रित्तिए चितवनका आइसोलेशन

नेपालभ्युज

रित्तिए चितवनका आइसोलेशन

चितवन। जिल्लाका सात स्थानीय तहले सञ्चालन गर्दै आएका आइसोलेशनमा  खाली भएका छन्। कोरोना सङ्क्रमित आउन छाडेपछि यहाँका पालिकाले गत चैतदेखि सञ्चालनमा ल्याएको आइसोलेशनमा अहिले बिरामीको सङ्ख्या शून्य भएका हुन्।

कोरोना सङ्क्रमण दर बढ्दै जाँदा गत जेठ र असारमा ती आइसोलेसनमा दैनिक ५० भन्दा बढी बिरामीको उपचार गराइएको चितवन स्वास्थ्य कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार जिल्लाका सात पालिकामा १२५ शय्याको आइसोलेशन स्थापना गरिएको थियो।

भरतपुर महानगरपाकिलामा ३०, माडी नगरपालिकामा- १०, खैरहनी नगरपालिकामा–२०, राप्ती नगरपालिकामा–२०, कालिका नगरपालिकामा-१२ रत्ननगर नगरपालिकामा-आठ र इच्छाकामना गाउँपालिकामा २५ शय्याको आइसोलेशन सञ्चालनमा ल्याइएको थियो।

विगत केही समयदेखि राप्ती र खैरहनीकोे आइसोलेशनमा बिरामीको सङ्ख्या शून्य हुँदैआएकामा अहिले सबै आइसोलेशनमा बिरामी सङ्ख्या शून्य भएको हो।

जिल्ला कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्रले गत फागुनमा सबै स्थानीय तहलाई आइसोलेशन स्थापनाका लागि अनुरोध गरेकामा सोहीअनुसार सञ्चालनमा आएको आइसोलेशन अहिले बिरामी शून्य भएपछि सञ्चालनमा आउन सकेका छैनन्।

“सञ्चालनमा नआए पनि बिरामी बढ्दै गए त्यहाँ राख्न सकिने छ,” उनले भने, “आइसोलेशन बन्द गरिएको छैन। अहिले सञ्चालनमा मात्र नल्याइएको हो।”

कतिपय आइसोलेशन अस्पतालमा नै सञ्चालन भइरहेकाले आवश्यकतानुसार सञ्चालन गर्न सकिने उनको भनाइ थियो। अहिले जिल्लामा सक्रिय संक्रमित सङ्ख्या ५६० रहेकामा ५२१ होम आइसोलेशनमा छन् भने ३९ अस्पतालमा उपचाररत छन्।

जिल्लामा हालसम्म २५ हजार ८२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ४१२ को मृत्यु भइसकेको छ भने २४ हजार ८५३ निको भएर घर फर्किसकेका छन्। यहाँका अस्पतालमा अहिले ५२ सङ्क्रमितको उपचार भइरहेको छ।

यहाँका अस्पतामा ५९२ शय्या कोभिडका बिरामीका लागि छुट्याइएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved