काठमाडौँ। भारत र नेपालको बिचमा बिहीबार काठमाडौंमा भूकम्पपछिको पुनर्निर्माण परियोजना सम्बन्धी संयुक्त परियोजना अनुगमन समिति (जेपीएमसी) को बैठक भएको छ। बैठक भारत सरकार विदेश मन्त्रालयका सहसचिव अनुराग श्रीवास्तव र नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव श्री सुशीलचन्द्र तिवारीको सह–अध्यक्षतामा सम्पन्न भएको हो।
भारत सरकारको सहयोगमा नेपालमा संञ्चालित भूकम्पपछिको पुनर्निर्माण परियोजनाहरूको प्रगतिको समीक्षा गर्न उद्देश्यले सन् २०१७ को अगस्टमा जेपीएमसी संयन्त्रको स्थापना भएको थियो। बैठकमा नेपाल सरकारका सम्बन्धित मन्त्रालय, विभाग एवम् निकायका प्रतिनिधि, भारत सरकारका अधिकारी, परामर्शदाता तथा परियोजनाको कार्यान्वयनमा संलग्न सरोकारवालाहरूको उपस्थिति थियो। यसअघि जेपीएमसीको बैठक २०७६ फाल्गुण २५ गते भएको थियो।
बैठकले भारत सरकारको सहयोगमा नेपालका आवास, शिक्षा, स्वास्थ्य र सांस्कृतिक सम्पदाको क्षेत्रमा सञ्चालित भूकम्प पछिको पुनर्निर्माण परियोजनाहरूको प्रगतिको बृहत् समीक्षा गर्यो ।
आवासको क्षेत्रमा भारत सरकारको आर्थिक सहयोगमा गोरखा र नुवाकोट जिल्लामा ५० हजार निजी घरको पुनर्निर्माण भएकोमा दुवै पक्षले सन्तुष्टि व्यक्त गरेका छन्। त्यस्तै दुवै पक्षले शिक्षा, सांस्कृतिक सम्पदा र स्वास्थ्यको क्षेत्रमा अघि बढिरहेका पुनर्निर्माण परियोजनाहरूमा भएको प्रगतिको पनि समिक्षा गरेका छन्।
जेपीएमसीको अर्को बैठक दुवै पक्षको संवादमा गर्ने सहमति भएको बैठक पछि जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।