काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दलविरुद्ध चौतर्फी हमला भएको बताएका छन्। ललितपुरको गोदावरीमा जारी विधान महाधिवेशनको अन्तिम दिन प्रतिनिधिहरूको प्रश्नहरूको जवाफ दिँदै ओलीले एमाले चौतर्फी घेराबन्दीमा परेको बताएका हुन्।
एमालेलाई एकपटक सरकारबाट ढाल्न दुनियाँ लाग्नुपरेको ओलीले टिप्पणी थियो। आफूहरूमाथि चलाइएका क्षेप्यास्त्र निस्तेज पार्ने ओलीले बताए। उनले भने ‘‘हामीमाथि अनेक क्षेप्यास्त्र प्रहार भए, हामी ड्रोन छाडेर तिनलाई निस्तेज पार्दैछौै।’’
सरकारमा रहेका दलहरूलगायतले एमालेविरुद्ध घेरा हालेको ओलीको भनाई थियो। एमालेविरुद्ध लाञ्छना लगाउने बहाना केही नपाएपछि विरोधीहरूले जारी विधान महाधिवेशनमा तामझाम देखिएको भन्दै आरोप लगाउन थालेको ओलीको टिप्पणी थियो। आफूहरूप्रतिको यस्तो यस्तो आरोपप्रति ओलीले आपत्ति पनि जनाए। ओलीले भने ‘‘जनताको विश्वास हामी माथि छ। हामी नै देशको ठुलो पार्टी हौँ। हावाको यस्ता ससाना झोक्काहरूले हामीलाई असर गर्दैन।’’
एमालेबाट विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी) का नेताहरु, माओवादी केन्द्रका नेताहरु तथा जनता समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराईलगायतले एमाले विधान महाधिवेशनको आलोचना गरेका थिए। सङ्गठनमाथि पनि हमला भएको भन्दै ओलीले भने ‘‘एमालेको महाधिवेशनमा व्यानर देखियो रे, तामझाम देखियो रे भनेर छाती पिट्छन् विरोधीहरू। हामी व्यक्ति पूजक र मुर्तिपुजक होइनौँ। हामीले कमिटी प्रणाली, सामूहिक नेतृत्वमा विश्वास गर्छौँ। कसैले चक्र चलाएर नेपाल जितिने होइन।’’
सुशासन, विकास, समृद्धि आजको तत्कालीन विषय भन्दै ओलीले अर्को चुनावमा फेरि जितेर सरकार चलाउने दाबी गरे। उनले भने ‘‘हामी फेरि पनि जित्छौँ। अबका दिनमा जित्दै जानेछौँ। हाम्रो पार्टीको दृष्टिकोण र कर्तव्य यो पनि हो। हामीले जित्नुपर्छ, विरोधीहरूलाई निस्तेज पार्छौ।’’
Facebook Comment
Comment