काठमाडौँ । अमेरिकी सहयोग परियोजना एमसीसीकी उपाध्यक्ष फातेमा सुमारले हालै गरेको नेपाल भ्रमणबारे एमसीसी बोर्डलाई जानकारी दिएकी छन्। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लींकेन सहित बसेको बोर्ड बैठकमा सुमारले आफ्नो नेपाल भ्रमण र प्रगति विवरणबारे दिएकी एमसीसी मुख्यालयबाट प्रकाशित प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।
एमसीसी उपाध्यक्ष फातेमा र उनका सहायक जोनाथान ब्रुक्स सहितको प्रतिनिधि मण्डलले यही २४ देखि २७ भदौसम्म नेपालको चार दिने भ्रमण गरेका थिए। भ्रमणको अवसरमा नेपालको संसद्मा पेश भएको एमसीसी परियोजना पास नभएको प्रति उनले सरकार र राजनीतिक दलका नेतासँग चासो समेत राखेकी थिइन्।
नेपाल भ्रमणका क्रममा सुमारले प्रधानमन्त्री शेर बहादुर देउवा सहित नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्रका) अध्यक्ष पुष्पकमल दाहल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल, संघीय समाजवादी पार्टीका संघीय अध्यक्ष बाबुराम भट्टराई र लोकतान्त्रिक समाजवादी पार्टीका नेता महन्थ ठाकुर लगायतका नेतासँग भेटवार्ता गरेकी थिइन्।
यस्तै एमसीसी उपाध्यक्ष सुमारले संसद्मा रहेका नेपाल–अमेरिका सम्बन्ध हेर्ने कमिटीका सदस्यसँग पनि भेटवार्ता गर्दै एमसीसी पास नभएको प्रति चासो व्यक्त गरेकी थिइन्। उपाध्यक्ष सुमारको नेपाल भ्रमणअघि नेपाल सरकारको अर्थमन्त्रालयले एमसीसीका विषयमा नेपालमा उठेका विभिन्न ११ प्रश्न समेट्दै एमसीसी मुख्यालयसँग त्यसको जवाफ मागेको थियो। २३ भदौमा एमसीसीले नेपाल सरकारको प्रश्नको जवाफ पठाएको थियो।