपालले माल्दिभ्सलाई हराएको यो पहिलो पटक थियो।

त्यसैगरी लिगको दास्रो खेलमा नेपालले श्रीलंकालाई निकै रोमाञ्चक प्रतिस्पर्धामा ३-२ गोल अन्तरले पराजित गरेको थियो। यो खेलमा नेपालको जितमा सुमन लामा, आयुष घलान र अन्जन विष्टले एक एक गोल गरेका थिए।

लिगमा लगातार दोस्रो जितपछि नेपालको पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुग्ने सम्भावना निकै बलियो भएको थियो। हिजो आइतबार राति भने नेपाल भारतसँग १-० गोलअन्तरले पराजित भयो। तर नेपालको सम्भावना अझै बलियो छ। नेपाल बलियो अंकसहित दोस्रो स्थानमा छ। नेपालले अब बंगलादेशलाई पराजित गर्न सके फाइनल प्रवेश गर्नेछ।

यो च्याम्पियनसिपको फाइनल खेल त झन् टीकाको भोलिपल्ट अर्थात् एकादशीको दिनमा खेलिनेछ। यदि नेपाल फाइनलमा पुगेमा फुटबलप्रेमी नेपाली समर्थकलाई दशैंको रोमाञ्चकता दुगुना हुनेछ।

एकातर्फ दशैंको रौनकतामा रम्दै गर्ने, अनि अर्कोतर्फ राष्ट्रिय टिमलाई उपाधि जिताउन समर्थन गर्दै फाइनल म्याचको मजा लिने।

एक विशुद्ध नेपाली फुटबलप्रेमीलाई यसरी दशैं मनाउन पाउँदा अरु के चाहियो र। अझ नेपालले फाइनल जित्दै उपाधि उचाल्यो भने त यो नेपाली फुटबलकै ऐतिहासिक दशैं हुनेछ। त्यस्तै नेपाली फुटबल समर्थकका लागि जिन्दगीभर यो दशैं यादगार रहनेछ।

नेपाली राष्ट्रिय फुटबल टिमले यो दशैंमा नेपाली फुटबल समर्थकलाई साफ च्याम्पियनसिपको ट्रफी उपहार देओस्।

ण्डियन प्रिमियर लिग (आईपीएल) को फानल टकाको दिनमा

क्रिकेटप्रेमीका लागि त यो दशैं अझ विशेष छ। विश्वभरि सञ्चालित घरेलु फेन्चाइज लिग क्रिकेटमध्ये इण्डियन प्रिमियर लिग (आईपीएल) सबैभन्दा अग्रस्थानमा आउँछ। आईपीएल विश्वमा आयोजना हुने क्रिकेट लिगमध्ये सबैभन्दा बढी दर्शकको सहभागिता रहने लिग हो। त्यसैगरी समग्रमा खेलिने सबै खेलको लिगमा औसत दर्शकको उपस्थितिका हिसाबले पनि आईपीएल छैटौं स्थानमा पर्छ।

धेरै फ्यान फलोइङ र ठूलो ब्राण्ड भइसकेको आईपीएल, क्रिकेटमा रुचि हुनेहरूका लागि धेरै ठूलो प्रतियोगिता हो। भारतमा जस्तै नेपालमा पनि आईपीएल क्रिकेट फलो गर्ने दर्शक धेरै छन्। ठूलो संयोगले यो वर्ष आईपीएलको फाइनल खेल टीका अर्थात् विजयादशमीकै दिन छ।

पूर्व निर्धारित खेल तालिकाअनुसार १४ औं संस्करणको यो आईपीएलको फाइनल गत जेठ १६ गते नै तय गरिएको थियो। तर तर प्रतियोगिता दौरान केही खेलाडीमा कोभिड देखिएपछि आईपीएल सारिएको हो।

फाइनल अघिको आईपीएलको दोस्रो क्वालिफायरको खेल पनि महाअष्टमीका दिन नै हुँदै छ। फाइनल पुग्न क्वालिफायरको खेलमा दुई टिम ‘गर या मर’को अवस्थामा हुनेछन्।

त्यसैले यो खेल पनि कम रोमाञ्चक हुँदैन। त्यसमाथि फूलपातिदेखि नै प्रायः सबैको दशैंको खानेपिउने माहोल शुरु भइसकेको हुन्छ।

टी-ट्वान्ट विश्वकप क्रिकेट टकाको पर्सिपल्टबाट

विश्व क्रिकेटप्रेमीका हालको सबैभन्दा रोमाञ्चाक र लोकप्रिय फर्म्याट भनेको टी-ट्वान्टी क्रिकेट हो। टेष्ट र एकदिवसीय क्रिकेटभन्दा छोटो समयमा नै खेल सकिने र चाँडै-चाँडै बाउन्ड्री र विकेटको सम्भावना भएकाले २० ओभरको टी-ट्वान्टी खेललाई पछिल्लो समय धेरैले अत्याधिक रुचाउँदै आएका छन्।

त्यसैले आईपीएलजस्ता टी-ट्वान्टी फेन्चाइज लिगसँगै राष्ट्रिय टिमको टी-ट्वान्टी खेल पनि दर्शकका लगि आर्कषण बनिरहेका छन्।

यही राष्ट्रिय टिमको सबैभन्दा ठूलो प्रतियोगिता टी-ट्वान्टी विश्वकप संयोगले यो पालि दशैंमै परेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को तालिकाअनुसार यो विश्वकप गतवर्ष नै अष्ट्रेलियामा आयोजना हुनुपर्ने थियो। तर कोभिडका कारण सरेको विश्वकप यसपालि भारतमा गर्ने योजना थियो। तर त्यसमा पनि कोभिड बाधक बनेपछि विश्वकप ओमान र यूएईमा आयोजना हुँदैछ।

क्रिकेट रुचाउने खेलप्रेमीका लागि दशैंको विश्वकप निकै रमाइलो हुनेछ। फेरि प्रायः खेलहरू बेलुका हुनेछन्। त्यसैले दिनभरि घुमेर वा अन्य काम गरेर साँझमा आफ्नो सुविधाअनुसार विश्वकपका खेलहरू हेर्दै खानु, पिउनुको मजा बेग्लै हुनेछ।

विश्वकपका खेलहरू द्वादशी अर्थात् विजयादशमी (टीका) को पर्सिपल्टबाट शुरु हुनेछन्। सन् २००७ देखि शुरु भएको टी-ट्वान्टी विश्वकपमा वेष्ट इण्डिज डिफेण्डिङ च्याम्पियन तथा सर्वाधिक दुई पटकको विजेता राष्ट्र हो।

१६ राष्ट्र सम्मिलित यो प्रतियोगिताको पहिलो चरणका खेलहरू आइतबारबाट शुरु हुँदैछन्।

द्वादशीको पहिलो दिनको खेलमा बङ्गलादेश र स्कटल्याण्ड तथा ओमान र पीएनजीबीच प्रतिस्पर्धा हुँदैछ।

त्यसैगरी भोलिपल्टको खेलमा नामिबियाले श्रीलङ्काको सामना गर्दा अर्को खेलमा आयरल्याण्ड र नेदरल्याण्डबीच भेट हुनेछ।

विश्वकप छनोट र यूरोपियन क्लब फुटबलका खेल दशैंभरि नै

नेपाली हिन्दूहरू यता मजाले दशैंको रमझममा रमिरहँदा उता यूरोपमा भने दशैंभरि नै फुटबलको बहार चलिरहेको हुन्छ।

फुलपातिको दिनमा राति विश्वकप फुटबलको यूरोपियन छनोट खेलमा हालका म्यानचेष्टर यूनाइटेडका स्टार क्रिष्टियानो रोनाल्डोको पोर्चुगल र लग्जेम्बर्गबीच प्रतिस्पर्धा हुनेछ। सोही दिनराति अर्को वर्ष कतारमा हुने विश्वकप फुटबलको लागि हुने यूरोपियन छनोट खेलमा हङ्गेरीले इङ्ल्याण्डको सामना गर्नेछ।

विजयादशमीका दिन बिहानै भने विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटमाअन्तर्गत लियोनल मेस्सीको अर्जेन्टिना र पेरुबीच खेल हुनेछ। त्यसैगरी अर्को प्रतिस्पर्धात्मक खेलमा नेइमारको ब्राजिल र लुइस स्वारेजको उरुग्वेबीच कडा भिडन्त हुँदैछ।

टीकाकै दिन राति यता मेस्सीको नयाँ क्लब पीएसजीले भने फ्रेन्च लिगमा एन्जर्ससँग खेल्नेछ।

इङ्लिस प्रिमियर लिग (ईपीएल) का महत्वपूर्ण खेलहरू भने विजयादशमीको भोलिपल्ट एकादशीको दिन बेलुका र राति हुँदै छन्।

जहाँ लिभरपुलले वाटफोर्डसँग खेल्दा, म्यानचेष्टर यूनाइटेड र लेसेष्टर सिटीबीच भिडन्त हुनेछ। त्यसैगरी बर्नलीले म्यानचेष्टर सिटीको सामना गर्दा अर्को खेलमा चेल्सीले र ब्रेन्टफोर्डसँग खेल्नेछ।

यदि तपाई यी क्लब तथा राष्ट्रिय टिमको समर्थक हुनुहुन्छ वा स्टार खेलाडीहरूको फ्यान हुनुहुन्छ भने तपाईको यो दशैं खेलकुदमय बन्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved