साफ च्याम्पियनसिप फुटबल

नेपालले २२ वर्षपछि निकालेको दुई जित

साफमा लगातार दोस्रो जितसँगै नेपालले २ खेलबाट शतप्रतिशत जितसहित ६ अंक जोडेको छ। ४ अंकसहित बंगलादेश दोस्रो स्थानमा छ।

नेपालभ्युज

नेपालले २२ वर्षपछि निकालेको दुई जित

काठमाडौं। माल्दिभ्समा जारी १३ औँ संस्करणको साफ च्याम्पियनसिपमा नेपालले दुई खेल खेलिसकेको छ। उपाधि लक्ष्यसहित माले पुगेको नेपाली टिमले दुवै खेलमा प्रतिस्पर्धी टोलीमाथि २२ वर्षपछि जित निकालेको छ।

च्याम्पियनसिप अन्तर्गत सोमबार राति सम्पन्न खेलमा नेपालले श्रीलंकालाई ३-२ गोल अन्तरले पराजित गरेको छ। साफमा नेपालले २२ वर्षपछि श्रीलंकालाई हराएको हो। यसअघि, नेपालले प्रतियोगिताको पहिलो खेलमा घरेलु टोलीलाई पनि २२ वर्षपछि हराएको थियो।

माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा नेपालले श्रीलंकासँग गएराति प्रतिस्पर्धा गरेको थियो। उक्त खेलमा ३० औँ मिनेटमा सुमन लामाले गरेको गोलसँगै नेपालले खाता खोल्यो।

पहिलो हाफमा नेपालमाथि हाबी देखिएपनि श्रीलंकाले गोल भने गर्न सकेन। दोस्रो हाफको ६ मिनेटमै नेपालको तर्फबाट अञ्जन बिष्टले दोस्रो गोल गरेकोमा खेलको ५७ औँ मिनेटमा श्रीलंकाले गोल फर्काएको थियो। श्रीलंकन खेलाडी मार्भिन ह्यामिल्टनले उक्त गोल गरेका थिए।

खेलको ८६ औँ मिनेटमा आयुष घलानले गरेको गोल नै नेपालको जितका लागि निर्णायक हुन पुग्यो। इन्जुरी समयमा पेनाल्टी पाएको श्रीलंकाले एक गोल थपेर गोल अन्तर घटाएको थियो।

खेल शुरू हुनुअघि नेपाली टिमका प्रमुख प्रशिक्षक अब्दुल्ला अलमुताइरीले च्याम्पियनसिपको सबैभन्दा कठिन टिम श्रीलंका भएकाले यो खेल नेपालका लागि फाइनल म्याचसरह भएको टिप्पणी गरेका थिए।

यसअघि, माल्दिभ्समाथि जित निकाल्दै नेपालले साफ च्याम्पियनसिपमा शानदार शुरुवात गरेको थियो। गत शुक्रबार राति माल्दिभ्समाथि १-० गोल अन्तरको जित निकाल्दै नेपालले विजयी शुरुवात गरेको हो।

माल्दिभ्समा जारी १३ औँ संस्करणको साफ च्याम्पियनसिप फुटबलमा नेपालले आफ्नो पहिलो तथा प्रतियोगिताको दोस्रो खेलमा घरेलु टिमलाई पन्छाउँदै विजयी शुरुआत गरेको हो।

१२ औँ संस्करणको विजेता घरेलु टिम माल्दिभ्सलाई पराजित गर्न नेपालको तर्फबाट एकमात्र गोल मनिष डाँगीले गरेका थिए। मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा नेपालले जितसहित प्रतियोगिताको शुरुवात गरेको थियो।

डाँगीले खेलको ८६ औँ मिनेटमा दर्शनीय गोल गर्दै टोलीलाई जित दिलाएका थिए। उक्त खेलमार्फत नेपालले ३ अंक जोडेको थियो। २०१८ को साफमा नेपाल माल्दिभ्ससँग ३-० ले पराजित भएर प्रतियोगिताबाट बाहिरिएको नेपालले त्यस हारको बदलासमेत लिएको थियो।

नेपालले पछिल्लो पटक माल्दिभ्सलाई सन् १९९९ को साग खेलकुदमा २-१ गोल अन्तरले हराएको थियो। शुक्रबारको खेलमा नेपालले २२ वर्षपछि साफमा पहिलोपटक माल्दिभ्सलाई हराएको हो।

साफमा लगातार दोस्रो जितसँगै नेपालले २ खेलबाट शतप्रतिशत जितसहित ६ अंक जोडेको छ। ४ अंकसहित बंगलादेश दोस्रो स्थानमा छ।

लगातार दोस्रो जितसँगै नेपालको उपाधि जित्ने सम्भावना बढेको छ । नेपालले अब तेस्रो खेलमा भारतसँग १० अक्टोबर (२४ असोज) र लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग १३ अक्टोबर (२७ असोज) मा खेल्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved