खाद्यले यसवर्ष पनि च्याङ्ग्रा बिक्री नगर्ने

कम्पनीले दशैंमा खसी तथा बोकामा प्रति किलो  दश रुपैयाँ छुट दिने बताएकाे छ।

खाद्यले यसवर्ष पनि च्याङ्ग्रा बिक्री नगर्ने

काठमाडौं। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष पनि दसैंँका लागि च्याङ्ग्रा बिक्री नगर्ने भएको छ।

दशैंका लागि च्याङ्ग्राको बिक्री गर्ने तयारी गरेको कम्पनीले अभावका कारण बिक्री नगर्ने जनाएको हो। बजार मूल्यलाई नियन्त्रण गर्न कम्पनीले दशैंमा खसी बोका तथा च्याङ्ग्राको बिक्री वितरण गर्दै आएको भएतापनि यसवर्ष खसीबोका मात्र बिक्री हुने कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिइन्।

उनका अनुसार बजार मूल्य नियन्त्रण गर्ने निकायले नै बढी मूल्यमा बिक्री गर्नुभन्दा नल्याउने निर्णय भएको हो। “एक हजार च्याङ्ग्रा ल्याउने निर्णय अनुसार हामीले तयारी थालेका थियौँ, कोरोना सङ्क्रमणका कारण यस वर्ष तिब्बत्बाट च्याङ्ग्रा नआउँदा मुस्ताङमा धेरै महँगो भएर ल्याइएन”, उनले भनिन्। कम्पनीले गत वर्षको दशैंमा पनि मूल्य बढेको भन्दै च्याङ्ग्रा खरीद गरेको थिएन।

मुस्ताङबाट च्याङ्ग्रा नआए पनि दाङ र मकवानपुरबाट पहिलो लटमा एक हजार ७०० खसीबोका ल्याउने तयारी पूरा भएको जनाएको उनले दिइन्। सूचना अधिकारी न्यौपानेले दाङबाट एक हजार र मकवानपुरबाट ७०० खसीबोका ल्याउने तयारी भएको जनाउँदै आवश्यकता अनुसार थप खरिद गर्ने जानकारी दिइन्। दुई जिल्लाबाट ल्याइएको खसीबोका कम्पनीले थापाथलीस्थित प्रादेशिक कार्यालय परिसरबाट फूलपातीको दिनदेखि बिक्री शुरु गर्ने जनाएको छ।

कम्पनीले दशैंमा खसी तथा बोकामा प्रति किलो  दश रुपैयाँ छुट दिने बताएकाे छ। कम्पनीले असोज १ गतेदेखि ३९ जिल्लाका ४३ बिक्री केन्द्रबाट चामल, दाल, चिउरा, पिठो र खाने तेलमा पाँच तथा भटमासको तेल र कर्णीको सिमिमा १० रुपैयाँ छुट दिइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved