ओटीटीमा रिलिज भयो मनोज पण्डित निर्देशित चलचित्र ‘एक’

नेपालभ्युज

ओटीटीमा रिलिज भयो मनोज पण्डित निर्देशित चलचित्र ‘एक’

काठमाडौं। मनोज पण्डित निर्देशित चलचित्र ‘एक’ ओटीटीमा रिलिज भएको छ। कोरोना महामारीका कारण थला परेको सिनेमा उद्योगको विकल्प खोज्दै डिजिटल प्लेटफर्म ओटीटी प्लेटफर्म डिसहोम ५५५, सिनेमा घर एप, नेट टिभी, म्याक्स टिभी र ओहो मूभिजमा आज घटस्थापनाको दिनदेखि चलचित्र रिलिज गरिएको निर्देशक पण्डितले जानकारी दिए।

नेपाल वैदेशिक हस्तक्षेप र चलखेलको ‘प्ले ग्राउण्ड’ बन्दै गएकोमा नेपाललाई विदेशी हस्तक्षेपबाट जोगाउनुपर्छ भन्ने सन्देश दिन चलचित्र बनाइएको निर्माण टिमले जनाएको छ। स्वतन्त्र मधेशका नाममा देशलाई टुक्राउन खोजिएकोमा त्यस्ता षड्यन्त्रबाट नेपाललाई जोगाउन विशेष गुप्तचर निकायको स्थापना गर्न सीएसआईका रूपमा इन्टिलिजेन्ट निकायको परिकल्पना चलचित्रले गरेको छ।

मधेस विकास र शान्तिको पक्षमा अगाडि बढ्ने क्रममा यसलाई विथोल्न स्वतन्त्र मधेसको अवधारणा स्थापित गरेर नेपाललाई सँधैं अस्थिर राख्ने षड्यन्त्रको शिकार नेपाल भएको कथा चलचित्रमा प्रस्तुत गरिएको निर्देशक पण्डितले जनाएका छन्।

ग्रेटर नेपाल वृत्तचित्र बनाउँदा स्वतन्त्र मधेसको राजनैतिक विचार बोकेका केही युवासँग पण्डितले भेटेका थिए। उनीहरूमा विखण्डनको सोच बढ्दै गएकोमा उनी चिन्तित भएका थिए। सोहीबेला विदेशी हस्तक्षेपविरुद्ध चित्रकथा बनाउन काल्पनिक गुप्तचर संस्थाको परिकल्पना गरेकोमा त्यसैको नतिजास्वरुप चलचित्र निर्माण भएको पण्डित बताउँछन्।

चलचित्र यही गुप्तचर संस्थाको एक इमान्दार एजेन्टको संघर्षमा आधारित छ। ‘स्पाइ जनर’को चलचित्रमा उक्त एजेन्टको भूमिका विशाल पोखरेलले निभाएका छन् भने उनको सहयोगी एजेन्टको भूमिकामा ज्योत्सना योगी छन्। स्वतन्त्र मधेशको नारा बोक्ने पात्रको भूमिका प्रमोद अग्रहरिले निभाएका छन्।

स्क्रिप्ट फ्याक्ट्रीको ब्यानरमा बनेको यो चलचित्रको निर्माण आत्मा गुरागाईं र सोफिया थापाले गरेका हुन्। चलचित्रमा छायांकन दीपक बज्राचार्य, सम्पादन भरत रेग्मी, संगीत गोविन्द मधुर आचार्य, पुष्कर महतो र हरि लम्सालको रहेको छ भने द्धन्द प्रमोद खड्काले गरेका हुन्।

निर्देशक पण्डितले यसअघि ‘ग्रेटर नेपाल’ डकुमेन्ट्री तथा ‘बधशाला’, ‘दासढुङ्गा’ र ‘खाग जस्ता सफल चलचित्रको निर्देशन गरिसकेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved