सत्तापक्ष र प्रतिपक्षको बैठकमा मात्रै सहभागी हुन्छौँ : एमाले

सर्वदलीय बैठकमा नजाने

एमालेले सत्तापक्ष र प्रतिपक्षबीच छलफल हुने बैठकमा मात्रै सहभागी हुने प्रष्ट पारेको छ। नेपाल भ्यूजसँग कुरा गर्दै एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले एमाले आफ्नो पुरानै अडानमा रहेको बताए।

नेपालभ्युज

सत्तापक्ष र प्रतिपक्षको बैठकमा मात्रै सहभागी हुन्छौँ : एमाले
फाइल तस्वीर

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सर्वदलीय बैठक बहिस्कार गर्ने भएको छ। सत्तापक्ष र प्रतिपक्षबीचको बैठकमा मात्रै सहभागी हुने भन्दै एमाले सर्वदलीय बैठकमा सहभागी नहुने भएको हो।

यसअघि बुधबार नै प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार बिहान १० बजेका लागि सर्वदलीय बैठक बोलाएका थिए। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाएको बैठकमा एमाले भने सहभागी नहुने भएको हो।

एमालेले सत्तापक्ष र प्रतिपक्षबीच छलफल हुने बैठकमा मात्रै सहभागी हुने प्रष्ट पारेको छ। नेपाल भ्यूजसँग कुरा गर्दै एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले एमाले आफ्नो पुरानै अडानमा रहेको बताए।

सर्वदलीय बैठकमा एमाले जान्छ भन्ने नेपाल भ्यूजको प्रश्नमा तामाङले भने, ‘‘हामी सत्तापक्ष र प्रतिपक्षबीचको बैठकमा सहभागी हुन्छौँ। अन्य कुरामा हाम्रो पुरानै प्रष्ट दृष्टिकोण छ।”

यसअघिको सर्वदलीय बैठक पनि एमालेले बहिस्कार गरेको थियो। आफूले अवैधानिक दाबी गरेको नेकपा (एकीकृत समाजवादी) पनि सहभागी हुने बैठकमा नजाने एमालेले घोषणा गरेको थियो।

यसअघि देउवाले संसद जारी गतिरोध हटाउने मुख्य एजेण्डा भएको र समसामयिक राजनीतिक विषयमा पनि छलफल गर्नका लागि बैठक बोलाएका प्रधानमन्त्रीको सचिवालयले जनाएको थियो।

बैठकमा सत्तारुढ दल नेपाली कांग्रेस, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, सत्ता घटकहरुनेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल तथा राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीका शीर्ष नेतालाई बोलाइएको सचिवालयले जनाएको छ।

मन्त्रिपरिषद् विस्तार गर्दै पूर्णता दिएर सरकारलाई गति दिने विषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र देउवाबीच छलफल भएपछि सर्वदलीय बैठक राखिएको हो। प्रचण्डले बैठकका लागि देउवालाई सुझाएका थिए।

संसदको चालु अधिवेशनमा एमालेले प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैमा निरन्तर अवरोध गर्दै आएको छ। एमाले फुटाउनका लागि सभामुखले भूमिका खेलेको आरोप लगाउँदै सभामुख अग्नि सापकोटाले आफ्नो कदम नसच्याएसम्म उसले सदनमा अवरोध जारी राख्ने बताएको छ।

एमालेले माधव नेपालसहितका १४ जना सांसदलाई कारबाही गरेको पत्र सभामुखलाई पठाए पनि उनले पार्टी फुटाउने नियतले सूचना टाँस नगरेको आरोप लगाउँदै एमालेले सदनमा अवरोध शुरु गरेको थियो। तत्काल कारबाहीको सूचना टाँस गर्नुपर्ने उसको माग छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved