चीनमा दशैं वनभोज

लगभग ५० जना नेपाली र २५ जना चिनियाँ भेला भएर नाचगानसँगै लङ्गुबुर्जा र तास खेलेर रमाइलो गरेका हुन्। बिङ्गोको रमाइलोसँगै चिनियाँहरूले चाहिँ उनीहरूकै तरिकाको तास खेलेका थिए।

चीनमा दशैं वनभोज

बेइजिङ । दशैंमा लङ्गुरबुर्जा खेल्ने खेलाउने नेपाली शहरी क्षेत्रमा धेरै पहिल्यैदेखिको चलन हो।

विशेषगरी युवा पुस्ता तथा बालबालिकाहरू खुद्रा पैसा भेला  गरेर लङ्गुरबुर्जा खेल्न पाउँदा दंग पर्छन्। लङ्गुरबुर्जा खेल्नकै लागि उनीहरू पहिलेदेखि नै पैसाको जोहो गर्दछन्। शहरी क्षेत्रमा लङ्गुरबुर्जा खेल्ने चलन भए पनि दशैँमा गाउँतिर चाहिँ पिङ खेल्न रुचाउँछन्।

लङ्गुबुर्जा खेले पनि अथवा पिङ मच्चाए पनि मनोरञ्जन लिनु र दशैँलाई रोचक बनाउनु यसको उद्देश्य हो। टाढा पुगेका आफन्त भेला हुने, लामो बिदा परेकाले साथीहरूसँग मिलेर खेलबाड गर्ने, सामाजिक अन्तर्क्रिया गर्ने, काम र अध्ययनको बोझ बिसाउने, पिरमर्का भुल्ने र आफ्नो बालापनलाई सम्झाउने माध्यम पनि भएकाले दशैँको समयमा यस प्रकारका क्रियाकलापहरू हुने गर्दछन्।

मातृभूमिबाट टाढा रहे पनि आफ्नो संस्कृति र चालचलन व्यक्तिसँगै बसाइ सर्ने गर्दछ। दशैँका यस्तै चलनलाई नेपालीहरूले चीनमा समेत भित्र्याएका छन्। चीनको व्यस्त शहरी क्षेत्र नजिकै रहेको पार्कमा लङ्गुर बुर्जा खेलाउँदै डाइसको बट्टा हल्लाउँदा चिनियाँहरू छक्क परेर हेर्न झुम्मिएका थिए।

व्यापार व्यवसायका रूपमा चीनमा बसेका नेपालीले पनि दशैँको पूर्वसन्ध्यामा भेला भएर यस्तै लङ्गुर बुर्जा खेल्दै रमाइलो गरेका छन्। पार्कमा भेला भएर चिनियाँहरूले तास र माच्याङ खेल्ने गर्दछन्। चीनमा लङ्गुरबुर्जा खेल्ने चलन छैन।

चीनको पूर्वमा पर्ने चच्याङ प्रान्तको यिऊमा रहेका नेपालीहरूले यही अक्टोबर ७ तारिख (असोज २१ गते) बिहीबार पार्कमा गएर दशैँ वनभोज मनाएका छन्। लगभग ५० जना नेपाली र २५ जना चिनियाँ भेला भएर नाचगानसँगै लङ्गुबुर्जा र तास खेलेर रमाइलो गरेका हुन्। बिङ्गोको रमाइलोसँगै चिनियाँहरूले चाहिँ उनीहरूकै तरिकाको तास खेलेका थिए।

चच्याङ प्रान्तिस्थित गैरआवासीय नेपाली संघ चच्याङ क्षेत्रीय समितिले यिऊको लोङसान पर्यटकीय पार्कमा दशैँ वनभोज कार्यक्रम आयोजना गरेको हो। संघले हरेक दशैँ र नेपाली नयाँ वर्षको अवसर पारेर यस प्रकारको कार्यक्रम आयोजना गर्दै आएको दुमरुले उल्लेख गरे।

चच्याङ प्रान्तको केन्द्रमा रहेको यिऊ सामान आपूर्तिमा विश्वमै चर्चितस्थल हो। सो क्षेत्रबाट स्पेनको म्याड्रिडसम्म प्रत्यक्ष डुवानी रेल सञ्चलानमा छ। यिऊको थोक बिक्री बजार यति विशाल छ कि यसलाई सर्सर्ती घुमेर सक्नका लागि छ महिनामा पनि सम्भव हुँदैन भन्ने गरिन्छ। यसलाई विश्वकै सबैभन्दा ठूलो थोकबिक्री बजार भनिन्छ।

यिऊमा गत वर्ष नेपाल चम्बर अफ कमर्शको शाखा खुलेको छ जसलाई चीनको स्थानीय सरकारले मान्यता दिएको छ। लामो समयदेखि यिऊमा बसेर व्यापार गरिरहेका भक्तपुरका विष्णुप्रसाद दुमरुको सक्रियतामा चेम्बर अफ कमर्सको शाखा खुलेको हो। दुमरु गैरआवासीय नेपाली संघ चीन शाखाका वर्तमान उपाध्यक्ष पनि हुन्।

दशैँको पूर्वसन्ध्यामा आयोजित भेलामा नेपाली व्यापारीले केरुङ नाका र तातोपानी नाकामा नेपाल जाने सामग्री रोकिएको समस्यामा पनि गम्भीर छलफल गरेका दुमरुले नेपालभ्यूजलाई बताए। दशैँको शुभकामना आदानप्रदानसँगै चीनमा रहेका नेपाली व्यवसायीका समस्याबारे पनि छलफल भएको बताउँदै दुमरुले भने, ‘धेरै साथीहरूको चासो र गुनासोचाहिँ दशैँका लागि नेपाल पठाइएका सामान केरुङ र तातोपानी नाकामा रोकिएको विषयमा थियो।”

पार्कमा दिनभर भएको भेलामा नेपाली पाराको खानपान र नेपाली संगीतको नाचगानले आसपासमा भएका चिनियाँको ध्यान तानेको दुमरुले बताए। कोरोना महामारी हुनुभन्दा पहिले यिऊमा सयभन्दा बढी संख्यामा नेपाली थिए। कोरोना महामारी फैलिन थालेपछि केही नेपाली फर्किएकाले अहिले ६० भन्दा बढी नेपालीहरू यिऊमा रहेका उनले सुनाए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved