काठमाडौं । साफ च्याम्पियनसिपको तेस्रो खेलमा नेपाल भारतसँग पराजित भएको छ।
आइतबार राति पौने १० बजे माल्दिभ्समा शुरु खेलमा नेपाल भारतसँग १-० गोलअन्तरले पराजित भयो। भारतका लागि कप्तान सुनिल क्षेत्रीले खेलको ८२ मिनेटमा निर्णायक गोल गरे।
पहिलो हाफ बराबरीमा रोक्न सफल भए पनि नेपालले दोस्रो हाफमा झनै फितलो प्रदर्शन गरेको थियो। जितसँगै भारतले लगातारको दुई बराबरी पहिलो जित निकालेको छ। यसअघि भारत बंगलादेश, श्रीलंकासँग बराबरीमा रोकिएको थियो।
भारतले बारबार प्रयास गरे पनि गोल गर्नबाट चुकेको थियो। पूरा समय नेपाललाई दबाबमा राखेको भारतले गोल गर्न भने अन्तिमसम्म कुर्न परेको थियो।
५७ मिनेटमा भारतले पाएको मौका खेर फाल्यो। भारतीय खेलाडीको प्रहार नेपालका गोलकिपर किणले उत्कृष्ट पञ्च गरी गोल टारेका थिए। त्यसैगरी ६४ मिनेटमा भारतका खेलाडीले गरेको अर्को प्रहार पनि नेपालका डिफेन्डर दिनेश राजवंशीले रोकेका थिए।
त्यस्तै ७७ मिनेटमा पाएको फ्रिकिकलाई भारतका सुनिल क्षेत्रीले हेडमार्फ पोस्टको दिशा दिए पनि बल सीधै नेपालका गोलकिपर किरणले हातमा पुगेको थियो।
यसैगरी ८० मिनेटमा कर्नरबाट प्रहार गरेको बल सुनिलले हेडिङमार्फत प्रहार गरे पनि पोस्टभन्दा अगाडि ठोक्किएर आकाशिएको थियो। तर ८२ मिनेटमा उनै सुनिल क्षेत्रीले किरण नजिकैबाट गरेको प्रहार गोलमा परिणत भयो।
८६ मिनेटमा नेपालका आयुष घलानले गरेको प्रहारले पोस्टको दिशा लिन सकेन। त्यसअघि नेपालले भारतविरुद्ध खासै गतिलो प्रहार गर्न सकेन।
जितपछि भारतले पाँच अंक जोडेको छ। तीन खेलबाट नेपालको भने ६ अंक छ। त्यस्तै माल्दिभ्सले आजै साँझ श्रीलंकाविरुद्ध १-० को जित निकाल्दै नेपालसमान ६ अंक जोडेको छ। श्रीलंका भने प्रतियोगिताबाट बाहिरिएको छ।
नेपालले भने अब हुने बंगादेशसँगको खेल जित्नैपर्ने हुन्छ। माल्दिभ्सले भारतलाई बराबरीमा रोकेको खण्डमा नेपाल पनि बंगलादेशसँग बराबरीमा रोकिए पनि नेपाल फाइनल पुग्नेछ।
Facebook Comment
Comment