कहाँ छ नेपाली खेल क्षेत्र ?

कोरोनाले थला परेको नेपालको खेल क्षेत्र उठ्न हम्मेहम्मे छ। दक्षिण एशियास्तरमै सीमित खेल क्षेत्र विस्तारै उकासिँदै छ। तर व्यवस्थापनमा कमजोरी र हेयका कारण थप चुनौती सामना गर्नुपर्ने बाध्यता खेल क्षेत्रमा छ।

कहाँ छ नेपाली खेल क्षेत्र ?

काठमाडौं । करीब २० महीना अगाडि चीनमा कोरोना भाइरसले जरा गाड्दै गर्दा नेपाली खेलकुद ढुक्कले आफ्नो इतिहासकै सफल प्रतियोगिता खेलिरहेको थियो। त्यतिबेला कोभिडले विश्वलाई यतिसम्म आक्रान्त पार्ला भन्ने अनुमान कसैको थिएन।

यता नेपालले सोही समयमा, खेलकुद इतिहासकै ठूलो उपलब्धिको रुपमा दक्षिण एशियाली खेलकुद ‘साग’ मा सर्वाधिक ५१ स्वर्ण जित्यो। आफ्नै देशमा भएको खेलकुद महोत्सवमा ६० रजत र ९५ कास्यसहित कुल २०६ पदक जित्दा नेपाली खेलकुदमा अबचाहि केही हुन्छ कि भन्ने अनुमान थियो।

तर कोभिडले सबै बगायो। दुई चार महीनामा नै कोभिडले विश्व खाएपछि नेपालमा मात्रै होइन, विश्वकै सबैखाले खेलकुद गतिविधि ठप्प भए। सागको ऐतिहासिक सफलताले नेपाली खेलकुद क्षेत्रलाई सकारात्मक ऊर्जा दिइरहेको थियो तर सब रोकिए।

विश्व जगत् कोभिडसँग अभ्यस्त हुँदै सामान्य अवस्थामा फर्कँदै छ। अन्य क्षेत्रजस्तै विश्वभर खेलकुद क्षेत्र पनि कोभिडसँग लड्दै लयमा फर्किन थालिसकेको छ। तर कोभिडले नै थला परेको भनिएको नेपाली खेलकुद अझै जुर्मुराउन सकेको छैन।

“यूरोप र छिमेकी राष्ट्र भारतमा समेत खेलकुद गतिविधि लगभग सामान्य भइसक्यो। प्रतियोगिताहरू पुरानै लयमा फर्किसके तर नेपालमा खेलकुद गतिविधि र प्रतियोगिताको अवस्था उस्तै छ,” अग्रज खेल पत्रकार प्रकाश तिमल्सिना भन्छन्।

कोभिडको असर कम भएसँगै नेपालमा पनि खेलकुदका केही प्रतियोगिता नभएका भने होइनन्। विशेषगरी फुटबलतर्फ राष्ट्रिय लिग, थ्री नेसन्स कप र केही अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल आयोजना भए। त्यसैगरी क्रिकेटमा ट्राई नेसन्स सिरिज र अन्य खेलकुदका एक दुई गतिविधि सञ्चालनमा आए।

फुटबल र क्रिकेटका केही गतिविधिलाई छाड्ने हो भने नेपाललाई पदक दिलाउने अन्य धेरै खेलको अवस्था कोभिडपछि थोरै चलायमान मात्र छ। अन्य खेलकुदलाई गम्भीरतापूर्वक अगाडि बढाइएकै छैन।

विश्व जगत् कोभिडसँग अभ्यस्त हुँदै सामान्य अवस्थामा फर्कँदै छ। अन्य क्षेत्रजस्तै विश्वभर खेलकुद क्षेत्र पनि कोभिडसँग लड्दै लयमा फर्किन थालिसकेको छ। तर कोभिडले नै थला परेको भनिएको नेपाली खेलकुद अझै जुर्मुराउन सकेको छैन।

एक वर्षपछि चीनमा आयाजना हुने १९ औं एशियन गेम्सका लागि धेरै एशियाली राष्ट्रले तयारी थालिसके। अझ ओलम्पिक सकिएको २ महीना पनि नबित्दै सन् २०२४ को पेरिस ओलम्पिकका लागि अन्तर्राष्ट्रिय मेडल चाहने राष्ट्रहरूले योजना बनाउन थालिसके।

ओलम्पियन दीपक विष्ट भन्छन्, “मलाई त लाग्छ अहिले हामीलाई मेडल चाहिएकै छैन। जब जब ठूला प्रतियोगिता आउँछ अनि मात्र २–४ महीना अगाडि तयारी शुरु हुन्छ। प्रदर्शन सुधार्न राम्रोसँग ट्रेनिङ शुरु भएको छैन, खेल भएको छैनन। छ त केवल हामीसँग विधान र कानुन।”

उनी अझ थप्छन्, “अन्य देशमा त ट्रेनिङ भइरहेको छ। कोभिड कहाँ छैन र, तर खेलकुद रोकिएको छैन। हाम्रो त कोभिड बहाना मात्र हो। ३ वर्षपछि हुने पेरिस ओलम्पिकका लागि लण्डनमा त अहिलेदेखि नै ट्रेनिङ शुरु भइसक्यो।”

३–४ वर्षपछिको ओलम्पिकमा सहभागिताका लागि त्यति लामो योजना हामीसँग छैन। केही अपवादलाई छाड्ने हो भने हाल नेपालमा राष्ट्रिय स्तरका खेलकुद र छनोट प्रतियागितासमेत हुन सकेका छैनन्। खेलाडीको नियमित ट्रेनिङको त कुरै छाडौं।

किन यस्तो तरु भन्ने प्रश्नमा राष्ट्रिय खेलकद परिषद् (राखेप) का सदस्य-सचिव रमेश कुमार सिलवाल बताउँछन्, “कोभिडका कारणले नेपालमा सबैभन्दा बढी प्रभावित क्षेत्र पर्यटन र खेलकुद हो। अझ नेपाल सरकारले खेलकुदलाई सबैभन्दा अन्तिम प्राथमिकतामा राख्यो। अन्य सबै क्षेत्र खोलेपछि मात्र अन्त्यमा खेल क्षेत्रलाई अनुमति दिइयो। त्यसैले खेलकुद गतिविधि अलि ढिलो भएको हो। तर सकेसम्म हामीले अहिले बढीभन्दा बढी खेलकुद सञ्चालन गर्ने प्रयास गरिरहेका छौं।”

यो त कोभिडपछिको अवस्था मात्र हो। कोभिडले असर नगरेको अवस्थामा पनि हालसम्मको नेपाली खेलकुदको उपलब्धिलाई हेर्दा हाम्रो दायरा सीमित छ। केहीबाहेक समग्र खेलकुदलाई हेर्दा हाम्रो स्तर दक्षिण एशियाली खेलकुदभन्दा माथि उठ्न सकेको छैन।

सन् १९७३ मा जितबहादुर केसीले नेपालकै पहिलो अन्तर्राष्ट्रिय पदक रूपमा एशियन एथ्लेटिक्स् च्याम्पियनशिपमा कास्य जितेका थिए। त्यहाँबाट अन्तर्राष्ट्रिय पदक यात्रा शुरु भएको थियो।

तर अहिले यो यो ४८ वर्षे इतिहासमा अपवादाबाहेक हामी त्यही अवस्थामा छौं।

सागमा केही आशावादी

खेलकुदका अधिकांश प्रतियोगितामा नेपाल दक्षिण एशियामा सीमित भएका छौं। त्यो पनि कमजोर अवस्थामा। एशियाली खेलकुदमा नेपाललाई एकाद पदक हात लाग्दा ओलम्पिकमा हालसम्म हामी शून्य नै छौं।

साग प्रतियोगिता घरेलु भूमिमा हुँदा उत्कृष्ट नतिजा ल्याएको नेपालले त्यसअघि अन्य देशमा हुँदा कमजोर प्रस्तुति देखाइरह्यो।

सन् २०१९ मा नेपालमा भएको पछिल्लो सागबाट केही आशा देखिए पनि भारतभन्दा निकै पछि रह्यो नेपाल। शीर्ष स्थान कब्जा गर्ने सपना मात्र बन्यो।

सन् १९८४ दखि काठमाडौंबाटै शुरु भएको दक्षिण एशियाली खेलकुदको १३ औं संस्करण सकिँदासम्म नेपाल समग्रमा पदक तालिकाको चौथो स्थानमा मात्र छ।
१३ संस्करणमध्ये नेपालले मात्र दुई पटक पदक तालिकाको दोस्रो स्थान बनाएको थियो।

अनि मजाको कुरा ती दुवै संस्करण नेपालमै आयोजना भएका थिए। घरबाहिर भएका अहिलेसम्मको साग पदक तालिकामा नेपाल बढीमा चौथो स्थानमाथि उक्लिन सकेको छैन।

आफ्नै देशमा भएको पहिलो सागमा चार स्वर्णमा सीमित नेपालले १९९८ को अर्को घरेलु संस्करणमा ३१ स्वर्णसहित दोस्रो स्थान हात पार्‍यो। पछिल्लो सागको ५१ स्वर्णसमेत जोड्दा घरेलु मैदानमा भएको तीन सागमा नेपालको औसत स्वर्ण पदक सङ्ख्या २८ हुन्छ। जबकि अन्य देशमा भएको सागमा १० सहभागितामा नेपालले औसत पाँचभन्दा कम स्वर्ण मात्र जितेको छ।

व्यक्तिगत प्रदर्शनका हिसाबले भने सागमा नेपालको उपलब्धि तारिफयोग्य छ। नेपालका एथ्लेटिक्स् लिजेण्ड वैकुण्ठ मानन्धरले सन् १९८७ को कोलकत्ता सागमा बनाएको म्याराथनको रेकर्ड अहिलेसम्म कसैले तोड्न सकेको छैन।

मानन्धरले तेस्रो सागमा बनाएको २ घण्टा १५ मिनेट ३ सेकेण्डको दक्षिण एशियाली रेकर्ड तोड्न यो क्षेत्रमा अहिलेसम्म कोही आएनन्। उनले पहिलो, दोस्रो र तेस्रो सागमा लगातार म्याराथनमा तीन स्वर्ण पदक अर्को रेकर्ड पनि कायम गरेका थिए।

मानन्धरको यो रेकर्डलाई पछि तेक्वान्दो स्टार दीपक विष्टले तोडे। सन् १९९९ देखि २०११ सम्मका लगातार चार सागमा स्वर्ण हात पार्दै विष्ट दक्षिण एशियामा अर्को इतिहास रच्न सफल भएका थिए।

दक्षिण एशियाली खेलकुदमा नेपाललाई अर्को ठूलो सफलता जलपरी गौरिका सिंहले दिलाइन्। उनले नेपालमै भएको गत संस्करणको एउटै सागमा पौडीतर्फ चार स्वर्ण र दुई रजत जित्दै नेपाली खेलकुदमा अर्को नयाँ रेकर्ड बनाइन्।

ओलम्पिक सहभागिताको उपलब्धि : पदक सपना मात्र

सार्क क्षेत्रभन्दा अलि माथि उठेर एशियाकै ठूलो प्रतियोगिता, एशियाली खेलकुद (एशियाड) सम्म पुग्दा नेपालको पदक सम्भावना नराम्रोसँग खुम्चिन्छ।सन् १९५१ मा भारतमा भएको पहिलो एशियाडदेखि नै नेपालले सहभागिता जनाउन थाल्यो।

तर सन् २०१८ मा इण्डोनेशियामा भएको १८ औं संस्करणसम्म आइपुग्दा नेपालले यो स्तरमा एउटा पनि स्वर्ण पदक जित्न सकेको छैन। हालसम्म एशियाली खेलकुदमा ठूलो पदकको रुपमा मात्र २ रजतमा चित्त बुझाएको नेपालको २२ कास्यसहित २४ पदक मात्र छ।

दक्षिण एशियाभन्दा बाहिर गएपछि किन नेपालको पदक कम हुन्छ भन्ने प्रश्नमा दक्षिण एशियाली खेलकुदका लगातार चार पटकका स्वर्णधारी दीपक विष्ट भन्छन्,
“खेलकुदमा लगानी र तयारी समयमा हुनुपर्छ। २(४ महीनाको तयारी र लगानीले पुग्दैन। २-४ महीनामा ५-७ लाख खर्च गरेर चार वर्षको स्पष्ट योजनामा करौडौं खर्च गर्ने देशका खेलाडीसँग प्रतिस्पर्धा गर्दा खेलाडीलाई मेडल आएन भनेर कसरी भन्ने?”

एशियाडको समग्र पदक तालिकामा नेपाल ४४ राष्ट्रमध्ये ४१ औं स्थानमा छ। शुरुआती नौ सहभागितामा केही नजितेको नेपालले सन् १९८६ मा दक्षिण कोरियामा भएको दशौं एशियाडमा भने एकैपटक आठ कास्य जित्यो।

तर सन् २०१८ मा इण्डोनेशियामा भएको १८ औं संस्करणसम्म आइपुग्दा नेपालले यो स्तरमा एउटा पनि स्वर्ण पदक जित्न सकेको छैन। हालसम्म एशियाली खेलकुदमा ठूलो पदकको रुपमा मात्र २ रजतमा चित्त बुझाएको नेपालको २२ कास्यसहित २४ पदक मात्र छ।

यसपछि सन् १९९८ को बैंकक एशियाडमा नेपालले पहिलो पटक रजत जितेको थियो। सबिता राजभण्डारीले एशियाडमा नेपाललाई पहिलो रजत पदक तेक्वान्दोबाट दिलाइन्। यसको ठिक २० वर्षपछि सन् २०१८ को गत एशियाडमा नेपालले प्याराग्लाइडिङको पुरुष टिम क्रस कन्ट्री प्रतिस्पर्धामा दोस्रो रजत जितेको हो।
एशियाली खेलकुदमा हाम्रो उपलब्धि यति हो।

उता ओलम्पिकमा भने नेपालको पदक सपना हालसम्म पूरा हुन सकेको छैन। नेपाल ओलम्पिक कमिटी गठन भएको दुई वर्षपछि सन् १९६४ को टोकियो ओलम्पिकबाट नेपालको ओलम्पिक यात्रा शुरु भएको हो। त्यसपछिका १४ ओलम्पिकमा ९२ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्दा मेडल सङ्ख्या हालसम्म शून्य छ।

सन् १९८८ को सियोल ओलम्पिकमा विधान लामाले तेक्वान्दोतर्फ कास्य पदक त जितेका थिए। तर उक्त ओलम्पिकसम्म तेक्वान्दोलाई प्रदर्शनी खेल मात्र मानिन्थ्यो, त्यसैले लामाको पदकलाई आधिकारिक मानिँदैन।

“पदक ल्याउन किन गाह्रो भो भन्ने कुरा त्यो कुन खालको प्रतियोगिता हो त्यसले निर्धारण गर्छ। ओलम्पिकमा त यत्रो वर्षमा जम्मा दुई पटक छनोटबाट खेल्न पाइयो। जब छनोट हुन नै गाह्रो छ भने मेडलको सम्भावना त हुँदै भएन”, राखेप सदस्य सचिव सिलवालले नेपालभ्यूजसँग भने।

नेपालको ओलम्पिकमा सबैभन्दा ठूलो सफलता भनेको छनोट चरण पार गर्दै ओलम्पिक खेल्न पाउनु नै हो।

नेपालका लागि हालसम्म ओलम्पिकमा छनोट चरण पार गर्दै सहभागिता जनाउने २ खेलाडी मात्र छन। ती हुन् तेक्वान्दोका दुई स्टार दीपक विष्ट र संगीना वैद्य। संगीनाले सन् २००४ को एथेन्स ओलम्पिक र दीपकले सन् २००८ को बेजिङ ओलम्पिकमा छनोट प्रतियोगिताबाट माथि उक्लँदै सहभागिता जनाएका थिए।

यसबाहेक अन्य खेलाडीहरू वाइल्ड कार्ड वा अनिवार्य कोटाबाट मात्र ओलम्पिकमा सहभागी भएका छन्। त्यसैगरी ‘लिभिङ लेजेण्ड’ वैकुण्ठ मानन्धरले लगातार चार ओलम्पिकमा गरेको सहभागिता नेपालको अर्को ओलम्पिक उपलब्धि हो। मानन्धरले सन् १९७६ को मोन्ट्रेयल ओलम्पिकदेखि सन् १९८८ को सियोल ओलम्पिकसम्म लगातार चार वर्ष म्याराथुन दौडिएका थिए।

ओलम्पिकमा नेपाली खेलाडीको वर्तमान अवस्थाको उपलब्धि भनेको चै ओलम्पिक खेलको प्लाटफर्ममा गएर व्यक्तिगत रेकर्ड सुधार्नु वा राष्ट्रिय रेकर्ड तोड्नु नै हो।
जसले पछिल्लो टोकियो ओलम्पिकमा पनि निरन्तरता पायो। ओलम्पिकमा नेपालको यहाँभन्दा माथि थप उपलब्धि छैनन्।

क्रिकेटमा छलाङ

नेपाललाई विश्व खेल जगतभरि चिनाउने कुनै एक खेल छ भने त्यो हो क्रिकेट। पछिल्लो एक दशकमा नेपालले क्रिकेटमा ठूलै फड्को मारेको मान्न सकिन्छ। हाल नेपाल क्रिकेटको टी–ट्वान्टी विश्व वरीयतामा १३ औं स्थानमा छ। त्यसैगरी क्रिकेटको एकदिवसीय वरीयतामा १६ औं स्थानमा छ।

करिब ३३ वर्षअघि मात्र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को सदस्यता पाएको नेपालले क्रिकेटमा विश्वकप खेलिसक्यो। बंगलादेशमा भएको सन् २०१४ को टी–ट्वान्टी विश्वकपका लागि छनोट हुनु नेपाली खेलकुद इतिहासकै सफल क्षणमध्ये एउटा थियो।

उक्त विश्वकपमा समूह चरण पार गर्न नसके पनि नेपालले पहिलो पटक चिरप्रतिद्वन्द्वी अफगानिस्तानलाई हराएको थियो। यसपछि लगत्तै आईसीसीबाट टी–ट्वान्टी मान्यता पाएको नेपालले २०१६ को टी–ट्वान्टी विश्वकपका लागि छनोट हुन नसक्दा उक्त मान्यता गुमायो।

नेपाली राष्ट्रिय क्रिकेट टोलीको अबको प्रमुख लक्ष्यमध्यको एक एकदिवसीय (ओडीआई) विश्वकप खेल्ने छ। नेपाल एकदिवसीय विश्वकपको छनोट प्रतियोगिता खेल्ने बाटोको रुपमा रहेको विश्व क्रिकेट लिग डिभिजन–२ का खेल खेलिरहेको छ।

यो लिग सन् २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकपको छनोट प्रतियोगितासम्म पुर्‍याउने बाटो हो। यो प्रतियोगिताको अन्त्यसम्म शीर्ष तीनमा पर्न सके नेपालले एकदिवसीय विश्वकपको छनोट प्रतियोगिता खेल्न पाउनेछ। तर त्यो त्यति सहज भने छैन।

“नेपालमा पछिल्लो चार पाँच महीनादेखी त्रिकेट नै भएको छैन। ओडीआई त्रिकेट टी–ट्वान्टीभन्दा फरक शैलीको हुन्छ, यो लेभलमा सबै टिम निकै बलिया छन्। विश्वकपका लागि छनोट हुन निकै राम्रो प्रदर्शन गर्नुपर्छ,” नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान पारस खड्का नेपालभ्यूजसँग भन्छन्।

सन् २०१० मा प्रमुख उपाधिको रुपमा आईसीसीको एकदिवसीय प्रतियोगिता विश्व क्रिकेट लिग डिभिजन–५ को ट्रफी जितेपछि नेपाली क्रिकेटले फड्को मारेको थियो। आठ वर्षको बीचमा विश्व क्रिकेट लिग डिभिजन–४ र ३ पनि जित्दै लिग डिभिजन–२ सम्म पुग्दा नेपालले आईसीसीको एकदिवसीय मान्यता पनि पायो। नेपाली क्रिकेटका लागि यो अर्को ठूलो उपलब्धि हो। सन् २०१८ मा एकदिवसीय मान्यता पाएसँगै नेपालको गुमेको आईसीसीको टी–ट्वान्टी मान्यता पनि फेरि फर्कियो।

लगत्तै अर्को वर्ष नेपालले यूएईलाई २–१ ले हराउँदै पहिलोपटक एकदिवसीय क्रिकेट श्रृङ्खला पनि जित्यो। गत वैशाखमा नेपालमै भएको नेदरल्याण्डस् र मलेसियासमेत सम्मिलित त्रिकोणात्मक श्रृङ्खलाको उपाधि पनि नेपालले जितेको थियो।

करिब डेढ महीनापछि भारतमै हुने टी–ट्वान्टी विश्वकपका लागि भने नेपाल यो पटक पनि छनोट हुन सकेन। नेपालले मात्र एक पटक सन् २०१४ को टी–ट्वान्टी विश्वकप खेलेको छ। त्यसयता वरीयतामा उच्च क्रममा रहिरहे पनि नेपाल टी–ट्वान्टी विश्वकपका लागि छनोट हुन सकेको छैन।

तर अर्को वर्ष अष्ट्रेलियामा हुने अर्को टी–ट्वान्टी विश्वकपका लागि भने नेपालले छनोट प्रतियोगिता खेल्दै छ। १६ टिम सहभागी छनोट प्रतियोगितामा शीर्ष चारभित्र पर्न सके नेपालले सन् २०२२ को टी–ट्वान्टी वर्ष कप खेल्न पाउनेछ।

नेपाली क्रिकेटका व्यवस्थापक तथा पूर्वकप्तान विनोद दास भन्छन्, “नेपाली क्रिकेटको भविष्य उज्ज्वल देख्छु, हाल कोभिडका कारण सामान्य समय छैन। हामीले चाहेर पनि सोचेजति गर्न पाएका छैनौं। तर अत्यावश्यक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारी सञ्चालन गरिरहेका छौं। आउँदा प्रतिस्पर्धामा राम्रो प्रदर्शन हुने आशा छ।”

नेपाली क्रिकेटको अबको मुख्य सपना भनेको टेष्ट मान्यता पाउनु हो। तर टेष्ट म्याचको सपना देख्ने प्रमुख खेलाडी पारसको अप्रत्याशित संन्यास नेपाली क्रिकेटको एउटा दुखःद् घटना बन्यो। करीब डेढ महीनाअघि पूर्वकप्तान पारस खड्काले संन्यास घोषणा गर्दै अब मैदानबाहिर रहेर नेपाली क्रिकेटको विकास गर्ने संकेत गरेका छन्।

नेपालको टेष्ट क्रिकेटको सपनाको यात्रा अब पारसले सायद नयाँ पुस्तालाई नेतृत्व गर्दै त्यतातिरबाट गर्नेछन्। तर नेपाली क्रिकेटका मेरुदण्डका रुपमा रहेका पारसको अभाव टिममा सधैं खड्कनेछ। साथै उनको ठाउँ परिपूर्ति गर्ने खेलाडी पनि नेपाली क्रिकेटले सायदै पाउला।

नेपाली क्रिकेटको सफलतालाई नियाल्दा भुल्न नमिल्ने अर्को नाम हो, सन्दीप लामिछाने। व्यक्तिगत सफलताको आधारमा हेर्दा सन्दीप धेरै माथि पुगे।

वर्षको सबैभन्दा ठूलो फ्रेन्चाइज क्रिकेट लिग मानिएको इण्डियन प्रमियर लिग (आईपीएल) बाट डेब्यू गरेपछि उनले वर्षभरि धेरै लिग खेले। एक समय सन्दीप वर्षभरिमा सबैभन्दा धेरै फ्रेन्चाइज लिग खेल्ने खेलाडीसमेत बनेका थिए। उनी जहाँ(जहाँ पुगे नेपालको नाम फैलाइरहे।

नेपाली क्रिकेटको अबको मुख्य सपना भनेको टेष्ट मान्यता पाउनु हो। तर टेष्ट म्याचको सपना देख्ने प्रमुख खेलाडी पारसको अप्रत्याशित संन्यास नेपाली क्रिकेटको एउटा दुखःद् घटना बन्यो। करीब डेढ महीनाअघि पूर्वकप्तान पारस खड्काले संन्यास घोषणा गर्दै अब मैदानबाहिर रहेर नेपाली क्रिकेटको विकास गर्ने संकेत गरेका छन्।

अन्य खेलमा जस्तै नेपाल क्रिकेट सघं (क्यान) भित्र पनि राजनीतिक किचलो छ। अनावश्यक राजनीतिक हस्तक्षेपका कारण सन् २०१६ मा आईसीसीले नेपाल क्रिकेट सघंलाई निलम्बन पनि गर्‍यो। तर निर्वाचनबाट नयाँ कार्यसमिति चयन भएपछि सन् २०१९ मा करिब तीन वर्षपछि आईसीसीले क्यानको निलम्बन फुकुवा गर्‍यो। तर अझै पनि क्यानमा राजनीतिक प्रभाव बाँकी नै छ। नेपाल क्रिकेट सघंमा राजनीति कम हुने हो भने नेपाली क्रिकेट अझ माथि उठ्नेमा दुई मत छैन।

दक्षिया एशियास्तरबाट उठ्न नसकेको फुटबल

सन् १९७० मा विश्व फुटबल महासंघ (फिफा) को सदस्य भएको दुई वर्षपछि नेपालले पहिलो अन्तर्राष्ट्रिय खेल खेल्यो। चीनसँग खेलिएको उक्त म्याच नेपालले २–६ गोल अन्तरले हारेको थियो। यो हारबाट अन्तर्राष्ट्रिय मञ्चमा नेपाली फुटबलको शुरुआत भएको थियो।

पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको १० वर्षपछि मात्र नेपालले फिफाको आधिकारिक प्रतियोगितामा पहिलो गोल गरेको थियो। सन् १९८२ को एशियन गेम्स्मा वाईबी घलेले पहिलो आधिकारिक गोल गरेका थिए।

अन्य खेलमा जस्तै फुटबलमा पनि नेपाल अझै दक्षिण एशियाभन्दा माथि उठ्न सकेको छैन। हालसम्म खेलेको फिफाको आधिकारिक २४४ खेलमा दक्षिण एशियाली राष्ट्रसँगको खेलमा नेपालको जित प्रतिशत जम्मा छ। दक्षिण एशियाली राष्ट्रबाहेकसँगको भिडन्तमा त पाँच प्रतिशत जित पनि छैन।

नेपाली फुटबल दक्षिण एशियाभन्दा माथि उठ्न नसक्नुमा इन्टरनेशनल एक्सपोजरको कमी देख्छन् फुटबल विश्लेषक सञ्जीव मिश्र। यसका लागि नेपालले एशियाको पेरिफेरीभन्दा माथि उठेर यूरोपेली राष्ट्रसँग खेल्नुपर्ने उनले बताए। प्रतियोगितामा नभए पनि मैत्रीपूर्ण खेलमा यूरोप, अफ्रिका र दक्षिण अमेरिकी राष्ट्रसँग खेल्न सके नेपाली फुटबलको स्तर आफैं माथि बढ्ने उनी बताउँछन्। उपाधिका हिसाबले पनि दक्षिण एशिया बाहिरको प्रतियागितामा नेपालको उपाधि संख्या एक मात्र छ।

दक्षिण एशियाली खेलकुद ‘साग’ को फुटबलमा नेपाल पाकिस्तानसँगै सर्वाधिक चार पटकको च्याम्पियन हो। सन् १९८३ र १९९३ मा नेपालका राष्ट्रिय फुटबल टिमले दुई पटक साग फुटबलको उपाधि जितेको थियो। सन् २००४ पछि साग फुटबलमा राष्ट्रिय टिमको सट्टा यू–२३ टिमको सहभागिता हुन थाल्यो। यसपछि लगातार सन् २०१६ र २०१९ को पछिल्ला दुई संस्करणमा नेपाली यू–२३ टिम च्याम्पियन बन्यो।

दक्षिण एशियामा राष्ट्रिय टिमको सबैभन्दा ठूलो प्रतियोगिता साफ फुटबल च्याम्पियनसिपमा भने नेपालले अहिलेसम्म उपाधि जित्न सकेको छैन। सन् १९९३ देखि हालसम्मको १२ सहभागितामा साफ च्याम्पियनसिपमा हाम्रो ठूलो उपलब्धि भनेको तेस्रो स्थानसम्म मात्र हो।

पहिलो संस्करणमै तेस्रो भएको नेपालले त्यसपछिका पछिल्ला साफ च्याम्पियनसिपमा सेमिफाइनलभन्दा माथिको यात्रा तय गर्न सकेको छैन। सन् २००० भन्दा अगाडि नेपाली फुटबल टिमले केही आमन्त्रण फुटबल कप जिते पनि आधिकारिक प्रतियोगिता नभएकाले त्यसको मान्यता छैन।

त्यसैगरी नेपालमै आयोजना भएको सन् २००९ को एन्फा कप र यसै वर्षको थ्री नेसन्स कप तथा सन् २०१६ मा बङ्लादेशमा भएको बङ्बन्धु कपको उपाधि त नेपालको राष्ट्रिय टिमले जितेको थियो। तर यी सबै पनि आमन्त्रण फुटबल प्रतियोगिता हुन्, आधिकारिक प्रतियोगिता होइनन्।

यी प्रतियोगितामा कुनै देशका राष्ट्रिय टिम, कुनै देशका यू–२३ टिम तथा कुनै देशका क्लबहरूले मिश्रित सहभागिता जनाउँछन्। दक्षिण एशिया बाहिरको आधिकारिक प्रतियोगिताको रुपमा सन् २०१६ मा नेपालले एशियाली फुटबल महासंघक एएफसी सोलिडारिटी कपको उपाधि जितेको थियो। फाइनलमा मकाओलाई १–० ले हराउदै नेपालले पहिलोपटक आयोजना भएको सोलिडारिटी कपको उपाधि हात पारेको हो।

सन् २०१६ उपाधिका हिसाबले नेपाली फुटबलको लागि आशाजनक रह्यो। यो वर्ष तीन उपाधि हात पार्ने क्रममा नेपाली राष्ट्रिय टिमले सोलिडारिटी कपसँगै बङ्बन्धु कपको र यू–२३ टिमले साग फुटबलको उपाधि उचालेका थिए।

नेपालमा फुटबलको लोकप्रियता निकै छ। तर मुख्य रुपमा राजनीतिक प्रभाव र फुटबललाई चाहिने भौतिक संरचनाको अभाव नेपाली फुटबलको विकासमा बाधक बनिरहेका छन्।

सन् २००१ मा अखिल नेपाल फुटबल संघ एन्फा दुई खेमामा बाँडियो। एउटा फिफाको समर्थन भएको र अर्को नेपाली सरकारद्वारा मान्यता प्राप्त। जसले गर्दा विश्व फुटबलको सर्वोच्च संस्था फिफाले नेपाली फुटबललाई २ वर्षको प्रतिबन्ध लगायो।

असोज दोस्रो साता देखि १३ औं साफ च्याम्पियनसिप मालदिभ्स्मा आयोजना हुँदैछ। पहिलोपटक साफ च्याम्पियनसिपको उपाधि उचाल्ने तयारीका साथ नेपाली टिम एएफसी प्रो–लाइसन्स भएका नयाँ प्रशिक्षक अब्दुल्ला अलमुताइरीको प्रशिक्षणमा छ।

नेपालमा फुटबलको लोकप्रियता निकै छ। तर राजनीतिक हस्तक्षेप र भौतिक संरचनाको अभाव नेपाली फुटबलको विकासमा बाधक बनिरहेका छन्।

अलमुताइरीको प्रशिक्षणमा खेलेका पछिल्ला केही खेलमा फरक शैली र सुधारिएको खेल देखाएको नेपाली टिमबाट यो पटक केही राम्रो नतिजाको आशा गरिएको छ।

अन्तर्राष्ट्रिय स्तरमा नेपाली खेलकुदले सफलता पाउन र उपाधि जित्न धेरै कारक तत्वले असर गर्छ। खेलकुद क्षेत्र राज्यको प्राथमिकतामा पर्नुपर्छ, खेलकुदको भौतिक संरचनामा राज्यले लगानी गर्नुपर्छ। खेलकुद क्षेत्रभित्रका विवाद, राजनीतिक हस्तक्षेप र भ्रष्टाचार अन्त्य हुनुपर्छ। समयमा उचित अभ्यास र पर्याप्त प्रतियोगिताको व्यवस्था हुनुपर्छ।

विशेषगरी खेलाडीले खेलेरै बाँच्ने अवस्था सिर्जना हुनुपर्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved