साफमा नेपालको शानदार शुरुवात, माल्दिभ्स पराजित

काउन्टर अट्याकमा घरेलु टोलीका तीन डिफेन्डरलाई बिट गर्दै परिवर्तित खेलाडीको रुपमा मैदान प्रवेश गरेका मनिषले मैदान छिरेको छैटौँ मिनेटमै निर्णायक गोल गरे।

नेपालभ्युज

साफमा नेपालको शानदार शुरुवात, माल्दिभ्स पराजित

काठमाडौं। माल्दिभ्समाथि जित निकाल्दै नेपालले साफ च्याम्पियनसिपमा शानदार शुरुवात गरेको छ। शुक्रबार राति माल्दिभ्समाथि १-० गोल अन्तरको जित निकाल्दै नेपालले विजयी शुरुवात गरेको हो।

माल्दिभ्समा जारी १३ औँ संस्करणको साफ च्याम्पियनसिप फुटबलमा नेपालले आफ्नो पहिलो तथा प्रतियोगिताको दोस्रो खेलमा घरेलु टिमलाई पन्छाउँदै विजयी शुरुआत गरेको हो।

१२ औँ संस्करणको विजेता घरेलु टिम माल्दिभ्सलाई पराजित गर्न नेपालको तर्फबाट एकमात्र गोल मनिष डाँगीले गरे। मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा नेपालले जितसहित प्रतियोगिताको शुरुवात गरेको हो।

डाँगीले खेलको ८६ औँ मिनेटमा दर्शनीय गोल गरे। काउन्टर अट्याकमा घरेलु टोलीका तीन डिफेन्डरलाई बिट गर्दै परिवर्तित खेलाडीको रुपमा मैदान प्रवेश गरेका मनिषले मैदान छिरेको छैटौँ मिनेटमै निर्णायक गोल गरे।

उनी फरवार्ड नवयुग श्रेष्ठको स्थानमा ८० औँ मिनेटमा मैदान छिरेका थिए। माल्दिभ्सविरुद्धको गोल मनिषले नेपाली राष्ट्रिय टोलीका लागि गरेको दोस्रो गोल हो।

घरेलु टोलीमाथिको जितसँगै नेपालले विजयी शुरुवात गर्दै ३ अंक जोडेको छ। गत संस्करणमा माल्दिभ्ससँग हारेर प्रतियोगिताबाट बाहिरिएको नेपालले त्यस हारको बदलासमेत लिएको छ। २०१८ को साफमा नेपाल माल्दिभ्ससँग ३-० ले पराजित भएको थियो।

नेपालले पछिल्लो पटक माल्दिभ्सलाई सन् १९९९ को साग खेलकुदमा २-१ गोल अन्तरले हराएको थियो। गएरातिको खेलमा नेपालले २२ वर्षपछि साफमा पहिलोपटक माल्दिभ्सलाई हराएको हो।

नेपालले आफ्नो दोस्रो खेलमा श्रीलंकासँग सोमबार प्रतिस्पर्धा गर्नेछ। तेस्रो खेलमा भारतसँग १० अक्टोबर १० (२४ असोज) र लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग १३ अक्टोबर १३ (२७ असोज) मा खेल्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved