अब त बुढा भए अफ्रिदी !

शनिबार उनको बलिङ हेर्दा लाग्थ्यो, अफ्रिदी अब बूढा भएछन्, उनको बलिङमा त्यो डर रहेन। हुन पनि उनी ४६ वर्षका भइसके। तर अफ्रिदीले कस्तो खेलेभन्दा पनि उनले नेपालमा आएर खेले, यो नै नेपाली क्रिकेटका लागि ठूलो कुरा हो।

अब त बुढा भए अफ्रिदी !

‘बुम बुम अफ्रिदी’ यो नाम, शाहिद अफ्रिदीलाई भारतीय क्रिकेट टिमका हालका प्रशिक्षक तथा पूर्वखेलाडी रवि शास्त्रीले दिएका थिए। तर शनिबार, एभरेष्ट प्रिमियर लिग (ईपीएल) को पहिलो खेलमा उनै ‘बुम बुम’ को आकर्षक खेल भने देख्न पाइएन। जसका लागि दर्शक टिकट काटेर मैदान आएका थिए।

हुन त अफ्रिदीलाई उनको आक्रामक ब्याटिङका लागि शास्त्रीले यो नाम दिएका थिए। ईपीएलमा जम्मा २ खेल खेल्न मात्र नेपाल आएका उनको पहिलो खेलमा त ब्याटिङको पालै आएन।

तर बलिङमा पनि अफ्रिदीको स्पिन निकै घातक हुन्थ्यो। जुन यो खेलमा पटक्कै देखिएन।

टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा सवार्धिक २ हजार १६८ बल बलिङ गर्ने रेकर्ड उनकै नाममा छ। ९९ टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा उनले ९८ विकेट लिएका छन्। त्यसैगरी एकदिवसीय क्रिकेटमा ३९८ खेलमा ३९५ विकेट उनको नाममा छ। जहाँ मात्र १२ रन खर्चेर ७ विकेट लिने रेकर्ड उनले बनाएका थिए।

तर पहिलो पटक नेपालमा ब्यावसायिक खेल खेलिरहेका अफ्रिदीको बलिङमा शनिबार त्यो धार देखिएन। टीयू खेल मैदान कीर्तिपुरमा उनी काठमाडौं किंग्स इलाभेनबाट खेलिरहेका थिए। खेलमा चार ओभर बलिङ गरेका उनले एक विकेट पनि लिन सकेनन् भने ३२ रन खर्चेका थिए।

ललितपुर प्याट्रोइट्सको २९ रनमा तीन विकेट गइसकेको अवस्थामा कप्तान सन्दीप लामिछानेले उनलाई छैटौं ओभर बलिङका लागि बोलाएका थिए। तर नेपाली अलराउण्डर पवन सर्राफले अफ्रिदीको दोस्रो बलमै शानदार छक्का प्रहार गरे। सर्राफले चौथो बलमा पनि चौका प्रहार गर्दा अफ्रिदीले आफ्नो पहिलो ओभरमा नै १४ रन खाएका थिए।

अफ्रिदी करिअरको उचाइमा भएका बेलमा उनको स्पिन खेल्न विश्वका नामुद ब्याट्सम्यानलाई पनि हम्मेहम्मे पर्ने गर्थ्यो। कतिपय स्टार खेलाडी पनि उनको बलिङ खेल्नै डराउँथे। तर ईपीएलमा उनले विकेट त लिन सकेनन् नै नेपाली ब्याट्सम्यानले पनि उनलाई सजिलै चुटे। पछिल्लो ओभरमा पनि नेपालका अनक्याप्ड ब्याट्सम्यान योगेन्द्र सिङ कार्कीले पनि उनको बलिङमा सजिलै छक्का प्रहार गरेका थिए।

शनिबार उनको बलिङ हेर्दा लाग्थ्यो, अफ्रिदी अब बूढा भएछन्, उनको बलिङमा त्यो डर रहेन। हुन पनि उनी ४६ वर्षका भइसके। हुन त अफ्रिदीले कस्तो खेलेभन्दा पनि उनले नेपालमा आएर खेले, यो नै नेपाली क्रिकेटका लागि ठूलो कुरा हो। अफ्रिदी टिमका कप्तान लामिछाने भन्छन्, “अफ्रिदीले गर्दा टिमको माहो निकै परिवर्तन भएको छ। उनी यो टिममा जोडिनु नै यो टिम मात्र होइन, ईपीएल र नेपाली क्रिकेटकै ठूलो उपलब्धि हो।”

अफ्रिदीकै कारणले चौथो संस्करणको ईपीएल उद्घाटन खेल नेपाली खेलकुदकै इतिहास बन्यो। किनकि उनीजतिको उच्च प्रोफाइलका कुनै पनि खेलका खेलाडीले हालसम्म नेपालमा व्यावसायिक खेल खेलेका छैनन्। यसअघि विश्व चर्चित खेलाडीहरू डेभिड बेक्याम, सचिन तेन्दुलकर, महेन्द्र सिङ धोनीजस्ता खेलाडी नेपाल आए पनि व्यावसायिक खेल खेलेका छैनन्।

नेपाली फ्रेन्चाइज लिगमा साहिद अफ्रिदी पनि समावेश छन् भन्ने कुराले नेपाली घरेलु क्रिकेटलाई विश्वस्तरमा पुर्‍याउन ठूलो महत्व राख्छ।

खेलमा उनको बलिङबाट जुन रमाइलोको आशा दर्शकले राखेका थिए, त्यो भने पाएनन्। तर पनि मैदानमा उनको उपस्थिति नै काफी थियो। हरेक पटक उनी बलिङमा आउँदा नेपाली दर्शकले हुटिङ गर्थे। उनले पनि दर्शकलाई धेरै नै सम्मान देखाए। आफूले विकेट लिन नसके पनि इनिङको अन्त्यतिर ललितपुरका नारायण जोशीको प्रहार क्याच लिएपछि उनले दर्शकतर्फ फर्केर सेलिब्रेट गरेका थिए। यो क्षण नै दर्शक उत्साहित बनाउन काफी थियो।

अब अफ्रिदीको ब्याटिङ हेर्न भने नेपाली दर्शकले सोमबार हुने काठमाडौ र भैरहवाबीचको खेल कुर्नुपर्ने हुन्छ।

आजको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन ललितपुर प्याट्रोइट्सलाई सात विकेटले हराउँदै अफ्रिदीकै टिम काठमाडौंले जित्यो।

दुई विदेशी ब्याट्सम्यान अफगानिस्तानका रहमान्नुला गुरबाज र जिम्बाबेका रायन बर्लको विष्फोटक ब्याटिङको मद्दतले ललितपुरले दिएको १५८ रनको मध्यम लक्ष्य काठमाडौंले १४ दशमलव २ ओभरमा मात्र तीन विकेटको क्षतिमा पूरा गरेको थियो।

शुरुवात राम्रो गर्न नसकेको काठमाडौंका ओपनर सुबास खकुरेल पहिलो ओभरमै एक रन पनि नजोडी रन आउट भए। लगत्तै अर्को ओभरमा अमित श्रेष्ठ पनि चार रनमा रन आउट हुँदा मात्र १२ रनमा शुरुआती दुई विकेट गुमाएको काठमाडौंको इनिङ पनि धरापमा पर्‍यो। तर विष्फोटक ब्याटिङ गर्दै रहमान्नुला गुरबाजले काठमाडौंलाई बलियो अवस्थामा पुर्‍याए।

काठमाडौंको तेस्रो विकेटका लागि रहमान्नुला र रायन बर्लले ७६ रनको साझेदारी गरेका थिए। रहमान्नुलाले ३६ बलमा ४ चौका ४ छक्काको मद्दतले ५९ रन जोडेका थिए। उनले यसअघि मात्र २४ बलमा नै अर्धशतक पूरा गरेका थिए।

यसपछि रहमान्नुलाको पारिलाई रायन बर्लले निरन्तरता दिदै काठमाडौंको जित पक्का गरे। प्लेयर अफ दी म्यान घोषित रायन बर्लले मात्र ३४ बलमा ३ चौका ७ छक्काको मद्दतले अविजित ७३ रन जोडेका थिए। उनले १२ औं ओभरमा ललित राजवंशीलाई एकै ओभरमा २९ रन हानेका थिए। जसमा ४ छक्का समावेश थियो।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ८ विकेट गुमाएर १५७ रनको योगफल तयार पारेको थियो।

चौथो संस्करणको ईपीएलको पहिलो बलमै विकेट गयो। काठमाडौंका जितेन्द्र मुखियाको उद्घाटन खेलको उद्घाटन बलमा ललितपुरका ओपनर तथा कप्तान कुशल भुर्तेल गोल्डेन डक आउट भए। पहिलो बलमै बिग सट खेल्न जाँदा विकेट किप्परद्वारा क्याच आउट भएका थिए।

यसपछि पहिलो ओभरमै ललितपुरको अर्को विकेट पनि खस्यो। ओभरको अन्तिम बलमा जितेन्द्रले नै अर्का ओपनर सानडनलाई राजु रिजालद्वारा क्याच आउट गराए। दोस्रो ओभरमा गुल्सन झाले ओसाडा फर्नान्डो पनि चार रनमा एलबीडब्लु धरापमा पारेपछि ललितपुरको इनिङ संकटमा पर्‍यो।

नियमित कप्तान ज्ञानेन्द्र मल्लको अभाव देखिएको ललितपुरले मात्र सात रन जोड्ने क्रममा ३ विकेट गुमाइसकेको थियो। यसपछि पवन सर्राफले यो ईपीएलको पहिलो अर्धशतक प्रहार गर्दै ललितपुरको इनिङलाई उकासे।

४० बलमा अर्धशतकीय पूरा गरेका उनले ४४ बलमा ५ चौका ४ छक्काको मद्दतले ६१ रनको योगदान दिए। पवन सरार्फले शंकर रानासँग मिलेर चौथो विकेटका लागि ५४ रनको साझेदारी गरे।

त्यसैगरी पवनले योगेन्द्र सिंह कार्कीसँग पाँचौं विकेटका लागि थप ६२ रनको साझेदारी निभाएका थिए। योगेन्द्रले २० बलमा ३ छक्काको मद्दतले ३३ रन जोडे। शंकर रानाले थप १४ र भुटानी खेलाडी मिक्यो दोर्जोले १७ रन जोडेका थिए।

उत्कृष्ट बलिङ गरेका जितेन्द्र मुखियाले ४ ओभरमा मात्र १८ रन दिएर ललितपुरको ४ विकेट झारेक थिए। त्यसैगरी गुल्सन झा र रायन बर्लले २-२ विकेट लिएका थिए।

काठमाडौंका कप्तान तथा स्टार स्पिनर लामिछाने भने महँगा साबित भए। उनले ४ ओभरमा सर्वाधिक ४४ रन खाए भने एक विकेट पनि लिन सकेनन्।

काठमाडौंले ललितपुरलाई पराजित गरेको यो पहिलो पटक हो। यसअघिका तीन भिडन्तमा सबै ललितपुरले बाजी मारेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved