एमाले विधान महाधिवेशनको तयारी पूरा

७ हजार जना अटाउन यसरी व्यवस्थापन गरियो हल

नेपालभ्युज

एमाले विधान महाधिवेशनको तयारी पूरा

काठमाडौं। नेकपा एमालेको विधान महाधिवेशनमा सहभागी हुने ७ हजार प्रतिनिधि अट्ने हलको व्यवस्थापन पूरा भएको छ। शुक्रबार सवा १२ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रमको तयारी पूरा भएको एमालेले जनाएको छ।

आयोजक मूल व्यवस्थापन समितिका संयोजक रामबहादुर थापा बादलले बिहीबार पत्रकार सम्मेलन गर्दै तयारी पूरा भएको जानकारी दिए।

मूल सभा हलमा ३ हजार प्रतिनिधिहरू बस्ने र दायाँ–बायाँ खालि हलमा एक–एक हजार प्रतिनिधिहरू बस्ने प्रबन्ध गरिएको जनाइएको छ। यसरी नै हलको दायाँ बायाँका प्यासेजको माथिल्लो भागमा टेन्ट टाँगेर थप आवश्यक पर्ने एक–एक हजार क्षमताका हल निर्माण गरिएको जनाइएको छ। यस्तै समूह छलफलका लागि पनि व्यवस्थित स्थानहरू तय गरिएको एमालेले जनाएको छ।

अनेरास्ववियु, युवा संघ नेपाल, जि फन्ट र खेलकुद महासंघबाट २ सय सङ्ख्यामा स्वयंसेवकहरु व्यवस्था गरिएको पनि जनाइएको छ।

पत्रकार सम्मेलनमा जारी विज्ञप्ति

(१) नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ऐतिहासिक प्रथम विधान महाधिवेशन २०७८ साल असोज १५, १६ र १७ गते देशकै सुप्रसिद्ध पर्यटकीय स्थल गोदावरीमा सम्पन्न हुनगईरहेको छ। हाम्रो पार्टी नेकपा एमाले नेतृत्वको सरकारद्वारा निर्माण सम्पन्न गरिएको सम्मेलन केन्द्रमा महाधिवेशन सम्पन्न हुँदै छ भन्न पाउँदा हामीलाई गौरव महसुस भइरहेको छ।

(२) महाधिवेशनको व्यवस्थापनलाई चुस्त दुरुस्त गर्नको निम्ति पार्टी केन्द्रीय कामिटिको बैठकबाट स्थायी कमिटी सदस्य कमरेड रामबहादुर थापा बादल संयोजक, कमरेड शेरबहादुर तामाङ. सचिव र कमरेडहरू कृष्णगोपाल श्रेष्ठ, खिमलाल भट्टराई, महेश बस्नेत, विनोद श्रेष्ठ, सुजिता शाक्य, सुशीला नेपाल र पासाङ, शेर्पा सदस्य रहनुभएको मूल व्यवस्थापन समिति पार्टी केन्द्रीय कमिटीको बैठकबाट गठन र सोही जिम्मेवारी अनुरूप कार्य विभाजनसहित कार्य सम्पादन गरिरहेका।

(३) यस महाधिवेशनको उद्घाटन असोज १५ गते अपराह्न १२ ः १५ बजे कमरेड केपी शर्मा ओलीले भव्य समारोहकावीच पानसमा बत्ती बालेर गर्नुहुनेछ। उद्घाटनका क्रममा महाधिवेशनको प्रचार स्वरूप बेलुन उडाइनेछ। राष्ट्रिय गान गाइने छ। शहीदहरूप्रति श्रद्धान्जीलपछि महाधिवेशन कार्यसूचीहरूमा प्रवेश गर्ने छ।

४) महाधिवेशनको उद्घाटन सत्रलाई पार्टी अध्यक्ष केपी शर्मा ओली लगायतका नेता कमरेडहरूले सम्बोधन गर्नु हुनेछ।

५) उद्घाटन सत्रपछि महाधिवेशनको वन्दसत्रमा केन्द्रीय कमिटीको तर्फबाट अध्यक्ष केपी शर्मा ओलीबाट राजनीतिक प्रतिवेदन, महासचिव कमरेड ईश्वर पोख्रेलबाट सङ्गठनात्मक प्रस्ताव र उप–महासचिव एवं सङ्गठन विभाग प्रमुख कमरेड विष्णुप्रसाद पौडेलबाट विधान संशोधन प्रस्ताव प्रस्तुत गरिनेछ।
महाधिवेशनको दोस्रो दिन असोज १६ गते समूह छलफल र समूह नेताबाट सुझावहरूको प्रस्तुति गरिनेछ। तेस्रो दिन असोज १७ गते दस्ताबेज प्रस्तोता कमरेडहरूबाट समूह छलफलबाट आएका सुझाव एवं उठेका विषयहरूलाई स्पष्ट पार्दै सार संक्षेपीकरण गरिनेछ।

६) विधान महाधिवेशनमा निम्नानुसार प्रतिनिधित्व हुनेछ।
केन्द्रीय कमिटीका पदाधिकारी एवं सदस्य कमरेडहरू
केन्द्रीय निकायका पदाधिकारी एवं सदस्य कमरेडहरू
केन्द्रीय विभागबाट चुनिएका प्रतिनिधि कमरेडहरू
प्रदेश कमिटीका सबै कमरेडहरू
जिल्ला कमिटीबाट चुनिएका सबै प्रतिनिधि कमरेडहरू
पार्टी सदस्य रहेका संघ र प्रदेशका सांसद कमरेडहरू
पार्टीको तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख र उप प्रमुख, पार्टी सदस्य रहेका स्थानीय पालिकाका प्रमुख र उपप्रमुख कमरेडहरू

क्षेत्रबाट चुनिएर आउनुभएका छ हजारभन्दा बढी प्रतिनिधिहरूको सहभागितामा हामी भव्य र सभ्य रुपमा महाधिवेशन सम्पन्न गर्नेछौँ। महाधिवेशनमा सहभागी जनजाति, दलित र अन्य समुदायको उचित प्रतिनिधित्व गराउँदै यथेष्ट ध्यान दिइएको छ।

(७) हलमा प्रतिनिधिहरू र अन्य आवश्यक सिटको व्यवस्था गरिएको छ। मूल सभा हलमा ३ हजार प्रतिनिधिहरू, हलको दायाँ बायाँ खाली हलमा एक–एक हजार प्रतिनिधिहरू बस्ने प्रबन्ध गरिएको छ। यसरी नै हलको दायाँ बायाँका प्यासेजहरुको माथिल्लो भागमा टेन्ट टाँगेर थव आवश्यक पर्ने १, १ हजार क्षमताका हल निर्माण गरिएको छ। सम्पूर्ण रुपमा ७ हजार क्षमताका हलहरू तयार गरिएको छ। समूह छलफलका लागि पनि व्यवस्थित स्थानहरू तय गरिएको छ।

८) महाधिवेशनमा सहभागी हुने प्रतिनिधि, स्वयंसेवक, सुरक्षाकर्मी, गाडीका चालकहरू सबैको लागि बिहानको खाना र दिउँसोको खाजा महाधिवेशन स्थलमै व्यवस्थापन गरिएको छ। यसको लागि तुलनात्मक रुपमा सस्तो, हाईजेनिक र समयमै खाना खुवाउन सक्ने मापदण्डका आधारमा क्याटरिङलाई जिम्मेवारी दिइएको छ। महाधिवेशन अवधिभर हरेक दिन बिहान ९ देखि ११ बजेसम्म खानाको समय छुटाइएको छ। सो समय सीमाभित्र सबै प्रतिनिधि कमरेडहरूले खाना खाएर हलभित्र प्रवेश गरिसक्नुपर्नेछ। दिउँसोको लागि खाजाको प्याकेट प्रबन्ध गरिएको छ। र, साँझको खाना बसेकै स्थान वा आफ्नै व्यवस्थापनमा खाने व्यवस्था मिलाइएको छ।

(९) प्रतिनिधिहरूको लागि आवासको प्रबन्ध काठमाडौंमा रहेको प्रदेश तथा जिल्ला सम्पर्क मंञ्चहरुको सहयोगमा सम्बन्धित भूगोलका प्रदेश कमिटीहरूले नै गर्ने गरी व्यवस्थापन गरिएको छ।

(१०) निजी साधन नभएका प्रतिनिधि कमरेडहरूको लागि ललितपुरस्थित सात दोबाटोमा झन्डासहित बसहरूको व्यवस्था गरिनेछ। ट्राफिक तथा पार्किङको पनि यथासम्भव व्यवस्थापन गरिएको छ।

११) महाधिवेशन सम्पन्न गर्नका निमित्त अनेरास्ववियु, युवा संघ नेपाल, जि फन्ट र खेलकुद महासंघबाट २ सय संख्यामा स्वयमसेवकहरु व्यवस्था गरिएको छ।

१२) कोरोना महामारीकै अवस्था भएकोले त्यसप्रति संवेदनशील हुँदै मास्क, सेनिटाइजरको प्रयोग र थर्मल गनबाट शरीरको तापमान लिने व्यवस्था मिलाइएको छ।

१३) महाधिवेशनको प्रचारको लागि वालपेन्टिड वाल पोष्टरिडलाई पूर्णतः बन्द गरिएको छ। प्रचार प्रसारको निम्ति मूलतः मिडियाको सहयोग लिइएको छ। यसका साथै काठमाडौं महानगरपालिका अन्तर्गत सडकका पोलहरूमा रहेका बोर्डमा पोस्टर राखिएको छ। काठमाडौंका दरबारमार्ग, तीनकुने, चाबहिल, चुच्चे पाटी, हात्तीसार कमलादी, थापाथलीलगायतका स्थानमा डिजिटल बोर्डको माध्यमबाट प्रचार प्रसारको प्रबन्ध गरिएको छ।

१४) मिडियाको लागि महाधिवेशनमा सहभागी हुन छुट्टै पासको प्रबन्ध गरिएको छैन। सम्बन्धित मिडियाको आफ्नै परिचयपत्र देखाएर अत्यावश्यक सङ्ख्या प्रवेश गर्ने व्यवस्था मिलाइएको छ। मिडिया सेन्टरबाट टिभी क्यामेराले लाइभ र असोज १५,१६ र १७ गते प्रेस ब्रिफिङको लागि स्थान निर्धारण गरिएको छ।

हार्दिक अभिवादनसहित,
रामबहादुर थापा बादल
संयोजक
मूल व्यवस्थापन समिति


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved