काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं महाधिवेशन स्थगित भएको छ। प्रतिनिधि चयनमा विवाद भएपछि यसअघि तोकिएको मितिमा महाधिवेशन नहुने भएको हो।
दशौं महाधिवेशन तथा विश्व सम्मेलन आगामी कार्तिक ६ देखि ८ सम्म काठमाडौंमा गर्ने गरी कार्यतालिका तय भएको थियो। प्रतिनिधि चयनको विवाद किनारा लगाएर मात्रै महाधिवेशन गर्न परराष्ट्र मन्त्रालयले एनआरएनएलाई पत्राचार गरेको छ।
आगामी ६ महीनाभित्र नयाँ पदाधिकारीको निर्वाचन सम्पन्न गर्न वर्तमान कार्यसमितिको कार्यकाल थपिने एनआरएनए वरिष्ठ उपाध्यक्ष डा. बद्री केसीले बताए। आगामी साता बस्ने अन्तर्राष्ट्रिय परिषद् आइसीसी बैठकले महाधिवेशनको नयाँ मिति तय गर्ने उनले जानकारी दिए।
परराष्ट्रले विधान विपरितका गतिविधि सच्याएर मात्रै निर्वाचन प्रक्रियामा केन्द्रीत हुन एनआरएनएलाई शुक्रबार चार बुँदे निर्देशन दिएको छ। राष्ट्रिय समन्वय समिति र महाधिवेशन प्रतिनिधि चयनमा विधान विपरित काम भएकाले विधान विपरितका काम स्वत रद्द हुने परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले संघलाई पठाएको पत्रमा उल्लेख छ।
विधान विपरित सदस्यता वितरण र प्रतिनिधि चयन गरिएको, निर्वाचनमा धाधली भएको, विधान विपरित नियमावलीका आधारमा महाधिवेशनका गतिविधि भएको भन्दै गत २४ भदौमा परराष्ट्रमा उजुरी परेको थियो।
उजुरी पछि परराष्ट्र मन्त्रालयका सहसचिव भरत रेग्मीको संयोजकत्वमा कानुन र सञ्चार मन्त्रालयका प्रतिनिधि संलग्न छानविन समिति गठन भएको थियो। समितिले विगतका महाधिवेशनको अभ्यास र विधान अनुसार प्रतिनिधि चयन गर्न एनआरएनएनलाई निर्देशन दिएको छ।
एनआरएनए अध्यक्षका लागि कुल आचार्य, बद्री केसी र रविना थापाले उम्मेदवारी घोषणा गरिसकेका छन्। आचार्य र थापा कांग्रेस र केसी नेकपा एमाले निकटका उम्मेदवार हुन्।
आचार्य नवौं महाधिवेशनमा वर्तमान अध्यक्ष कुमार पन्तसँग पराजित भएका थिए। वर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष रहेका केसी दुई पटक महासचिव र कोषाध्यक्ष थिए। थापा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् उपाध्यक्ष छन्।