काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालबाट अलग्गिएर बनेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका केन्द्रीय कार्यकारणी समिति सदस्य राजकुमार लेखीले पदबाट राजीनामा दिएको घोषणा गरेका छन्।
लेखीले बिहीबार बिहान आफ्नो राजीनामा पत्र सार्वजनिक गर्दै अब नयाँ राजनीति गर्न लागेको पनि उल्लेख गरेका छन्। सप्तरीका लेखी थारू कल्याणकारणी महासभाका पूर्वअध्यक्षसमेत हुन्।
उनी एमालेमा जाने तयारी गरेका उनीनिकट नेताहरूले बताएका छन्।
‘एक मधेस एक प्रदेश’ विरुद्ध नारा लगाएका लेखी मधेश आन्दोलनताका चर्चित व्यक्ति थिए। त्यतिबेला उनलाई मधेशी दलका नेताहरूले मधेश आन्दोलनको विरोधी भएको समेत आरोप लगाएका थिए।
मधेशी नेताहरूको खुलेर विरोध गर्ने उनले काठमाडौंमा थारू समुदायलाई भेला गरेर ‘एक मधेश एक प्रदेश’ मा जान नहुने बताएका थिए। नेकपा एमालेको राजनीतिबाट आएका लेखी राष्ट्रिय जनता पार्टी नेपालका महासचिव पनि भएका थिए।
Facebook Comment
Comment