सवारीसाधन संञ्चालन व्यवस्था मिलाउन विकास समितिको निर्देशन 

नेपालभ्युज

सवारीसाधन संञ्चालन व्यवस्था मिलाउन विकास समितिको निर्देशन 
प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले मुलुकका विभिन्न राजमार्गहरूमा सहज रुपमा सवारीसाधन संञ्चालन व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ।
सिंहदरबारमा आइतबार बसेको समिति बैठकले गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो। दसैँ तिहार लगायतका चाडपर्व नजिकिँदै गएको अवस्थामा बाढी र पहिरोबाट क्षतिग्रस्त भएका राजमार्गहरूको आवश्यक मर्मत र निर्माण गरी सहज रुपमा सवारीसाधन सञ्चालन समितिको निर्देशन छ।
त्यस्तै बैठकले कोरोना सङ्क्रमणलाई मध्यनजर गर्दै अनलाइन प्रणालीबाट टिकट खरिद गर्ने व्यवस्थालाई प्रोत्साहनसहित लागू गर्न निर्देशन दिएको छ। दसैँअघि र पछि गरी कम्तीमा ७ दिन रुट परमिट लागु नगर्न र क्षमताभन्दा बढी यात्रु राखे नराखेको प्रभावकारी अनुगमन गर्न पनि निर्देशन दिएको समिति सभापति कल्याणी खड्काले जानकारी दिइन्।
बैठकले ५० करोड रुपैयाँभन्दा बढी लागत पर्ने आयोजनाहरूलाई मात्र बहुबर्षीय आयोजना मान्ने गरी बनाइएको मापदण्ड समयानुकूल नभएको भन्दै आवश्यक पुनरावलोकन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको सभापति खड्काले बताइन्।
बैठकमा सांसदहरूले दसैँ तिहार लगायतका चाडपर्वमा यात्रुहरूले बेहोर्नुपरेको सास्तीलाई हटाउन सरकारको ध्यानाकर्षण गराएका थिए। सांसद गणेशकुमार पहाडीले यात्रुले सहज ढङ्गले टिकट खरिद गर्ने र आवश्यक परे अनलाइनमार्फत नै टिकटको व्यवस्था गर्नुपर्ने बताए।
उनले सडकहरूको निर्माण समयमा नै नभएको भन्दै यसले पार्ने असरमा सरकारले ध्यान दिनुपर्ने उल्लेख गरे।
सांसद यज्ञराज सुनुवारले लामो समय नचलेका सवारी साधानहरु चाडबाडमा चल्ने भएकाले सवारीसाधनको अवस्थाका बारेमा पनि अध्ययन गर्नुपर्ने बताए।
त्यस्तै सांसदहरूले छोटो दुरीमा पनि सवारीसाधनको चेकजाँचको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराएका थिए।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved