महँगियो यसपालि दशैंमा च्याङ्ग्रा

महँगियो यसपालि दशैंमा च्याङ्ग्रा

बागलुङ । आठ दिनको हिडाइपछि मुस्ताङबाट २५ च्याङ्ग्रा लिएर व्यापारी रामबहादुर खत्री बागलुङ आए।

यसपटकको दशैंमा उनले पहिलो पटक मुस्ताङका च्याङ्ग्रा भेडा बागलुङ भित्र्याए। जिल्लाका एक दर्जन व्यापारी दशैंका अवसरमा भेडा च्याङ्ग्रा लिन हिमालपारिको जिल्ला मुस्ताङ पुग्ने गरे पनि यसपटक थोरै व्यापारी मात्रै हिमालपारि च्याङ्ग्रा लिन पुगेका छन्। तिब्बतबाट च्याङ्ग्रा नआउँदा मुस्ताङका सीमित च्यांग्रा भेडा बजार ल्याइएको छ।

अहिले मुस्ताङका अधिकांश भेडा च्याङ्ग्रा पोखरा पुर्‍याइने गरेको छ। केही वर्षअघिसम्म बागलुङमा मात्रै दुईदेखि तीन हजार भेडा च्याङ्ग्रा भित्रिने भए पनि अहिले त्यसको संख्या घटेर पाँच-सात सयमा झरेको छ।

मुस्ताङमै भेडा च्याङ्ग्राको मूल्य बढी भएका कारण थोरै मात्रा भेडा च्याङ्ग्रा लिएर बागलुङ आएको व्यापारी खत्रीले बताए।

“मुस्ताङमै एउटा च्याङ्ग्राको मूल्य ३२ हजार पर्‍यो, एक दुई हजार नाफा खानै पर्‍यो। बागलुङमा ३६ हजारमा च्याङ्ग्रा बिक्री गर्ने योजना छ” उनले भने, “च्याङ्ग्रीलाई समेत १७ हजार बढी मूल्य पर्ने भएको छ, आठ दिनको हिँडाइ निकै कष्टकर छ, तिब्बतबाट च्याङ्ग्रा नेपाल नआए आगामी दिनमा च्याङ्ग्राको मूल्य छोइनसक्नु हुनेछ।” मुस्ताङ पुगेका व्यापारी महेन्द्र केसी र अम्मर बहादुर क्षत्रीले पनि बागलुङतर्फ च्यांग्रा लिएर आउँदै आइरहेका छन्।

अहिले जिल्लामा च्याङ्ग्राको मासु प्रतिकेजी एक हजार ८०० रुपैयाँमा कारोबार शुरु भएको छ। हिमालीक्षेत्रमा जडीबुटी खाएर हुर्केका भेडा च्याङ्ग्राको मासु स्वादिष्ट हुने गर्दछ। अन्य चाडपर्वमा खसीबोका र कुखुराको मासुको माग हुने भए पनि वडा दशैंमा च्याङ्ग्राको मासु खाने तथा कोसेली लैजाने परम्परासमेत छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved