रन-वेबाट किन बारम्बार चिप्लिरहन्छ जहाज?

नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण प्राविधिक विषय भन्दै कारबाही गर्न चुकिरहन्छ। जाँचबुझ समितिको निष्कर्ष र सुझाव कार्यान्वयन नहुँदा पटक–पटक एकै प्रकृतिका घटना दोहोरिइरहेका छन्।

नेपालभ्युज

रन-वेबाट किन बारम्बार चिप्लिरहन्छ जहाज?

काठमाडौं। मंगलबार बिहान करिब साढे श्री एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलको पार्किङबाट निस्कँदा ट्याक्सी-वेमा चिप्लियो।

काठमाडौँबाट नेपालगन्जका लागि ८० जना यात्रुसहित उडानका क्रममा रहेको जहाज ट्याक्सी-वे मा चिप्लिए पनि सबै यात्रु सकुशल रहे। चिप्लिएको जहाजलाई तानेर ग्राउन्ड गरिएको छ। कम्पनी र नागरिक उड्डयन प्राधिकरणका प्राविधिकको निरीक्षणपछि जहाज पुनः सञ्चालनमा ल्याइने तयारी छ।

जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने समयमा वर्षा भएको पनि थिएन। न त जहाज अवतरण गर्न नसक्ने अवस्था नभएपछि पाइलटले जहाज ‘ओभरसुट’ नै गरेका थिए। तर पनि जहाज धावनमार्गबाट बाहिर गयो।

यो घटना यसअघि भइरहेका अरू जहाज धावनमार्गबाट बाहिर गएका घटनाजस्तै देखिएको छ। तर ‘रन-वेमा’ छाडेर जहाज बाहिर जानुलाई सामान्य घटना मानिँदैन। जानकारका अनुसार जहाजको अगाडिको टायर लक हुनुलाई असुरक्षित मानिँदैन। तर, रन वेबाट जहाज चिप्लिनुलाई खतराको रुपमा हेरिने हवाई विज्ञहरू बताउँछन्।

नागरिक उड्यान प्राधिकरणका उड्डयन सुरक्षा विभागले समेत यस विषयमा अध्ययन गर्ने प्रस्ट पारेको छ। फ्लाइट अपरेशन निरीक्षक दधिराम निरौला भन्छन्, ‘‘नेपालमा भएका अरू विमानस्थलको तुलनामा काठमाडौं विमानस्थल धेरै ठूलो छ। रन-वे ठूलो भएकै अवस्थामा कसरी जहाज घाँसे मैदानमा गयो भन्ने विषयमा गम्भीर अध्ययनको विषय हो। यदि यो जहाज अरू विमानस्थलमा रनवेबाट बाहिर गएको भए के हुन्थ्यो। धन्न काठमाडौंमा घाँसे मैदान ठूलो छ र केही भएन।’’

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजेन्द्र श्रत्री भन्छन्, ‘‘प्रारम्भिक अध्ययनमा जहाजमा प्राविधिक त्रुटि देखिएको छैन। जहाज कसरी धावनमार्ग छाडेर बाहिर गयो भन्ने विषयमा के कारणले दुर्घटना भएको हो पुष्टि हुन बाँकी नै छ।’’ यस विषयमा प्राधिकरणले छानबिन गरेर सत्थतथ्य विवरण बाहिर ल्याउने उनले बताए।

समितिको सुझाव कार्यान्वयन नहुँदा पटकपटक दोहोरिँदै

घटनाको विषयमा श्री एयरलाइन्सले भने प्राविधिक  विषय भएका कारण अहिल्यै बोल्न नमिल्ने बताएको छ। तर, नेपालमा पछिल्ला समय जहाज अवतरण गर्ने बेलामा बारम्बार यस्तो समस्या दोहोरिइरहेको छ। तर, नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण भने प्राविधिक कुरा भन्दै कारबाही गर्न भने चुकिरहेका छ।

धावनमार्ग छाडेर बाहिर गएको विमानहरूमा धेरै जसो तारा र यती एयरलाइन्सका छन्। यसबाहेक नेपाल एयरलाइन्ससमेत कैयौँ पटक धावनमार्ग बाहिर गरेको छ। यसबाहेक दुई अन्तर्राष्ट्रिय जहाजसमेत धावनमार्ग बाहिर जाँदा उडान अवतरण नै प्रभावित बनेको थियो।

विमान अवतरणको क्रममा अहिलेसम्मको घटनामा ‘भाग्य’ले मानवीय क्षति भने भएको छैन। तर घटना भने दोहोरिने क्रम बढिरहेको छ। घटनापछि जाँचबुझका लागि अध्ययन समिति पनि बन्ने गरेका छन्। तर समितिको निष्कर्ष तथा सुझाव कार्यान्वयन नहुँदा पटकपटक यस्ता घटना दोहोरिइरहेको जानकारहरू बताउने गर्छन्।

धावनमार्गबाट विमान बाहिर गएका घटनाहरू

२७ असार २०७६ मा नेपालगन्जबाट ६६ जना यात्रु बोकेर काठमाडौं आएको यती एयरलाइन्सको एटीआर-७२ को जहाज आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लियो। २ जना यात्रु घाइते भए। कोटेश्वरतर्फको ०२ बाट अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर विमान घाँसे चौरको १५ मिटर पर पुगेको थियो।

१५ चैत २०७६ मा कोरोना आशंका गरिएका बिरामीहरूको स्वाब लिन नेपालगन्ज गएको नेपाल एयरलाइन्स विमान त्यहाँको धावनमार्गमा चिप्लियो। घाँसे मैदान पुग्यो। घटनामा मानवीय क्षति भने भएन।

९ बैंशाख २०७६ मा रामेछापको मन्थली विमानस्थलमा तारा एयरको जहाज अवतरणका क्रममा चिप्लियो। काठमाडौँबाट लुक्लाका लागि उडेको तारा एयरको नाइन एनएकेके डोर्नियर विमान मौसम खराब भएपछि रामेछापमा अवतरण गर्ने क्रममा धावनमार्गमा चिप्लिएर चउरमा घस्सिएको थियो। विमानमा सवार १४ विदेशीसहित तीन चालक दलका सदस्य सबै सकुशल रहे।

१६ भदौ २०७५ भदौमा नेपालगन्जबाट २१ जना यात्रु बोकेर काठमाडौं आएको यती एयरलाइन्सको ‘जेट स्ट्रीम’, ‘नाइन एनएएचडब्लु’ विमान  अवतरणका क्रममा धावनमार्गबाट चिप्लियो। मानवीय क्षति भने भएन। २१ जना यात्रु सकुशल रहे। 

२६ जेठ २०७५ मा नेपालगञ्जबाट जुम्ला उडेको तारा एयरको विमान अवतरणको क्रममा रन वेबाट चिप्लियो। जुम्लास्थित विमानस्थलमा अवतरणका क्रममा तारा एयरको ट्वीनअटर जहाज धावनमार्गबाट चिप्लिएको थियो। अवतरण गर्ने क्रममा अगाडिको टायर पन्चर भएकाले चिप्लिएको थाहा भयो। चालक दलका ३ जना सदस्यसहित विमानमा रहेका १८ जना यात्रु सकुशल रहे पनि जहाजको नोज (अगाडिको भाग)मा भने क्षति पुगेको छ।

३ असार २०७५ मा काठमाडौँबाट पोखरा गएको यती एयरलाइन्सको विमान अवतरणपछि पार्किङमा लैजाने क्रममा धावनमार्ग चिप्लियो। एएचयु ६८१ कल साइनको विमान धावनमार्गबाट बाहिर गए पनि यात्रु र चालक दलका सबै सकुशल रहे। विमानमा ३० यात्रु र चालक दलका तीन सदस्य सवार थिए। अवतरणका क्रममा हाइड्रोलिकले काम नगरेपछि धावनमार्ग बाहिर पुगेर रोकिएको थियो।

३ भदौ २०७२ मा भैरहवाको गौतमबुद्ध विमानस्थलमा यती एयरलाइन्सको जहाजको टायर पन्चर भएर रनवेबाट बाहिरियो। त्यसमा सवार सबै यात्रु र चालक दलका सदस्य सकुशल रहे।

७ वैशाख २०७५ मा उड्ने क्रममा मलिण्डो एयरको एउटा हवाईजहाज धावनमार्गमा चिप्लिएर थचारियो। रनवे (धावनमार्ग)बाट चिप्लिएर ४० मिटर पर पुगेपछि विमानस्थलको अन्तर्राष्ट्रिय उडान अवरुद्ध बनेको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भोलिपल्टसम्म अवरुद्ध भयो।

२० फागुन २०७१ मा धावनमार्गमा विमान चिप्लिएपछि धेरै दिन विमान उडान तथा अवतरण बन्द भयो। टर्कीस एयरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा धावनमार्गमा चिप्लिएर दुर्घटना भयो। टर्कीको इस्थानबुलबाट काठमाडौंका लागि उडेको विमान खराब मौसमका कारण पटक-पटकको अवतरण प्रयास असफल भएपछि चालकले विमानलाई बलपूर्वक अवतरण गराएका थिए। धामनमार्गबाट केही तल विमान पुगे पनि सबै यात्रु सकुशल थिए। तर धावनमार्गबाट विमान हटाउन चार दिन लाग्यो। विमान नहटेसम्म विमानस्थल बन्द रह्यो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved