हमाललाई कांग्रेसकै कोटाबाट मन्त्री बनाइएको प्रचण्डको प्रष्टोक्ति

भने, ''होहल्ला गर्न आवश्यक छैन''

नेपाल भ्युज

हमाललाई कांग्रेसकै कोटाबाट मन्त्री बनाइएको प्रचण्डको प्रष्टोक्ति
फाइल तस्वीर

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिमण्डल विस्तारमा न्यायालयलाई भागबण्डा गरियो भन्नु गलत भएको बताएका छन्।

शनिबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले गजेन्द्र हमाललाई कांग्रेसको कोटाबाट मन्त्री बनाइएको बताएका हुन्। अध्यक्ष दाहालले यो विषयमा होहल्ला गर्नु आवश्यक नरहेको बताए। उनले भने, “कांग्रेसको आफ्नै मान्छे हो, आफ्नै कोटामा ल्याइसकेपछि यता हो र त्यता हो भन्नुको कुनै तुक छैन।” उनले सांसद नभएका व्यक्तिलाई छ महीनासम्म मन्त्री बनाउने व्यवस्था संविधानमै रहेको बताए।

“यसभन्दा अगाडि पनि सांसद नभएका व्यक्तिलाई मन्त्री बनाइने गरेको छ”, उनले भने, “यो नयाँ कुरा होइन।” अध्यक्ष दाहालले पहिलो पटक प्रतिनिधिसभाको विघटन हुँदा सेटिङसेटिङ भन्ने चर्चा भएकाले भन्न मन लागेकाहरूले भनेको हुनसक्ने बताउँदै सेटिङ नभएको बताए।

“सरकार कोभिडविरुद्धको खोपको व्यवस्थापन गर्नमा लागेको छ”, उनले भने, “जनताको जीवनरक्षा गर्ने सरकारको पहिलो प्राथमिकता हुन्छ।” अध्यक्ष दाहालले आफूहरुले शुरुदेखि नै खोपखोप भन्दै आएको बताउँदै खोपको व्यवस्थापन र जनतालाई राहत दिने कुरा प्राथमिकतामा पर्ने धारणा राखे। उनले विकास निर्माणसँग सम्बन्धित कुरालाई अगाडि बढाउने र थाती रहेका विधयेकलाई अगाडि बढाउने कुरा पनि सरकारको प्राथमिकतामा पर्ने जानकारी दिनुभयो।

लिपुलेक, कालापानी, लिम्पियाधुराको विषय हिजो पनि केपीको कर्म नभएर आफूहरुको कर्म भएको बताउँदै उनले भने, “लिम्पियाधुरा, कालापानीको विषय उठाएर संसद्मा लानुपर्छ भन्ने हामी थियौँ। अहिले पनि सरकारको साझा नीति कार्यक्रममा समावेश गरेका छौँ।”

अध्यक्ष दाहालले राष्ट्रिय सहमति र परिमार्जनविना एमसिसी पास नहुने स्पष्ट पारे। उनले भने, “राष्ट्रिय सहमति र परिमार्जनविना यो पास हुन सक्दैन।” संसद् अवरुद्ध गर्ने नैतिक र राजनीतिक अधिकार प्रतिपक्षलाई नरहेको बताउँदै अध्यक्ष दाहालले भने, “पटकपटक संसद् विघटन गर्नेलाई विरोध छ भने जनतामा गए भयो।” संसद् अवरोधमा कुनै तर्क र तथ्य नरहेको उनको भनाइ थियो।

Leave a Reply

Your email address will not be published.

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved