पुलिस र गण्डकी क्लब च्याम्पियनसिप भलिबलको क्वाटरफाइनलमा

नेपालभ्युज

पुलिस र गण्डकी क्लब च्याम्पियनसिप भलिबलको क्वाटरफाइनलमा
काठमाडौँ। नेपाल पुलिस क्लब र गण्डकी प्रदेश छैटौँ एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब च्याम्पियनसिप भलिबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन्। मंगलबार भएको निकै प्रतिस्पर्धात्मक खेलमा गण्डकीले मणिमुकुन्द क्लबविरुद्ध ३–२ को कठिन जित निकाल्यो।
गण्डकीले खेलको पहिलो सेट २६–२४ र दोश्रो सेट ३६–३४ ले आफ्नो पक्षमा पारेको थियो। यसपछि मणिमुकुन्दले भारतीय खेलाडीहरू सम्मिलित गण्डकीलाई तेस्रो सेटमा २५–१८ ले र चौथो सेटमा २७–२५ले पराजित गर्‍यो।
चार सेट दुई दुईको बराबरी भएपछि अन्तिम तथा निर्णायक सेटमा गण्डकीले फेरी १५–१३ को जित निकाल्दै खेल ३–२ ले जित्यो। यो जित पछि दुई अङ्क पाएको गण्डकी कुल ५ अंक सहित समूह बी बाट क्वाटरफाइनलमा पुगेको छ। यसै समूहमा ६ अंक रहेको पुलिस पनि क्वाटरफाइनलमा प्रवेश गरेको छ।
दशरथ रङ्गशालास्थित कभर्डहलमा भएको प्रतियोगिताको अर्को खेलमा टिपटप हेल्प नेपालले प्रदेश नं. २ लाई ३–० को सोझो सेटमा पराजित ग¥यो। खेलमा प्रदेश नं. २ लाई २५–२१, २५–१७, २५–१६ को सोझो सेट मै हराउँदै हेल्प नेपालले कुल ६ अङ्क बनायो। जितपछि समूह ए बाट टिपटप हेल्प नेपाल र गलकोट स्पोर्टस् क्लब समान ६ अंकका साथ नकआउट चरणमा प्रवेश गरेका छन्।
मंगलबार नै सम्पन्न महिला तर्फको प्रतिस्पर्धामा अघिल्लो संस्करणको विजेता विभागीय टोली एपिएफले ढोरपाटन स्पोर्टस् क्लबमाथि ३–० को जित निकाल्यो। एपिएफले पहिलो सेट २५–११, दोस्रो सेट २५–७ र तेस्रो २५–१३ ले पराजित गर्दै आफ्नो खातामा ३ अंक जोडेको हो। यस्तै होङ्गवाङ्गजी न्यू डायमन्डले एभरेस्ट भलिबल ट्रेनिङ सेन्टरलाई २५–६, २५–५, २५–१३ ले पन्छाउँदै ३ अंक जोड्न सफल भयो।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved