काठमाडौँ। साहित्यकार तथा रेडियोकर्मी डा. नवराज लम्सालको तेस्रो महाकाव्य तथा आठौँ कृति ‘अग्नि’ सार्वजनिक भएको छ। राजधानीमा आयोजित एक कार्यक्रममा राजनीतिक विश्लेषक एवम् लेखक आहुति, साहित्यकारद्वय डा. रामप्रसाद ज्ञवाली र डा. गीता त्रिपाठीसँगै डा. लम्सालकी ६ वर्षीया नातिनी आयराले संयुक्त रुपमा उक्त पुस्तकको लोकार्पण गरेका हुन्।
कृति लोकार्पण समारोहमा लेखक तथा राजनितिक विश्लेषक आहुतिले नेपाली समाजमा रहेको विकृति, विसंगति र जात व्यवस्था परिवर्तनका लागि ‘अग्नि’ महाकाव्य एउटा बहस गर्ने मोड हुने बताए। उनले भने, “दलित समुदाय नेपाली इतिहासको प्रथम प्राविधिक वा वैज्ञानिक रहेपनि जात व्यवस्थाले त्यसको सही मूल्यांकन भएको छैन। त्यसका लागि जात प्रथाको नै उन्मूलन हुनुपर्छ।”
अर्का वक्ता साहित्यकार ज्ञवालीले ५० को दशकयता नेपाली साहित्यमा लेखिएका दर्जनौँ महाकाव्यका बीचमा ‘अग्नि’को विषयवस्तु परिवर्तन उन्मुख समाजको पात्र र चरित्र भएकोले सबैले पढ्नुपर्ने र समाज परिवर्तनका लागि एउटा मानक कृति हुने विश्वास व्यक्त गरे।
त्यसैगरी साहित्यकार डा. त्रिपाठीले अग्नि महाकाव्यमार्फत नेपाली समाजको चरित्र, उत्पीडन र विभेदको कथा मौलिक ढंगले प्रस्तुत गरेकाले महाकाव्य जगतमा यसको स्थान विशिष्ट हुने भन्दै लेखकको शैली-शिल्पको प्रशंसा गरिन्।
लम्सालका यस अघि २ ओटा महाकाव्य, ३ ओटा कविता सङ्ग्रह र २ ओटा गीत संग्रह प्रकाशित छन्। ‘अग्नि’ महाकाव्यलाई बुकहिलले बजारमा ल्याएको हो।