नेपाली कांग्रेसको १४ औ महाधिवेशन

कांग्रेस पालिका सभापतिका प्रत्यासी भन्छन्, ‘तल सुध्रिए नेतृत्व स्वतः सुध्रिन्छ’

नेपालभ्युज

कांग्रेस पालिका सभापतिका प्रत्यासी भन्छन्, ‘तल सुध्रिए नेतृत्व स्वतः सुध्रिन्छ’

काठमाडौं। नेपाली कांग्रेसमा चौधौं महाधिवेशनको ज्वरो उक्लँदो छ।

वडादेखि केन्द्रसम्म नेतृत्वमा पुग्ने होडबाजी चलेको छ। १८ भदौमा शुरु अधिवेशन वडास्तर हुदै गाँउ-नगर तहसम्म आइपुगेको छ। ५४ वटा जिल्लामा स्थानीय तहको अधिवेशन गरिरहेको कांग्रेसले दशैंअघि बाँकी ठाउमा पनि सक्ने बताएको छ।

गत शुक्रवार बसेको पदाधिकारी बैठकले दशैंअघि हिमाली जिल्लासहित बाँकी ठाउँमा स्थानीय तहको अधिवेशन सक्ने निर्णय गरेको हो। १३ जिल्लाको क्रियाशील सदस्यता वितरण विवाद अझै सुल्झिसकेको छैन। काठमाडौंसहित केही जिल्लामा आगामी शनिबार अधिवशेन तोकिएको छ।

काठमाडौं र यस वरपरका भेगमा अहिले कांग्रेसको चहलपहल बढेको छ। महानगरपालिकासँग जोडिएको नागार्जुन नगरपालिकाको चहलपहल हेर्न लायकको छ।

समूह–समूहमा बाँडिएका कांग्रेसी कार्यकर्ता शनिबार हुने निर्वाचनको तयारीमा जुटेका छन्। पेशाले प्राध्यापक दुर्गाप्रसाद गौतमले सभापतिको प्रत्यासीका रुपमा अघि सारेका छन्। अर्थशास्त्रमा विद्यावारिधि गरेका गौतम शिक्षण पेशामा जमेका व्यक्तित्व हुन्। लामो समयदेखि शिक्षण पेशामा रहेका गौतमले कक्षा दशदेखि स्नाकोत्तर तहसम्मका विद्यार्थीका लागि पुस्तकहरु लेखेका छन्।

विद्यार्थी कालदेखि नै कांग्रेससँग आवद्ध भएर राजनीतिमा पनि क्रियाशील रहँदै आएका गौतम तल्लो तहबाटै राजनीतिमा सुधारको खाँचो देख्छन्। उनले राजनीतिको फोहोर सफा गर्न तलैबाट शुरु गर्नुपर्ने आवश्यकता बोध भएर नेतृत्वमा जान खोजेको बताए। “हामी राजनीतिमाथि नेतृत्वले बिगार्‍यो भनेर मात्रै गाली गर्छाैं। खासमा तलैदेखि सुध्रिनु जरुरी छ”, नेपालभ्यूजसँगको संक्षिप्त कुराकानीमा उनले भने, “तल सुध्रिएपछि स्वतः माथि पनि सुध्रिन्छ।”

अर्थशास्त्रका पीएचडी गौतम आफ्नो विषयमा विशेष दक्खल राख्छन्। व्यावसायिक करिअर भएका गौतमजस्ता अरू पनि छन्, जो सक्रिय राजनीतिमा आफूलाई समर्पित गर्न चाहन्छन्। यिनैमध्ये अर्का एक हुन्, उमेश भट्टराई। नेपाली सेनाको पूर्वसहायक रथीबाट अवकाश पाएका भट्टराईले पनि राजनीतिशास्त्रमा विद्यावारिधि गरेका छन्। उनी काठमाडौ निर्वाचन क्षेत्र नं १ बाट महाधिवेशन प्रतिनिधिका प्रत्यासी हुन्।

क्षेत्रीय प्रतिनिधिको चुनाव जितेका उनी अब महाधिवेशन प्रतिनिधिमा चुनाव लड्ने भएका हुन्। महाधिवशेनबाट सबल नेतृत्व चुन्न योगदान गर्ने उद्देश्यले आफू महाधिवेशन प्रतिनिधिको प्रत्यासी भएको उनले बताए। “समय सापेक्ष ढंगले काम गर्न सक्ने नेतृत्व भएन भने त्यसले पार्टी जीवनलाई बलियोसँग बढाउन सक्दैन। त्यसकारण सक्षम नेतृत्व चुन्न सहयोग होस् भनेर प्रनिधिनि बन्ने उद्देश्य लिएको हुँ”, उनले नेपाभ्यूजलाई भने, “कांग्रेसमा पनि कमी कमजोरी छ तर नेपालको बहुदलीय व्यवस्थाको पक्षपाति र प्रजातान्त्रिक धारको एउटै पार्टी यो मात्रै भएकाले मैले कांग्रेस राजें।”

सेनाबाट सेवानिवृत्त भएपछि राजनीति र सुरक्षाका विषयमा लेखपढ गदै आएका भट्टराई बीपी कोइरालाले परिकल्पना गरेजस्तो कांग्रेस बनाउन तल्लो तहबाटै चुनिएर महाधिवशेनमा सहभागी हुन खोजेको बताए। अर्थशास्त्रका विद्यावारिधि गौतम पनि त्यसै भन्छन्, “विद्यार्थी राजनीति गर्दा देखि नै बीपी कोइरालाबाट प्रेरित भएर लागेको हुँ। कांग्रेसमा थुप्रै समस्या छन्, तलदेखि माथिसम्मै। समयसापेक्ष नेतृत्वको खोजी भइरहेको छ, त्यही पूर्ति गर्ने सोचाइ लिएर सक्रिय भएको हुँ।”

सभापतिमा लड्दै किरियापुत्री

नवलपरासीको कावासोती नगरपालिकाको कांग्रेस सभापति पदमा आमाको शोकमा किरिया बसेका किरियापुत्री कावासोती–३ का वडा अध्यक्ष अमृतकुमार श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन्। गत शनिबार बीपी स्मृति भवन कावासोतीमा औपचारिक समारोह आयोजना गरेर श्रेष्ठले आफ्नो नेतृत्वमा पदाधिकारीको प्यानल घोषणा गरेका हुन्।

सभापति जित्ने एक्ली महिला

सल्यानको छत्रेश्वरी गाउँपालिकाको काग्रेस सभापतिमा सीता भण्डारी निर्वाचित भएकी छन्। गत ९ गते भएको निर्वाचनमा टेकबहादुर विष्टलाई पराजित गर्दै उनी नगर सभापति भएकी छन्। जिल्लामा एक मात्रै महिला स्थानीय तहको नेतृत्वमा आएपछि अहिले सीताको चर्चा जिल्लाभरि नै फैलिएको छ। उनले ९ गतको निर्वाचनमा ६१ मत ल्याउँदा विष्टले ४२ मत ल्याएका थिए।

गत स्थानीय तहको निर्वाचनमा गाउँपालिको उपाध्यक्ष जितेकी भण्डारी  महिला सहभागिताको सवाल केन्द्रदेखि तलसम्म उठिरहेको बेला सल्यान जिल्लाभरिमा एक मात्रै महिला स्थानीय तहको नेतृत्वमा छिन्। भन्छिन्, “मेरो राजनीतिक जीवनको यो पहिलो खुड्किलो हो , गर्‍यो भने नसकिने केही छैन। अझै अघि बढ्छु।”

विष्णुको उस्तै जोश

सल्यानकी सीता जस्तै पाल्पाकी विष्णकुमारी आचार्यले पनि सक्रिय राजनीतिमा पाइला हालेकी छन्। पूर्वखोला गाउँपालिकाको अधिवेशनले उनलाई गाउँ सभापतिमा निर्विरोध निर्वाचित गरेको छ। पाल्पाको पालिकास्तरको नेतृत्वमा उनी एक जना मात्रै महिला नेतृत्वकर्ता भएकी छन्। अधिवेशन भएका पाल्पाका नौ पालिकामध्ये ८ पालिकामा पुरुष नेताहरू सभापतिमा निर्वाचित भएका छन्।

गाउँ सभापतिमा महिला निर्विरोध निर्वाचित भएपछि कांग्रेसका नेता कार्यकर्तासँगै आम नागरिकमा समेत सकारात्मक सन्देश गएको स्थानीय युवा नेता किशोर पंगेनीले जानकारी दिए। महिलासँगै पछाडि पारिएको समुदायले पनि कांग्रेसमा अवसर पाउँदा रहेछन् भन्ने पुष्टि भएको उनको तर्क छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved