च्याम्पियन्स लिगमा आज राति : पीएसजीलाई सिटीको चुनौती

नेपालभ्युज

च्याम्पियन्स लिगमा आज राति : पीएसजीलाई सिटीको चुनौती

काठमाडौं । च्याम्पियन्स लिगमा आज राति र भोलि बिहान गरी कुल आठ खेल हुँदै छन्। समूह चरणका ‘ए’, ‘बी,’ ‘सी,’ र ‘डी’ का दोस्रो खेलहरू हुँदै छन्।

आज राति उपाधि दाबेदार मानिएका फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ले गत वर्षको उपविजेता इंग्लिस क्लब म्यानचेस्टर सिटीसँग खेल्दै छ। खेल नेपाली समयअनुसार राति पौने एक बजे हुनेछ। सिटीले अघिल्लो खेलमा आरबी लेइप्जिगमाथि ६-३ को फराकिलो अन्तरले जित निकालेको थियो भने पीएसजीले क्लब बर्गसँग १-१ को बराबरी खेलेको थियो।

आज राति पीएजीको मैदानमा हुने खेलमा लियोनल मेस्सी, नेइमार, किलियन एम्बाप्पे टिममा छन्। च्याम्पियन्स लिगमा आजसम्म पीएसजीले सिटीलाई हराउन सकेको छैन।

मेस्सीले पीएसजीका पछिल्ला दुई खेल गुमाएका छन् तर ३४ वर्षीय यी खेलाडीले घुँडाको चोटलाई जितेका छन् र उनी पार्क डेस प्रिन्सेस (आज रातिको खेल मैदान) मा केही समय उपलब्ध हुन सक्ने जनाइएको छ। “मलाई लाग्छ मेस्सी टोलीमा हुनेछन्, तर मैले अझै शुरुआती ११ छान्न सकिरहेको छैन,” पीएसजीका प्रशिक्षक माउरिसियो पोचेटिनोले भने।” क्लब बर्गसँगको बराबरीपछि पीएसजीलाई आजको खेल जित्नैपर्ने दबाब छ।

आजै राति शाख्तर डोनेस्टेकविरुद्ध इटालियन क्लब इन्टर मिलान भिड्दै छ। यो खेल राति साँढे १० बजे हुने छ। आजै राति यही समयमा आयाक्सले बेसिक्टससँग खेल्नेछ।

त्यसैगरी उपाधिको अर्को दाबेदार स्पेनी क्लब रियल मड्रिडले सेर्रिफसँग खेल्नेछ। यो खेल राति पौने १ बजे हुनेछ। यी दुवै टोलीले अघिल्लो खेलमा जित निकाल्दै ३/३ अंक जोडेका छन्। मड्रिडले इन्टर मिलानलाई १-० ले पराजित गरेको थियो।

त्यसैगरी इटालियन अर्को क्लब मिलान र गत वर्षको स्पेनिस लिग विजेता एट्लेटिको मड्रिड राति पौने एक बजे मैदानमा उत्रिँदैछन्। मिलानले अघिल्लो खेल गुमाइसकेको छ। उसलाई आज जित्नैपर्ने दबाब छ भने एट्लेटिकोले पनि अघिल्लो खेलमा बराबरी गरेकाले आज दबाबमा हुनेछ।

त्यसैगरी आज राति पौने एक बजे नै इंग्लिस क्लब लिभरपुलले पोर्टोसँग खेल्दा यही समयमा आरबी लेइप्जिगले क्लब बर्गसँग खेल्ने छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved