विद्युत प्राधिकरणले काट्यो इन्टरनेटको तार

कारबाही गर्न दूरसञ्चारको माग

नेपालभ्युज

विद्युत प्राधिकरणले काट्यो इन्टरनेटको तार

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले पोलको भाडा नतिरेको भन्दै इन्टरनेटको तार काट्न शुरु गरेको छ। आफ्नो पोल प्रयोग गरेबापतको भाडा असोज १५ गतेसम्म तिर्न अल्टिमेटम दिएको प्राधिकरणले आजदेखि पोलको भाडा नतिर्ने सेवाप्रदायकको इन्टरनेट सेवा नै प्रभावित हुनेगरी तार काट्न थालेको हो।

प्राधिकरणले २०७५ मा विद्युत् पोल भाडा करीब दुई सय प्रतिशतले बढाएको थियो। इन्टरनेट सेवाप्रदायकले त्यो समयदेखि नै भाडा अत्यधिक बृद्धि भएकाले पुनर्विचार गर्नुपर्ने मागसहित नयाँ दरअनुसार भाडा नतिर्ने बताउँदै आएका छन्।

पोल भाडा बढेपछि इन्टरनेटको शुल्क बृद्धि गर्ने धम्की सेवाप्रदायकले दिँदै आएका छन्।

तीन वर्षसम्म पनि सेवाप्रदायकले भाडा नतिरेपछि प्राधिकरणले आजदेखि तार काट्न शुरु गरेको हो। प्राधिकरणले आज काठमाडौँका केही स्थानसहित विराटनगर, चितवन, रुपन्देही, कैलालीका केही स्थानमा इन्टरनेटको तार काटेको छ।

विद्युत् प्राधिकरणले तार काट्न थालेपछि नेपाल दूरसञ्चार प्राधिकरणले त्यसमा आपत्ति जनाएको छ। संचार तथा सूचना प्रविधि मन्त्रालय, दूरसञ्चार प्राधिकरण, नेपाल विधुत प्राधिकरण र इन्टरनेट सेवा प्रदायक संघबीच विवाद समाधानका लागि छलफल भइरहेको अवस्थामा इन्टरनेटको तार काटिनु आपत्तिजनक भएको दूरसञ्चारले जनाएको छ।

दूरसञ्चारले राज्यको आवश्यक सेवा अवरुद्ध भएको भन्दै कारबाहीको माग गरेको छ। दूरसञ्चार ऐन, २०५३ अनुसार यस्तो सेवा अवरुद्ध गर्ने जोकोही दण्डनीय हुने भन्दै प्राधिकरणले निर्वाध इन्टरनेट उपयोगको व्यवस्था गर्न अनुरोध गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved