तंग्रिदै पर्यटन व्यवसाय : एक महीनामा नेपाल भित्रिए १० हजार पर्यटक

यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा करीब १७ गुणाले बढी हो।

नेपालभ्युज

तंग्रिदै पर्यटन व्यवसाय : एक महीनामा नेपाल भित्रिए १० हजार पर्यटक

काठमाडौँ। कोभिड १९ महामारीका कारण थलिएको पर्यटन क्षेत्र विस्तारै लयमा फर्किन थालेको छ। २०२० देखि प्रभावित मुलुकको पर्यटन क्षेत्र दोस्रो लहरपछिको बन्दाबन्दीपछि क्रमिक सुधारोन्मुख देखिएको छ।

नेपाल पर्यटन बोर्डकाअनुसार २०२१ को सेप्टेम्बर महीनामा नेपालमा करीब १० हजार पर्यटक भित्रिएका छन्। बोर्डका अनुसार यस महीना हवाई उडानबाट ८ हजार ८७४ जना पर्यटक नेपाल भित्रिएका छन्। यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा करीब १७ गुणाले बढी हो। अघिल्लो वर्ष सेप्टेम्बरमा ५ सय ८४ जना मात्रै पर्यटक नेपाल आएको बोर्डका सुचना अधिकारी मनिराज लामिछानेले बताए।

नेपालले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित ‘नेपाल भ्रमण वर्ष २०२०’ सञ्चालन गरेको थियो। तर २०१९ डिसेम्बरदेखि चीनको वुहानबाट शुरु भएको कोभिड महामारीले चीन, नेपालसहित विश्व नै आक्रान्त भएपछि भ्रमण वर्ष २०२० शुरुआती चरणमै स्थगित हुन पुग्यो । प्रतिकूल अवस्थाका कारण उक्त वर्ष नेपालले ठूलो हानी व्यहोर्नुपर्‍यो भने पर्यटन वर्षकै लागि व्यवसाय शुरु गरेका व्यवसायीसहित पर्यटन व्यवसायीले ठूलो नोक्सानी भोग्नपर्‍यो। २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको सो वर्ष नेपालमा पर्यटकको आगमन २ लाख ३० हजारमा सीमित हुनपुग्यो। जबकी, २०१९ मा नेपालमा ११ लाख ९७ हजार १९१ पर्यटकको नेपाल भित्रिएका थिए।

२०२० मा नराम्रोसँग थलिएको पर्यटन क्षेत्र २०२१ को शुरुदेखि केही चलायमान बन्दै थियो। जनवरीमा नेपालमा ८ हजार ८७४ पर्यटक नेपाल आएकोमा फेब्रुअरी र मार्चमा उक्त संख्या बढेको थियो। अप्रिलमा २२ हजार ४५० पर्यटक नेपाल भित्रिएकोमा त्यसपछि भने जुनसम्म निरन्तर पर्यटकको आगमन घट्दै गएको थियो।

कोभिडका कारण सबैभन्दा बढी विदेशी मुद्रा भित्र्याउने पर्यटन क्षेत्र दोस्रो लहरपछि अगस्टयता बढ्न थालेको देखिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved