विराज च्यासलको कप्तान, भन्छन्, “फ्युचर राम्रो देखें

नेपालभ्युज

विराज च्यासलको कप्तान, भन्छन्, “फ्युचर राम्रो देखें

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान विराज महर्जनलाई च्यासल युथ क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगका लागि अनुबन्धित गरेको छ।

यो सिजनको ‘ए’ डिभिजन लिग आउँदो २९ कार्तिकदेखि हुँदैछ। १४ क्लबको सहभागिता रहने ४४ औं संस्करणको लिगमा अब च्यासलको कप्तानी विराजले गर्नेछन्।
मंगलबार एक कार्यक्रमबीच विराज र क्लबका अध्यक्ष रमेश व्यञ्जनकारले सम्झौता-पत्रमा हस्ताक्षर गरे।

यो सम्झौताबारे विराज भन्छन्, “च्यासल युथ क्लबमा फुटबलको राम्रो संस्कार रहेको छ, क्लबको फ्युचर प्लान पनि मन परेकोले च्यासलसँग आबद्ध भएको हुँ।”

गत संस्करणको ‘ए’ डिभिजन लिगका उपाधि मछिन्द्र क्लबले जित्दा विराज नै क्लबका कप्तान थिए। विराजले यसअघि संकटा, एनआरटी, मनाङ् मर्स्याङ्दी र थ्री स्टार क्लबबाट पनि लिग खेलिसकेका छन्।

यसैगरी मनाङ र थ्री स्टारबाट पनि ‘ए’ डिभिजन लिगको उपाधि उचालेका विराज मनाङले लिग जित्दा पनि कप्तान नै थिए।

नेपालको राष्ट्रिय टिमबाट विराजले ७३ खेल खेलेका छन्। उनले नेपालका लागि १८ खेलमा कप्तानी गरेका छन्। विराजकै कप्तानीमा नेपालले एएफसी सोलिडारिटी कप, बंगबन्धु कप र १२ औं दक्षिण एसियाली खेलकुद सागको फुटबल तर्फको उपाधि जितेको थियो।

यसै कार्यक्रममा क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगका लगाउने जर्सी पनि सार्वजनिक गरेको छ। लिगका लागि क्लबले अन्तर्राष्ट्रिय खेलकुद सामग्री उत्पादक कम्पनी ‘यूक्यान’ सँग ‘किट’ प्रायोजन सम्झौता पनि गरेको छ।

प्रायोजन सम्झौता-पत्रमा यूक्यानका तर्फबाट सीटीएल कम्पनी प्रालिका प्रबन्ध निर्देशक राजन महर्जन र च्यासल युथ क्लबका तर्फबाट अध्यक्ष रमेश व्यञ्जनकारले हस्ताक्षर गरे। सम्झौताअनुसार सीटीएलले क्लबलाई आवश्यक खेल सामाग्री उपलब्ध गराउनेछ । त्यस्तै च्यासल युथ क्लबले भने सिजनभर यूक्यान ब्रान्डको सामग्री प्रयोग गर्नेछ।

च्यासल युथ क्लबको स्थापना विस २०३७ सालमा भएको थियो। २०६४ सालमा ‘सी’ डिभिजन लिगका लागि छनोट भएको च्यासल २०६६ मा ‘बी’ डिभिजन हुँदै २०७३ सालमा बुढुवा भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved