अनलाइन कक्षा लिन नपाएका विद्यार्थी स्कूल खुलेपछि उत्साहित

“धेरै दिन स्कूल बन्द भएपछि फेल हुन्छु कि सोचेर हरेक दिन भोलिबाट स्कूल खुलोस् भनेर भगवान् जपिरहन्थें,” स्कूल आउन पाउँदा खुसी देखिएका उनले भने।

अनलाइन कक्षा लिन नपाएका विद्यार्थी स्कूल खुलेपछि उत्साहित

काठमाडौं। बालुवाटारस्थित पञ्चकन्या माध्यामिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत साहिल तामाङ स्मार्ट फोन नभएका कारण अनलाइन कक्षामा सहभागी हुन पाएनन्। उनको परिवारको आर्थिक अवस्था एकदमै नाजुक थियो।

सबै साथीहरूले अनलाइन कक्षा लिइरहँदा आफूले कक्षा लिन नपाएकै कारण फेल हुने डर उनीमा थियो। “धेरै दिन स्कूल बन्द भएपछि फेल हुन्छु कि सोचेर हरेक दिन भोलिबाट स्कूल खुलोस् भनेर भगवान् जपिरहन्थें,” स्कूल आउन पाउँदा खुसी देखिएका उनले भने।

अञ्जली मगर कक्षा ६ मा पढ्छिन्। उनको घरमा पनि स्मार्ट फोन र नेटको सुविधा थिएन। घरमा पढेर पास हुन्छु भन्ने नसाेचेकी उनी स्कूल आउन पाउँदा खुसी देखिन्छन्। “अनलाइन कक्षा लिन नपाएपछि एक वर्षसम्म पढ्न पाइनँ,” उनले भनिन्।

कोरोनाका कारण पठनपाठन ठप्प भएर बालबालिकामा नराम्रो असर परेकाले सँधैं विद्यालय बन्द गरेर बस्न नहुने अभिभावक सुनमाया तामाङ बताउँछिन्। “कोरोना कहिले हट्छ टुगौं छैन, कोरोना छ भनेर बालबालिकालाई सँधैं घरमै राखिरहन पनि त भएन्,” उनी भन्छिन्, “कोरोनाबारे जनचेतना फैलाएर भौतिक दूरी कायम गरी स्कूल सञ्चालन गर्नुपर्छ।” अब विद्यालय बन्द गर्न नहुने र संक्रमण रोकथामका उपाय अपनाएर जनजीवन सामान्य बनाउनुपर्ने मत उनको छ।

अनलाइनबाट पठनपाठन भएपनि छाेराले पढाइमा ध्यानै नदिएको अनुभव सुनाउँदै उनी साना बालबालिकालाई अनलाइनबाट बुझाएर पढाउन नसकिने बताउँछिन्। “हामी जति कराए पनि बाबुले पढ्न मान्दैन, स्कूल खुलेपछि अब बाध्यताले पनि पढ्छ,” उनले बताइन्। कोरोनाका कारण निषेधाज्ञाले जागिर गुमाएकाले घरमा मोबाइल र नेटको व्यवस्ठा गर्न नसकेको उनी बताउँछिन्।

“अनलाइन कक्षा सञ्चालन भएपछि स्कूल प्रशासनले छोरालाई कक्षामा सहभागी गराउन भनेका थिए तर लकडाउनमा जागिर गुमाएर खर्च बढेको थियो,” सुनमायाले भनिन्, “वल्लाे पल्लो घरमा बुझ्दा दिन नेट दिन मानेनन् जसोतसो गरेर छोरालाई अनलाई कक्षामा सहभागी गराए।”

उनको कान्छो छोरो पाँच वर्षको भइसकेकाले स्कूल भर्ना गर्न ढिलो भएको अनुभूति उनलाई भइरहेको थियो। “कान्छो छोरालाई मोबाइलबाट शिशु कक्षामा पढाउन निकै गाह्रो भयो,” उनले थपिन्, “उमेर बढ्दै गयो तर पढ्ने बानी लगाउन सकिनँ। स्कूल पठाए पढ्थ्यो कि भन्ने लाग्छ।”

दिलमाया तामाङलाई स्कूल पठाए छोराछोरी संक्रमित हुने हुन् कि भन्ने डर पनि थियाे र घरमा छोराछोरीले नपढी दिँदा स्कूल खुले हुन्थ्यो लागिरहन्थ्यो। “अनलाइनभन्दा भौतिक उपस्थितीमा पठनपाठन गर्नु राम्रो हो तर बालबालिका सुरक्षित हुनुपर्छ,” उनले भनिन्, “ स्कूल पठाउँदा कोरोनाको डर लाग्छ घरमा पढ भन्दा मान्दैनन् त्यसैले पनि स्कूल खुलोस् भन्ने लागिरहेको थियो।”

आइतबारदेखि काठमाडौंका विद्यालय सञ्चालनमा आएका छन्। बालबालिकाको स्वास्थ्यलाई ख्याल राखेर विद्यालय सञ्चालन गरिएको विद्यालय प्रशासनले बताएका छन्। स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय खोलिएको पञ्चकन्या स्कूलकी प्रधानाध्यापक बिनिता रंजितले बताइन्।

“स्कूल परीसरमा प्रवेश गर्नेबित्तिकै ज्वरो मापन गर्छौं, त्यसपछि हात धोएर मात्र कक्षा कोठामा जान दिइएको छ,” उनले भनिन्, “मास्क अनिवार्य गरिएको छ, हरेक कक्षामा स्यानिटाइनरको व्यवस्था गरेका छौं र एउटा बेञ्चमा दुई जना मात्र राख्ने व्यवस्था गरेका छौं।”

अहिले थोरै मात्र विद्यार्थी आइरहेकोमा विद्यार्थी बढेपछि दुई सिफ्टमा पढाउने योजना बनाएको उनले बताइन्। “पहिलो दिन विद्यार्थीको उपस्थिति उत्साहजनक छ,अनलाइन कक्षामा कहिले स्कूल जाने दिन आउला भन्ने विद्यार्थी पनि थिए।”

अनलाइन कक्षामा शिक्षकले मिहिनेत गरेर पाठ्यसामग्री तयार गरेपनि विद्यार्थीले ध्यान नदिएको र सिकाउन गाह्रो भएकाले सिकाइ कम प्रभावकारी भएको उनले बताइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved