तराईका सीमावर्ती क्षेत्रमा दोहोरिँदैछ भारी वर्षा

विगत २४ घण्टामा झापाको केचनामा एक सय ८५ मिलिमिटर वर्षा भएको छ।

नेपालभ्युज

तराईका सीमावर्ती क्षेत्रमा दोहोरिँदैछ भारी वर्षा
तस्वीर : सामाजिक सञ्जाल। वर्षाले क्षति पुर्‍याएको धानबाली। (दायाँ: झापा , बायाँ: नेपालगञ्ज)

काठमाडौं। मनसुन बाहिरिनुपर्ने अवधि नजिकिँदै जाँदा मुलुकका अधिकांश भेगमा भारी र मध्यम वर्षा भएको छ। यस्तो गतिविधि आइतबार साँझ (आज), भोलि र पर्सि पनि दोहोरिँदैछ।

गत हप्ता बंगालको खाडीमा विकास भएको गुलाव चक्रवात (सामुद्रिक आँधी) प्रोस्ट इफेक्ट (उतरार्धको प्रभाव)ले भारतसँग सीमा जोडिएका तराईका भेगमा आइतबार साँझ मध्यमदेखि भारी वर्षा दोहोरिदैछ।

“बर्दिवासदेखि पूर्वतर्फका तराईका ‘बोर्डरलाइन एरिया’मा केही बढी वर्षा हुँदैछ,” जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् निराजन सापकोटाले नेपालभ्यूजसँग भने। उनका अनुसार सोमबारदेखि सीमावर्ती क्षेत्रको मौसमी अवस्थामा सुधार हुनेछ।

तर, अधिकांश भेगमा मेघ गर्जनसहितको मध्यम र हल्का वर्षा दोहोरिने सापकोटाले जानकारी दिए। विगत २४ घण्टाको अवधिमा झापाको केचनामा एक सय ८५ दशमलव ६ मिलिमिटर वर्षा भएको छ।

स्वचालित एक सय ५९ र परम्परागत (मानव सञ्चालित) ६७ वटा वर्षा मापन केन्द्रको नतिजा अनुसार केचनामा भारी वर्षा भएको जल तथा मौसम विभागले जनाएको छ। बंगालको खाडी न्यून चापीय क्षेत्रको प्रभावको असर केचनासहित पूर्व, मध्य र पश्चिम तराईको धानबालीमा क्षति पुर्‍याएको छ।

शनिबार (२४ घण्टाको अवधिमा) सप्तरीमा ६० मिलिमिटर वर्षा भएको विभागको तथ्यांक छ। अंग्रेजी महीनाको जुन १३ देखि अक्टोबर २ तारिखसम्म नेपालको मनसुनी क्यालेण्डर हो।

तर, यसपटक गुलाव आँधी र बंगालको खाडीमा विकास भएको मौसमी प्रभावले मनसुन अवधि लम्बिने विभागका अधिकारी बताउँछन्। मनसुन आगमन र बर्हिगमनका आधारमा नेपालमा सक्रिय वर्षाको अवधि औषतमा एक सय १२ दिन हुने विभागको विश्लेषण छ।

अहिलेको मौसमी गतिविधि नियाल्दा मनसुन तत्काल बाहिरिने सम्भावाना नहरेको महाशाखाका अधिकारी बताउँछन्। “हामीले मौसमी अवस्थालाई सुक्ष्म ढंगले विश्लेषण गरिरहेका छौ, एक/दुई दिन मनसुन विदा हुने छाँटकाँट छैन”, महाशाखाका एक अधिकारीले भने।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved