प्यान्डोरा पेपर्स

विश्वका ३५ नेताले अवैध सम्पत्ति लुकाएको खुलासा

वर्तमानदेखि बहालवाला सरकार प्रमुखसमेत सामेल

प्रतिवेदनका अनुसार अवैध धनलाई वैध बनाउने प्रक्रियामा विश्वभरका कैयौं नेतादेखि व्यापारीसमेत सामेल भएका छन्। 

नेपाल भ्यूज

विश्वका ३५ नेताले अवैध सम्पत्ति लुकाएको खुलासा

एजेन्सी। आइतबार सार्वजनिक ‘प्यान्डोरा पेपर्स’ प्रतिवेदनले गरेको खुलासामा विश्वभरका ३५ नेता, तीन सय सर्वसाधरण र सयौँ धनाढ्यले अवैध धनलाई विदेशमा वैध बनाउन लागिपरेका पाइएको छ।

प्रतिवेदनका अनुसार अवैध धनलाई वैध बनाउने प्रक्रियामा विश्वभरका कैयौं नेतादेखि व्यापारीसमेत सामेल भएका छन्।

विश्वभरका धनाढ्य र शक्तिशाली व्यक्तिहरूले गोप्य राख्ने प्रयास गरेको यस्तो सम्झौता यति ठूलो मात्रामा इतिहासमै पहिलो पटक सार्वजनिक भएको हो।

सार्वजनिक उक्त प्यान्डोरा पेपर्समा करीब एक करोड १९ लाख फाइल समावेश गरिएका छन्। विश्वभरका धनाढ्य कम्पनीहरूले पानामा, दुबई, मोनाको, स्वीजरल्याण्डलगायत ‘ट्याक्स हेभेन’ देशमा लगानी गरेको कालो धनको विवरणलाई उक्त पेपरमा समावेश गरिएको छ।

यसरी सार्वजनिक भएको पेपरमा विश्वका ३५ नेताको नाम समावेश गरिएको छ। यी नेताले देशमा कमाएको कालो धनलाई विदेशमा लगानी गर्दै आएको सार्वजनिक प्रतिवेदनमा बताइएको हो।

यसमा वर्तमान राष्ट्रपतिदेखि पूर्वराष्ट्रपतिसम्म, प्रधानमन्त्रीदेखि सरकार प्रमुखहरूको नाम उल्लेख गरिएको छ। यस्तै तीन सय सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको गोप्य वित्तीय विवरण पनि प्रतिवेदनमा समावेश गरिएको छ। यसमा ९० भन्दा बढी देशका मन्त्रीहरू, न्यायाधीश, मेयरदेखि लिएर सेनाका उच्च अधिकारीहरूको नामसमेत अवैध धनलाई वैध बनाउन विदेशमा लगानी गर्नेको सूचीमा समावेश गरिएको छ।

बेलायतका कन्जरभेटिभ पार्टीको वार्षिक सम्मेलनअघि सार्वजनिक उक्त प्रतिवेदनले पार्टीका नेताका बोरिस जोनसनलाई अप्ठेरोमा पार्न सक्ने आशंका गरिएको छ। प्रतिवेदनमा पार्टीका मुख्य दाताहरूको नाम समावेश हुँदा त्यसले बेलायतका प्रधानमन्त्रीसमेत रहेका जानेसनलाई अप्ठेरोमा पर्ने अनुमान गरिएको हो।

विश्वभरको वित्तीय बजार पर्दा पछाडि कसरी काम गरिरहेको छ, प्यान्डोमा पेपरमा उजागर भएको छ। अवैध धनलाई ‘ट्याक्स हेभेन’ देशहरूमा लगानी गर्दै कम कर अथवा कर नै नतिर्ने खेलमा व्यापारीदेखि राजनीतिज्ञसम्म कसरी सामेल छन् भन्ने कुराको पर्दाफास पेपरले गरेको छ।

करीब १८ महीना विश्वभरका खोज अनुसन्धान गर्ने पत्रकारहरूको अनुसन्धानपछि प्यान्डोर पेपर तयार पारिएको हो। अनुसन्धानपछि हासिल सूचना विश्वभर एकैपटक आइतबार राति सार्वजनिक गरिएको छ।

सार्वजनिक प्रतिवेदनमा जोडनका राजा अब्दुल्ला दोस्रोको नाम समावेश छ। उनको करीब एक सय मिलियन डलर बराबरको सम्पत्ति मालिबु, वाशिङ्टन र लण्डन नमा रहेको गोप्य प्रतिवेदनमा जनाइएको छ।

यस विषयमा प्रतिक्रिया लिन खोज्दा उनले केही निश्चित प्रश्नहरूको उत्तर दिन नमाने पनि अफसोअर कम्पनीमा लगानी गर्नु गलत नभएको बताएका छन्। यद्यपि, जोर्डनमा आइतबारदेखि अन्तर्राष्ट्रिय खोज अनुसन्धान गर्ने पत्रकारहरूको आधिकारी वेवसाइट भने बन्द गरिएको छ। प्यान्डोरा पेपर सार्वजनिक भएको केही समयमा नै उक्त वेबसाइट बन्द गरिएको हो।

यस्तै सार्वजनिक गोप्य प्रतिवेदनले युरोपियन यूनियनका दुई नेतालाई अप्ठेरोमा पार्ने देखिन्छ। यस्तै यसै हप्ता निर्वाचनमा सहभागी हुँदै गरेका चेक गणतन्त्रका प्रधानमन्त्री एन्दे्रस बार्बिको नाम पनि सार्वजनिक गोप्य प्रतिवेदनमा उल्लेख छ।

नाम उल्लेख भएसँगै निर्वाचनको मुखमा रहेका उनले २२ मिलियन अमेरिकी डलर प्राप्त गर्न किन अफसोर कम्पनीको सहायता लिए भन्ने प्रश्न तेर्सिएको छ। यद्यपि, उनले यस विषयमा प्रतिक्रिया दिन भने इन्कार गरेका छन्।

साइप्रसका राष्ट्रपतिले समेत अवैध धनका विषयमा प्रश्नको सामना गर्नुपर्ने देखिन्छ। राष्ट्रपति निकोस आनास्तासियाड्सलाई उनको नाममा दर्ता भएको कानून परामर्श दिने कार्यालयले रसियाका विवादास्पद धनाढ्य व्यक्तिको सम्पत्ति किन लुकाइदियो भन्ने प्रश्न सामना गर्नुपर्ने छ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved