नेपाली कांग्रेस र भाजपा सम्बन्ध : सिद्धान्तबाट धर्मतर्फ

सैद्धान्तिक आधारमा फरक रहेका नेपाली कांग्रेस र भारतीय जनता पार्टी (भाजपा) ले पार्टीगत सम्बन्ध विस्तारको पहल गरेका छन्। नेपालमा चिनियाँ प्रभाव बढेको भारतीयको विश्लेषणबीच नेपालकै पुरानो पार्टीसँग भाजपाले सम्बन्ध विस्तार गर्न लागेको हो। हिन्दूत्वको नारा लिएको भाजपासँग नेपाली कांग्रेसले पार्टीगत सम्बन्ध विस्तारको पहल गर्दा नेपालमा भने त्यसलाई संशयका रुपमा हेरिएको छ।

नेपाली कांग्रेस र भाजपा सम्बन्ध : सिद्धान्तबाट धर्मतर्फ
नेपाली कांग्रेस र भारतीय जनता पार्टीका नेताहरु दिल्लीमा भेटपछि। फोटो : भारतीय जनता पार्टीको ट्विटरबाट

काठमाडौँ। नेपाली कांग्रेस र भारतीय जनता पार्टी (भाजपा) बीच आपसी सम्बन्ध विस्तार गर्न नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महत नतृत्वको टोली बिहीबार भारत प्रस्थान गरेको छ।

दुवै देशका पार्टीबीच साझा सौद्धान्तिक आधार केही नभए पनि बद्लिँदो परिवेशलाई मध्यनजर राख्दै व्यवहारिक सम्बन्ध विस्तार गर्न भ्रमण हुन लागेको बताइएको छ।

बीपी कोइरालाको सैद्धान्तिक आधारमा नेपालमा नेपाली कांग्रेसको स्थापना भएको हो भने, पण्डित दिनदयाल उपाध्यायको सौद्धान्तिक धरातलमा टेकेर आजको भाजपाको स्थापना भएको हो। एउटै कालखण्डका यी दुवै नेताको वैचारिक धरालतमा स्थापना भएको यी दुई पार्टीको सौद्धान्तिक धारातल भने एउटै छैन।

कांग्रेसको भारत साइनो

नेपाली कांग्रेस र भारतको कांग्रेस समाजवादी पार्टीबीचको सम्बन्ध पुरानो हो। भारतमा कांग्रेस समाजवादी पार्टी संस्थापना गर्दा कोइरालाको ठूलो भूमिका रहेको बताइन्छ। जयप्रकाश नारायणको नेतृत्वमा कांग्रेस समाजवादी पार्टी गठनपछि कोइरालाले पार्टी सञ्चालनका लागि ठूलो योजदान दिएको बताइन्छ।

नेपालको २००७ सालको क्रान्तिमा भारतका समाजवादी पार्टीका नेताहरू स्वंयमसेवकै रूपमा खटिएका थिए। भोला चटर्जीलगायत केही नेता नेपालमै आएर आन्दोलनमा सहभागी भएका थिए। नेपाली कांग्रेसले सञ्चालन गरेको मुक्ति मोर्चाका लागि आवश्यक पर्ने हतियार जुटाउन पनि भारतको कांग्रेस समाजवादी पार्टीको सहयोग थियो।

यस्तै भारतीय राष्ट्रिय कांग्रेससँग नेपाली कांग्रेसको सम्बन्ध पुरानो हो। भारतको स्वतन्त्रता संग्राममा नेपाली कांग्रेसका संस्थापक नेता कोइरालाले सहभागी हुँदै जेलनेलसम्म भोगेका थिए। भारतीय स्वतन्त्रता संग्राममा जेल परेर सन् १९४६ मा छुटेपछि नै कोइरालाले नेपाली कांग्रेस स्थापना गरेका हुन्।

नेपाली कांग्रेस र भारतीय जनता पार्टीका नेताहरु दिल्लीमा भेटपछि। फोटो : भारतीय जनता पार्टीको ट्विटरबाट

भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूसँगको बीपीको सम्बन्धको चर्चा आजसम्म हुनेगर्छ। यस्तै नेपाली कांग्रेसको नेतृत्वमा सञ्चालन भएको पञ्चायतविरुद्ध आन्दोलनमा भारतीय कांग्रेसका नेता चन्द्रशेखर आजात सहभागी थिए। त्यसबेलासम्म नेपाली कांग्रेस र भाजपाबीच कुनै सम्बन्ध नै थिएन।

प्रधानमन्त्री निवास बालुवाटारमा अबेर साँझसम्म करिब दुुई घण्टा बिताएका चोथाइवालेले प्रधानमन्त्री पत्नीबाट रक्षाबन्धन गर्नेदेखि नेपाल-भारत सम्बन्धबारे खुुलेर कुरा गरे। उनको भ्रमणको व्यवस्थापनमा खटेका एक नेपाली सहयोगीका अनुसार प्रधानमन्त्री दम्पतीले भारतसँगको सहकार्यबिना आफूहरू बढ्न नचाहेको सन्देश दिएका थिए।

बदलिएको सम्बन्ध

सत्तारुढ नेपाली कांग्रेसका सहमहामन्त्री डा. महतको लिखित निमन्त्रणामा ६ भदौमा भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले काठामाडौँ आएका थिए। जनैपूर्णिमाका दिन प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरेका उनले प्रधानमन्त्रीपत्नी आरजुसँग राखीसमेत बाँधेका थिए।

प्रधानमन्त्री निवास बालुवाटारमा अबेर साँझसम्म करिब दुुई घण्टा बिताएका चोथाइवालेले प्रधानमन्त्री पत्नीबाट रक्षाबन्धन गर्नेदेखि नेपाल-भारत सम्बन्धबारे खुुलेर कुरा गरे। उनको भ्रमणको व्यवस्थापनमा खटेका एक नेपाली सहयोगीका अनुसार प्रधानमन्त्री दम्पतीले भारतसँगको सहकार्यबिना आफूहरू बढ्न नचाहेको सन्देश दिएका थिए।

स्वयं प्रधानमन्त्रीकै चाहनामा कांग्रेस सहमहामन्त्री महतले लिखित रूपमा चौथाइवालले काठमाडौंस्थित भारतीय राजदूतमार्फत निमत्रणा पठाएका थिए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अत्यन्तै निकट रहेर काम गरिरहेका चौथाइवाले पछिल्लो समय नेपाल-भारत सम्बन्धको मध्यस्तकर्ता जस्तो देखिएका छन्।

भारतमा मोदी उदाएसँगै छिमेकी देशसँगको सम्बन्धलाइ पहिलो प्राथमिकतामा राखेको उनले घोषणा गरेका थिए। यद्यपि त्यसअनुसार नतिजा नदेखिए पनि भारत सरकार र भारतीय सतारुढ दल भाजपा त्यसका लागि सक्रिय रहेको दाबी उनीहरूको छ।

६ भदौमा काठमाडौ आएका चौथाइवालेले प्रधानमन्त्री देउवासँगको भेटपछि ट्वीटरमार्फत त्यही जिकिर गरेका थिए। उनले नेपालका प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवासँगको भेट अत्यन्तै सौहार्दपूर्ण र उत्साहवर्द्धक रहेको बताएका थिए। भारतीय प्रधानमन्त्री मोदीले छिमेकीहरूसँगको सम्बन्ध प्राथमिकताका राखेकाले सफल पनि भइरहेको उनले उल्लेख गरेका थिए।

प्रधानमन्त्री निवास बालुवाारमा दुुई घण्टा बिताएका उनले त्यहाँ नेपाल-भारतबीच पछिल्लो समय लगातार देखिएका समस्यादेखि सरकार टू सरकार र पार्टी टू पार्टीसम्मको सम्बन्धको चर्चा गरेका बुझिएको छ।

ओली नेतृत्वको सरकारका बेला अहिलेको सत्तारुढ गठबन्धनमा सहभागी भएका नेताहरू (पाँच पूर्वप्रधानमन्त्री) ले २९ जेठमा विज्ञप्ति निकालेर भारतप्रति घुमाउरो परामा असन्तुष्टि व्यक्त गरेका थिए। पूर्वप्रधानमन्त्रीहरू देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, माधवकुमार नेपाल र डा बाबुराम भट्टराईले संयुक्त विज्ञप्ति जारी गरेका थिए। उनीहरूले ओली सरकारले अलोकतान्त्रिक कदम चालेको प्रति आलोचना गरेका थिए। जस कारण भारत बेखुस रहेको चर्चा थियो।

प्रतिक्रियावादी शक्तिहरूले नेपालको वर्तमान व्यवस्थामाथि प्रहार गर्न ओली सरकारसँग मिलेको उनीहरूको आरोप थियो।

६ भदौको साँझतिर बालुवाटार प्रवेश गरेका भाजपा विदेशप्रमुख चौथाइवाललेसँग प्रधामन्त्री देउवा स्वयंले उक्त पाँच पूर्व पाँच प्रधानमन्त्रीहरूको विज्ञप्तिबारे प्रस्टीकरण दिएका थिए।

विगतमा जेजस्ता घटना भए पनि अब ती बिर्सेर भारतसँगको सहकार्यमा आफू बढ्न खोजेको देउवाले चौथाइवालेलेस‍ँग बताएका थिए। चौथाइवालेले देउवासहित नेपालका सबैजसो शीर्ष नेताहरू भारतीय नेतासँग सम्पर्क रहेकाले कुनै गुनासो वा असन्तुष्ट भए व्यक्तिगत रूपमा राख्न आगह गरेका थिए। उनले भाषणबाजी र वक्तव्यको तहमा नजान आग्रह गरेको बुझिएको छ। नेपालका नेताहरूले चाहेअनुसार भारतले सम्बन्ध बनाएर बढ्न खाजेको पनि देउवालाई चौथाइवालले प्रस्ट पारेका थिए।

सरकारदेखि पार्टीसम्मका नेताहरूसँग चौथाइवालेको भेटघाट सकारात्मक रहेको कांग्रेस सहमहामन्त्री महतले दाबी गरेका थिए। नेपालभ्यूजसँग कुरा गर्दै महतले भनेका थिए, “सरकारलाई भारतको सहयोग रहने छ, हामीले पार्टी टू पार्टी सम्बन्धबारे पनि खुलेर चौथाइवालेसँगको यो पटकको भ्रमणमा कुराकानी गरेका छौं।”

भारतमा भाजपा बलियो गरी आएको र नेपाली दलहरूले पनि भारतको राजनीति बुझ्नुपर्ने महतले बताए। नेपाली कांग्रेस र भाजपा दुवै तिरबाट पार्टी प्रतिनिधिमण्डल बनाएर दोहारो भ्रमण गर्ने र एकअर्कासँग घुममिल हुनेबारे पनि कुरा भएको उनले बताए। नेपाली कांग्रेसको महाधिवेशनलगत्तै प्रतिनिधिमण्डल बनाएर भारत पठाउने कुरा भएको महतले जानकारी दिए।

चौथाइवाले नेपाल आउनु एक दिनअघि काठमाडौंस्थित रिर्पोर्टस क्लबमा भाजपा नेता दिनेश उपाध्यायले नेपालमा हिन्दूहरूको बाहुल्य रहेको भन्दै धर्मरक्षामा जोड दिएका थिए। त्यसको केही दिनअघि पनि भाजपा नेता र भारतीय प्रधानमन्त्री मोदीनिकट रहेर काम गरिरहेका तरुण मिश्रा काठमाडौं आएका थिए। उनले पनि प्रधानमन्त्री देउवालाई भेटे। चौथाइवाले फर्केको केही दिनपछि पुनः भाजपाका पूर्वविदेश विभाग प्रमुख राम माधव काठमाडौं आएका थिए।

६ भदौमा भाजपा विदेश विभाग प्रमुख काठमाडौ आउनु दुई दिनअघि मात्रै प्रधानमन्त्री देउवा दम्पतीले बंगलामुखी मन्दिर गएर पूजा गरेका थिए। ६ भदौमा काठमाडौं विमानस्थलमा उत्रिएका चौथाइवाले सीधै प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। देउवापत्नी आरजुलाई चौथाइवालले राखी लगाएको विषयलाई जानकारहरूले ‘गम्भीर सन्देश’ बताउन थालेका छन्।

चौथाइवाले काठमाडौं आएको एक महिना १५ दिनपछि कांग्रेसको टोली दिल्ली गएको छ।

प्याराडाइम सिफ्ट ?

प्रजातान्त्रिक समाजवाद नेपाली कांग्रेसको सैद्धान्तिक धरातल हो भने आन्तरिक मानवतावाद भाजपाको। धर्मलाई राजनीतिभन्दा टाढा राख्नुपर्ने नेपाली कांग्रेसको प्रचलित मान्यता हो भने, धर्मकै आधारमा सत्ताको सोपान गरेको भाजपालाई आरोप छ।

भाजपासँगको नेपाली कांग्रेसको सम्बन्धको इतिहास खोज्दा तत्कालीन नेपाली कांग्रेसका नेता डा.तुलसी गिरी राष्ट्रिय स्वयंम सेवक (रासस) संघको सदस्य हुनुबाहेक अरू खासै सम्बन्ध देखिँदैन। राससकै प्रेरणामा भाजपाको कार्यदिशा तय हुने विश्वास गरिन्छ।

राजनीतिक विश्लेषक श्रीकृष्ण अनिरुद्ध गौतम नेपाली कांग्रेस र भाजपाबीच १९९० को दशकसम्मै सम्बन्ध नभएको बताउँछन्। “भाजपा नेता अटल विहारी बाजपेयी पहिलो पटक सन् १९९६ मा भारतको प्रधानमन्त्रीमा नियुक्त हुँदासम्म पनि नेपाली कांग्रेस र भाजपाबीच औपचारिक सम्बन्ध स्थापना भएको थिएन,” विश्लेषक गौतम भन्छन्, “दुई पार्टीबीच विस्तार हुन लागेको सम्बन्ध अवस्थाजन्य स्वार्थले प्रेरित गरेको भन्न सकिन्छ।”

नेपाली कांग्रेसको महाधिवेशनको मिति नजिक आउँदैछ। महाधिवेशनमा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्रैबाट ठूलो चुनौती सामना गर्नुपर्ने प्रारम्भिक विश्लेषणबीच भारतीय सत्तारुढ पार्टीसँगको सम्बन्ध विस्तारलाई पार्टीको फरक गुटले संशयका दृष्टिकोणले नहेरेका होइनन्।

“नेपाली कांग्रेसको आसन्न महाधिवेशनको छेकोमा डा. प्रकाशशरण महत नेतृत्वको तीन सदस्यीय टोलीको भारत भ्रमणले धेरै चासो निम्त्याएको सत्य हो भन्छन् कांग्रेस निकटका राजनीतिक विश्लेषक पुरञ्जन आचार्य। “धर्मलाई राजनीतिसँग नजोड्ने नेपाली कांग्रेस र धर्मलाई नै राजनीतिको सोपान बनाएको भाजपाबीच पार्टी टू पार्टी सम्बन्ध विस्तारले शंका जन्माएको सत्य हो,” विश्लेषक आचार्य भन्छन्,“ यद्यपि यस प्रकारको भ्रमणबाट शंका भएका विषयमा परिणाम आउन सक्छ भन्ने मलाई विश्वास लाग्दैन।”

भाजपाले नेपालको संविधनानमा नै नेपाललाई हिन्दूवादी राष्ट्र उल्लेख गर्न दबाब दिएको बतान्छ। पार्टीकै महामन्त्री शंशाक कोइरालाले केही समयअघि हिन्दू राष्ट्रका विषयमा विचार गर्न सकिने बताउने गर्थे। देउवा र कोइराला पार्टीभित्रकै फरक गुटका व्यक्ति हुन्। तर, हिन्दुत्वको मुद्दालाई प्रमुख बनाएको भाजपासँगको पार्टी सम्बन्धले महाधिवेशनको नजिक रहेको कांग्रेसको भावी कार्यदिशामै परिवर्तन त ल्याउँदैन भन्ने प्रश्न उब्जिएको छ।

विश्लेषक आचार्य भने कुनै पार्टीको चाहनाले मात्रै हिन्दू राष्ट्र बन्ने अथवा ती कुराहरूमा लचिलो हुने अथवा नभएको बताउँछन्। भन्छन्,“देउवा एक्लैले यस विषयमा भारतसँग सहकार्य गर्नसक्ने परिस्थिति नेपालमा छैन।”

भारत नेपालमा व्यावहारिक सम्बन्ध स्थापना गर्न चाहन्छ। पार्टीगत हिसाबमा कुरा गर्दा नेपालसँग सहकार्य गर्न नेपाली कांग्रेसजस्तो सहज भारतलाई अन्य पार्टी छैनन्। अनुसन्धानकर्ता नायक भन्छन्, “व्यवहारिक सम्बन्ध विस्तारका लागि नै नेपाल भारतका दुई सत्तारुढ दलबीच पार्टी ‘टू’ पार्टी सम्बन्ध स्थापना गर्न खोजिएको हो।” 

भारतको संस्थापननिकट मानिएका केही नेपालीको बुझाइ भने फरक छ। राजनीतिमा ‘आउट अफ द बक्स’ केही नहुने उनीहरूको विश्वास छ। कुनै पनि घटनाको परिणाम देखिन लामो प्रक्रिया कुर्नुपर्ने उनीहरू बतााउँछन्। अर्कोतर्फ नेपालमा कम्युनिष्ट पार्टीको सरकार हुँदा नेपाल-भारत सम्बन्धमा जुन प्रकारको असर गर्‍यो, ‘ड्यमेज कन्ट्रोल’ का लागि पनि नेपाली कांग्रेस सँगको सम्बन्धलाई पार्टीगत हिसाबमा नै विस्तार गर्न लागेको देखिन्छ। चीन पनि नेपालको राजनीतिमा खुला हिसाबमा आउन लागेको धेरैको विश्लेषण थियो।

असोज २०७६ मा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिष्ट पार्टीबीच ६ बुँदे सहमतिका साथ पार्टी टू सम्बन्ध विस्तार भएको थियो। तत्कालीन नेकपाको स्कूल विभाग र चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागको संयुक्त आयोजनामा काठमाडौँमा प्रशिक्षण कार्यक्रमसमेत आयोजना भयो।

त्यसैलाई इंगित गर्दै भारतीय रक्षा मन्नत्रालयअन्तर्गत रहेको मोहन पारेकर अनुसन्धान संस्था (आईडीएसए) का अनुसन्धानकर्ता निहार नायक भन्छन्, “नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीको जस्तो लिखित सहमति गरेर नेपाली कांग्रेस र भाजपाबीच सम्बन्ध विस्तार हुन लागेको होइन।”

भारत नेपालमा व्यावहारिक सम्बन्ध स्थापना गर्न चाहन्छ। पार्टीगत हिसाबमा कुरा गर्दा नेपालसँग सहकार्य गर्न नेपाली कांग्रेसजस्तो सहज भारतलाई अन्य पार्टी छैनन्। अनुसन्धानकर्ता नायक भन्छन्, “व्यवहारिक सम्बन्ध विस्तारका लागि नै नेपाल भारतका दुई सत्तारुढ दलबीच पार्टी टू पार्टी सम्बन्ध स्थापना गर्न खोजिएको हो।”

२९ असारमा प्रधानमन्त्रीमा नियुक्त भएका देउवालाई भारतसँगको सम्बन्ध सुधारका लागि चुनौती पनि उत्तिकै छ। नेपालमा प्रधानमन्त्री नियुक्त भएको केही समयमै भारतीय प्रधानमन्त्रीबाट बधाई सन्देश आउने गरेकोमा देउवाको हकमा त्यस्तो भएन। त्यस घटनालाई नेपाली कांग्रेस र भारतीय सरकारबीच हार्दिक सम्बन्ध नभएको उदाहरणका रूपमा धेरैले व्याख्या गरेका थिए।

नेपाली कांग्रेस सत्तामै रहेको बेला दुई पार्टीबीच किन सम्बन्धको निभ गाड्न खोजियो त? लामो समय भारतको शासनमा रहेको भारतीय राष्ट्रिय कांग्रेससँग नेपाली कांग्रेस र त्यसका नेताहरूको राम्रो सम्बन्ध थियो। आठ वर्षदेखि भारतीय सत्तामा भाजपा छ। यो अवधिमा हाल आएर मात्रै नेपाली कांग्रेससँग भाजपालाई किन पार्टीगत सम्बन्ध स्थापना गर्न आवश्यक भयो? नेपालभ्यूजको प्रश्नमा भाजपा नेता डा.विजय जोली भन्छन्, “औपचारिकता अहिले दिन थालिए पनि सम्बन्ध पहिल्यैदेखि थियो।”

२९ असारमा प्रधानमन्त्रीमा नियुक्त भएका देउवालाई भारतसँगको सम्बन्ध सुधारका लागि चुनौती पनि उत्तिकै छ। नेपालमा प्रधानमन्त्री नियुक्त भएको केही समयमै भारतीय प्रधानमन्त्रीबाट बधाई सन्देश आउने गरेकोमा देउवाको हकमा त्यस्तो भएन। त्यस घटनालाई नेपाली कांग्रेस र भारतीय सरकारबीच हार्दिक सम्बन्ध नभएको उदाहरणका रूपमा धेरैले व्याख्या गरेका थिए।

भारतसँग विद्यामान समस्या जस्तैः कालापानी, लिपुलेक, लिम्पियाधुराको सीमा समस्यालाई एउटा निकर्षमा पुर्‍याउनुपर्ने प्रधानमन्त्री देउवालाई चुनौती छ। सीमा समस्या समाधान गर्न सकेको अवस्थामा आसन्न महाधिवेशनमा पार्टीभित्रकै चुनौती सामना गर्न उनलाई सहज हुने बुझाइ उनीनिकट नेताहरूको छ भने त्यसले केही समयपछि हुने राष्ट्रिय निर्वाचनमा कांग्रेस पार्टीको महत्व अझै प्रस्ट्याउन सहयोग पुग्ने चर्चा गरिन्छ।

नेपालको राजनीतिको धेरै आयाम भारतसँग जोडिएको सत्य हो। यस्तो अवस्थामा भारतसँगको सीमा समस्याका विषयमा केही नबोलेर चीनसँगको सीमा समस्या अध्ययन गर्न गृहमन्त्रालयको नेतृत्वमा एक अध्ययन समितिलाई सीमा क्षेत्र पठाउने देउवा सरकारको निर्णयलाई रणनीतिक हिसाबमा बुझ्नुपर्ने विश्लेषकहरू बताउँछन्।

चीनसँग आक्रामक र भारतसँग नरम कूटनीति अपनाएर प्रधानमन्त्री देउवाले भारत फकाउने प्रत्यन्न गरेको बताइन्छ।

नोट – यो समाचार सामग्री प्रकाशनपछि फोटो थप गरिएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved