ओलीको पालामा भएका भ्रष्टाचार छानबिन गर्न नेपालको माग

ओलीको पालामा भएका भ्रष्टाचार छानबिन गर्न नेपालको माग
फाइल तस्वीर

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई भ्रष्टाचारको छानबिन गर्न आग्रह गरेका छन्।

एकीकृत समाजवादी काभ्रेपलान्चोकको जिल्ला पार्टी कार्यालयको उद्घाटन एवं विजयादशमी, शुभ दीपावली, नेपाल संवत् र छठपर्वको अवसरमा शनिबार आयोजित शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा उनले सरकारमा बस्नेले गलत बाटोमा जान छुट नभएको उल्लेख गर्दै भ्रष्टाचार गर्नेलाई जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका हुन्।

केपी शर्मा ओली सरकारको पालामा भएका यती, कोरोना महामारीको बेलामा भएको औषधि खरिदलगायत धेरै मुद्दाको ढाकछोप गर्ने कोसिस भएको बताउँदै उनले राज्यको सम्पत्तिको दुरुपयोग गर्नेलाई एक–एक छानबिन गर्ने काम गर्न आग्रह गरे।

“संसारका देशमा प्रधानमन्त्रीदेखि जुनसुकै ओहोदाका व्यक्तिलाई पनि राज्यको सम्पत्तिको दुरुपयोग गर्छ र भ्रष्टाचार गर्छ भने त्यसमाथि छानबिन हुन्छ”, उनले भने, “तर यहाँ कुनै पनि छानबिन भएन, त्यसतर्फ ध्यान दिन प्रधानमन्त्री र वर्तमान सरकारलाई म आग्रह गर्न चाहन्छु।”

सो क्रममा उनले आफ्नो पार्टी लोकतान्त्रिक विधि र तरिका अवलम्बन गर्न चाहेको बताउँदै पार्टीबाट मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको मन्त्रीलाई पनि राम्रो काम गरेर देखाउन र यदि गलत काम गरेको खण्डमा त्यहाँ राखिने छैन भनेर प्रस्ट भनिसकेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved