बढ्यो एमालेको सक्रियता, पार्टी विभाजनको क्षति भर्ताल गर्दै

हालै पहिलो विधान महाधिवेशन गरेको एमालेले जनप्रतिनिधि भेलादेखि देश दौडाहासम्मको योजना बनाएको छ।

नेपालभ्युज

बढ्यो एमालेको सक्रियता, पार्टी विभाजनको क्षति भर्ताल गर्दै
फाइल तस्वीर

काठमाडौँ। नेकपा (एमाले)ले पार्टी विभाजनपछि सक्रियता बढाएको छ। वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले अलग पार्टी गठनगरेपछि एमालेले पार्टी विभाजनको भर्ताल गर्न भन्दै गतिविधि तीव्र पारेको हो। हालै पहिलो विधान महाधिवेशन गरेको एमालेले जनप्रतिनिधि भेलादेखि देश दौडाहासम्मको योजना बनाएको छ।

विभाजनले पार्टीलाई धक्का लागेको निष्कर्षमा पुगेको एमालेले संगठन निर्माणलाई र जनतासँगको दुरीलाई नजिक बनाउने अभियानमा छ। बाँकी अभियानहरू छिट्टै घोषणा गर्ने एमालेको तयारी छ। गत शुक्रबारदेखि ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशन आइतबार सकिएको छ।

एमालेले सोमबार स्थानीय तहका प्रमुख उपप्रमुखको भेला सम्पन्न गरेको छ। स्थानीय तहका प्रमुख उपप्रमुखको भेलाले आगामी स्थानीय तहको निर्वाचनका बारेमा पार्टीले कस्तो रणनीति बनाउने भन्ने विषयमा छलफल गरेको छ। भेलामा विधान महाधिवेशनमा आएका एमालेका जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, महानगर, उपमहानगर र नगरपालिकाका प्रमुख, उपप्रमुख र गाउँपालिकाका प्रमुख उपप्रमुख भेलामा सहभागी थिए। एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले भने ‘‘पार्टी विभाजनपछि स्थानीय तहमा पार्टीको अवस्थाका र अब लिनुपर्ने रणनीतिका बारेमा सहभागीहरूबाट रिपोर्टिङ लिइयो, अब कसरी अघि बढ्ने भन्ने रणनीति समेत बनाइएको छ।’’

संगठन विस्तार र पार्टी कमिटीहरूलाई चलायमान बनाउने एमालेको योजना रहेको उनले सुनाए। सोही योजनाअनुसार अध्यक्षलगायत केन्द्रीय कमिटीका सबैजसो नेताहरु संगठन विस्तारमा जुटेका र सबै तहलाई जुटन निर्देशन दिएको तामाङ बताउँछन्। स्थानीय तहको चुनाव नजिकिँदै गर्दा एमालेले प्रदेश र जिल्ला तहमा स्थानीय जनप्रतिनिधि तथा कार्यकर्ता भेला तयारी गर्ने योजना बनाएको छ ।

एमाले अझ एकताबद्ध हुने र भएको देखाउन र संगठन थप बलियो बनाउन पार्टी गतिविधि तीव्र बनाइएको एमाले नेतृ पद्मा अर्याल बताउँछिन्। उनी भन्छिन् ‘‘हामी अब जनताको बिचमा गइसकेका छौँ। पार्टीका कार्यकर्ता, शुभचिन्तकको मुख्य अपेक्षा पनि यही हो। अब चुनावपछि एकल बहुमतको सरकार बनाउन सक्षम हुने गरी तयारी थालिसकेका छौँ।’’

नियमित कार्य तालिकाअनुसार १४ महिनापछि प्रतिनिधिसभा चुनाव हुनुपर्ने छ। एमालेको महाधिवेशन भने मंसिरमा तोकिएको छ। एमालेले यसअघि २०७४ सालमा भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा माओवादी केन्द्रसँग चुनावी एकता गरेको थियो। पार्टी एकता गर्ने भन्दै चुनावी गठबन्धन गरेका कारण एमाले पहिलो ठुलो बन्यो। साँढे दुई वर्षमा फेरि अलग भयो।  जसको परिणाम स्वरूप एमाले केन्द्रदेखि प्रदेश सरकारबाट धमाधम बाहिरिनुपरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved