राप्रपा सचिवालय प्रमुखमा गुरुङ 

नेपालभ्युज

राप्रपा सचिवालय प्रमुखमा गुरुङ 
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीको सचिवालय प्रमुखमा राजेन्द्र गुरुङ तोकिएका छन्। राप्रपाले ध्रुवबहादुर प्रधानको ठाउँमा उनलाई प्रमुखको जिम्मेवारी दिएको हो।
प्रधान व्यक्तिगत कामका सिलसिलामा हाल अमेरिकामा रहेकाले गुरुङलाई निमित्त प्रमुख तोकिएको राप्रपाका कार्यसम्पादन समिति सदस्य मोहन श्रेष्ठले जानकारी दिए।
पार्टी एकतापछि राप्रपाको सचिवालय प्रमुख दुई जना रहने व्यवस्था छ। पार्टीका अर्का सचिवालय प्रमुख भास्कर भद्रा छन्। पार्टीका अध्यक्ष त्रय कमल थापा, पशुपति शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीबीचको छलफल र नेता भद्रासँगको समन्वयमा तत्कालको जिम्मेवारी तय भएको श्रेष्ठले नेपालभ्यूजलाई बताए।

३७ जिल्लामा पदाधिकारी चयन

महाधिवेशनको तयारीमा जुटेको राप्रपाले हालसम्म विभिन्न ३७ जिल्लामा पदाधिकारी चयन गरिसकेको छ। महाधिवेशन आगामी कार्तिक २७ देखि ३० गतेसम्म काठमाडौंमा हुँदैछ।
असोज २० सम्म जिल्ला अधिवेशन सकेर असोज २५ भित्र सक्रिय सदस्यता फारम भर्ने समयसीमा तोकिएको नेता श्रेष्ठले जानकारी दिए। उनका अनुसार कार्तिक दोस्रो सातासम्म महाधिवेशन प्रतिनिधि चयन गर्दै कार्तिक १० भित्र सातै प्रदेशको अधिवेशन सक्ने अभियानमा राप्रपा जुटेको छ।
“अहिले हामी महाधिवेशनको तयारीमा छौ”, श्रेष्ठले भने, “हामीले कार्तिक १५ भित्रै सक्रिय सदस्यबाट महाधिवेशन प्रतिनिधि छानिसक्नुपर्नेछ।”
गाउँपालिका अध्यक्ष, नगर अध्यक्ष, प्रदेश (क) र प्रदेश (ख)का अध्यक्ष, प्रतिनिधिसभा निर्वाचन क्षेत्र अध्यक्ष र अधिवेशन सम्पन्न भइसकेका जिल्ला अध्यक्षहरू महाधिवेशन प्रतिनिधि चयन भइसकेका सो पार्टीले जनाएको छ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved