लय गुमाउँदै बार्सिलोना, एट्लेटिकोसँग पराजित

नेपालभ्युज

लय गुमाउँदै बार्सिलोना, एट्लेटिकोसँग पराजित

काठमाडौं । जारी च्याम्पियन्स लिगका दुवै खेलमा लज्जास्पद पराजय बेहोरेको बार्सिलोना घरेलु लिगमा पनि कमजोर बन्दै गइरहेको छ। गएराति डिफेन्डिङ च्याम्पियन्स एट्लेटिको मड्रिडसँग बार्सिलोना २-० ले पराजित भयो।

दुवै गोल पहिलो हाफमा खाएको बार्सिलोनाले खेल अवधिभर बल नियन्त्रण गरे पनि एक गोल पनि फर्काउन सकेन।

टिमका कप्तान लियोनल मेस्सीले छाडेर गएपछि बार्सिलोनाको प्रदर्शन निकै खराब भइरहेको छ। यसअघि च्याम्पियन्स लिगमा पनि पोर्चुगिज क्लब बेन्फिकासँग बार्सिलोनाले ३-० को हार बेहोरेको थियो।

गएराति घरेलु मैदानमा एट्लेटिकोलाई जिताउन थोमस लेमरले २३ मिनेटमै गोल गरे भने दोस्रो गोल लुइस स्वारेजले ४४ मिनेटमा गरे। त्यसयता पूरै खेलअवधिभर बल नियन्त्रण लिए पनि बार्सिलोनाले जम्मा २ सट अन टार्गेट मात्र गर्न सक्यो।

यद्यपि लिगमा बार्सिलोनाको यो पहिलो हार हो। सात खेल खेलेको उसले ३ जित, ३ बराबरी र एक हारसँगै जम्मा १२ अंक जोडेको छ। एट्लेटिकोले भने ८ खेलबाट १७ अंक जोडेर लिगको दोस्रो स्थानमा छ। समान १७ अंक जोडेको रियल मड्रिड भने शीर्ष स्थानमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved