अफगानिस्तान परित्यागपछि तालिबानसँग अमेरिकाको पहिलो वार्ता

आफूमाथि लगाइएको प्रतिबन्ध हटाउने आशा तालिबानी प्रतिनिधिमण्डलले राखे पनि अमेरिका-तालिबान सम्बन्धमा सुधार हुने संकेत धमिला छन्।

नेपालभ्युज

अफगानिस्तान परित्यागपछि तालिबानसँग अमेरिकाको पहिलो वार्ता

काठमाडौं। तालिबानका वरिष्ठ अधिकारीहरू र अमेरिकी प्रतिनिधीहरूबीच दुई देशबीचको सम्बन्धको ‘नयाँ पाना खोल्ने’बारे छलफल भएको अफगानी कूटनीतिज्ञले जनाएका छन्।

१० अक्टोबर (शनिबार) कतारको दोहामा तालिबानी र अमेरिकी कूटनीतिज्ञबीच वार्ता भएको थियो। गत अगस्टमा अफगानिस्तान त्यागेपछि तालिबानसँग अमेरिकाको पहिलोपटक छलफल भएको थियो।

अफगानिस्तानका निमित्त परराष्ट्रमन्त्री खान मुत्ताकीका अनुसार अफगानिस्तानी प्रतिनिधि मण्डलको चासो मानवीय सहयोगमा थियो। साथै पछिल्लो वर्ष वासिङ्टनसँग तालिबानसँग भएको सहमति लागू गर्न पनि जोड दिएको उनले बताए। उक्त सहमतिले नै अमेरिकालाई अफगानिस्तान परित्याग गर्ने मार्ग प्रशस्त गरेको थियो।

अफगानिस्तानको केन्द्रीय बैंकको बचतमा लगाइएको प्रतिबन्ध हटाउन पनि अफगानिस्तानी प्रतिनिधि मण्डलले माग गरेको उनले बताए। अमेरिकाले अफगानी जनतालाई कोभिड-१९ विरुद्धको खोप पनि उपलब्ध गराउने जनाए।

तालिबानी प्रतिनिधि मण्डलले युरोपेली युनियनका प्रतिनिधिहरूलाई पनि भेट्ने उनले जानकारी गराए।

दोहास्थित अल जजिराका संवाददाता नतासा घोनेइमका अनुसार कतारको राजधानीमा रहेका तालिबानी प्रतिनिधिमण्डलले सुरक्षा मामिला र आर्थिक संकटबारे छलफल हुने विश्वास गरेका छन्।

“अफगानिस्तानका परराष्ट्रमन्त्रीले आफ्नो वित्तीय संकट समाधान गर्न अन्तर्राष्ट्रिय समुदायको सहयोग खोजिरहेछन्”, उनले भनिन्।

“उनीहरूले अमेरिकासँग आर्थिक प्रतिबन्ध हटाउन र अफगानिस्तानको राष्ट्रिय बैंकमा लगाइएको बन्देज फुकुवा गर्न अनुरोध गरिरहेछन्। आफ्ना कर्मचारीलाई तलब खुवाउन र अफगानी जनतालाई सेवा प्रवाह गर्न प्रतिबन्ध फुकुवा जरुरी भएको उनीहरूको तर्क छ”, उनले बताइन्।

अलजजिराकी संवाददाताका अनुसार अमेरिका र अफगानिस्तानबीच वार्ताबाट तत्काल निष्कर्ष निस्कन भने गाह्रो छ किनकि अहिले पनि अमेरिकाको चाहना र अफगानिस्तानको संक्रमणकालीन सरकारको चाहनाबीच ठूलो भिन्नता छ।

तालिबानसँग वर्षौंदेखि वार्ताका लागि अमेरिकाले तोकेका व्यक्ति जाल्मे खलिजादको अनुपस्थिति अर्थपूर्ण रहेको घोनेइमले थपिन्। अमेरिकाले भने तत्काल कुनै जानकारी गराएको छैन।

अलजजिराबाट


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved