सिनेमा बनाउने १० किशोरी
काठमाडौं। किपालय प्रडक्सनले प्लान इन्टरनेसनलको ‘गर्ल्स गेट इक्वेल’ अभियानअन्तर्गत रहेर गरेको फिल्ममेकिङ कार्यशालामा भाग लिएका १० किशोरीमध्ये एन्जला चौधरी एक हुन्।
‘वुमन मेक फिल्म्स’ शीर्षकमा गरिएको यो तालिमलाई अस्कर इन्टरनेशनल कलेज र चलचित्र विकास बोर्डले पनि सघाएका थिए। उनीहरूले एक महीना सिकेकै भरमा उम्दा फिल्म बनाएर देखाए।
“महिला भएका कारण असुरक्षित भएको आफ्नै डकुमेन्ट्री बनाउँछु”
कक्षा १२ मा पढ्दा जागिर पनि गर्थे। घर आएर अफिस जाने समय नपुगेकाले कलेज ड्रेसमै नै अफिस जान्थे। बिहानको कलेज साझँसम्म कलेज ड्रेसमै हिँड्दा बाटामा मानिसहरूले कुदष्टिले हेर्थे। मलाई असुरक्षित भएको महशुस हुन्थ्यो। यस्ता व्यवहार देखेर आफ्नो लैंगिकतामै प्रश्न गर्थे। आफू सुरक्षित हुन कपाल काटेँ। अहिलेसम्म लामो कपाल पाल्न मन लाग्दैन। अहिले मलाई सबैले केटा सोच्छन्।
मेरो आमा नभएकाले बाबाले नै आमाको जिम्मेवारी पूरा गर्नुहुन्थ्यो। म स्कूलमा पढ्दाको समयमा खाना खुवाउनकै लागि बाबाले जागिर छोडेर बस्नुभयो। बाबाले काम नगरेपछि फुपू एक जनाले कमाएर परिवार पाल्न निकै कठिन थियो।
आर्थिक अभावका कारण विद्यालयमा समयमा शुल्क नबुझाएकाले परीक्षा दिनबाट वञ्चितसम्म भएको थिएँ। तर बल्लतल्ल परीक्षा दिए पनि रिजल्ट पाउन नै मुश्किल पर्थ्यो। त्यसबेला निकै निराश हुन्थें। आफ्नो जिन्दगी नै बेकार लाग्थ्यो। यसैगरी एसएलसी पास गरें।
कक्षा ११ मा अध्ययन गर्दै थिएँ। साथीले फिल्म एडिटिङ सिक्न जाऊँ भनिन्। उनको परिवारले एडिटिङ सिक्ने खर्च धान्न सक्थे। तर मेरो परिवारको आर्थिक क्षमता एकदमै कमजोर थियो। पैसा नभए पनि बुझ्न गएँ। तीन महीनाको कोर्स रहेछ। उधारोमा एक महीना ग्राफिक्स डिजाइन सिकें। आर्टमा रुचि भएकाले म कामप्रति गम्भीर थिएँ। एडिटिङ सिक्दा मैले समयलाई नै नियन्त्रण गर्न सक्ने शक्तिशाली माध्यम भन्ने महशुस गरेपछि यसलाई नै पेशा बनाउने निधो गरें।
मेरो सिकाइ देखेर एडिटिङ सिकाउने दाइले जागिरको अवसर दिनुभयो। जुनबेला परिवार मेरो जिम्मेवारी उठाउने स्थितिमा थिएनँ। मलाई त्यसबेला जागिरको एकदमै खाँचो थियो। त्यहीबेला जागिरको अवसर पाउँदा मेरो खुशीको सीमा नै रहेन।
त्यहाँ विदेशी दम्पतीको विवाह समारोहको भिडियो बनाउनुपर्ने रहेछ। मैले विस्तार सिक्दै काम गरें। मेरो पारिश्रमिकले विद्यालयको शुल्क तिर्न पुग्ने भयो। तर गोजी खर्च भने अभाव हुन्थ्यो। साथीहरूले खाजा खान जाउँ भन्दा व्रत छ भनेर झुट बोल्थें। पैसा नहुँदा अर्को जागिर खोजूँजस्तो लाग्थ्यो। यसरी नै जिन्दगी बढिरहेको थियो।
साथीले भाइबरमा फिल्ममेकिङ कार्यशालाबारे जानकारी दिइन्। उनले यो तिम्रो लागि ठूलो अवसर हो, फारम भर भन्ने सल्लाह दिइन्। मनमा द्विधा हुँदा हुँदै फारम भरें।
यसअघि आफ्नो उमेर सानो भएका कारण धेरै ठाउँमा जागिरका लागि बुझ्न जाँदा लिँदैनथे। त्यसैले फारम भर्दा अन्योलमा थिए। वर्कसपमा पेशागत रुपमा काम गरिरहेको परिपक्व मानिसलाई मात्र छनोट गर्छन् भन्ने लागेको थियो। आफूलाई बच्चा जस्तो महशुस हुन्थ्यो। तर पनि निवेदन दिएँ। छनोट भएको मेल आउँदा पत्याउनै गाह्रो भयो।
त्यसपछि अरूमा पनि छनोट हुन्छु भन्ने आत्मविश्वास बढ्यो। वर्कसपका शुरुका दिनहरू निराशाजनक थिए। तर अन्त्यमा एकदमै रमाइलो भयो। विवाह समारोहको भिडियो एडिटिङ गर्नु र डकुमेन्ट्री बनाउनु धेरै फरक रहेछ। डकुमेन्ट्री भन्नेबित्तिकै मलाई जे भइराछ त्यही खिच्नुपर्ने भन्ने लागेको थियो। लकडाउनमा मैले एकपटक पुलिसको भिडियो बिनाअनुमति खिचेको थिएँ। उनले थाहा पाएर भिडियो डिलिट गर्न लगाएका थिए। सँगै बिनाअनुमति भिडियो बनाएको मुद्दा गर्ने धम्की पनि दिएका थिए। डराएर मैले उहाँलाई माफ गरिदिनुस भनेको थिएँ। डकुमेन्ट्री बनाउनुपर्छ भन्ने त्यो घटना आँखा वरिपरि घुमिरहेका थिएँ।
वर्कसपमा आउनुअघि नयाँ व्यक्तिसँग आफ्ना धारणा मिल्ला नमिल्ला भन्ने लागेको थियो। पहिलो दिन अझै म ढिला आइपुगेको थिएँ। हाम्रो समूह विभाजन भइसकेको थियो। १० जनाको पाँच ओटा टिम बनाइएको थियो। जसमा मेरो टिममा मिलनसार दिदी पर्नुभयो। उहाँसँग काम गर्न एकदमै सहज भयो। हामीले नाइट स्टे साथीकोमा बसेर रमाइलो पनि गर्यौं। यो वर्कसप एकदमै रमाइलो भयो।
डकुमेन्ट्री बनाउने दिन नजिकिँदै थियो। यौनकर्मी महिलाको बनाउने निधो गर्यौं। आफू सानो उमेरको भएका कारण परिवारमा यौनकर्मी महिलाको डकुमेन्ट्री बनाउन लागेको भन्दा असहज भयो। परिवारले अनुमति नदिने डरले केही समय उहाँहरूसँग डकुमेन्ट्रीबारे कुरा गरिनँ।
शुरुमा व्यक्ति छनोट गर्न नै समस्या भयो। धेरैजसो महिलाले बोल्न नचाहँदा मनमा निराशा छाएको थियो। धेरै प्रयास गरेपछि एक जना महिलाले सहमति दिनुभयो। उहाँलाई भेट्ने समयसम्म पनि नाइँ भन्नुहोला भन्ने मनमा डर लागिरहेको थियो।
यौनकर्मी भन्नेबित्तिकै मलाई शारीरिक रुपमा निकै आकर्षित, सुन्दर हुन्छन् भन्ने लाग्थ्यो। उहाँ एकदमै मिलनसार पनि पाएँ मैले। यौनकर्मी महिला पनि सामान्य व्यक्ति हुन् भन्ने त्यतिबेला मलाई लाग्यो। विभिन्न कारणले उनीहरू यौनकर्मी बनेका हुँदा रहेछन्। मैले उहाँलाई भेटेर बुझें।
उहाँको जीवनमा आधारति भएर बनाइएको डकुमेन्ट्री हेरें म आफैं अचम्मित थिएँ। वाह१ मैले पनि यस्तो डकुमेन्ट्री बनाएँ भन्ने लाग्यो। जीवनमा नसोचेको काममा आफ्नो सफलता देख्दा मनमनै गद्गद् थिएँ।
भविष्यमा फिल्म बनाउने क्षेत्रमा आउँछु तर मलाई एनिमेशन गर्ने ठूलो चाह छ। नेपालमा एनिमेशन गरेको खासै पाइँदैन त्यसमा पनि महिलाले त सोचेका पनि छैनन् होला जस्तो लाग्छ। मलाई सिनेमामा त्यत्ति रुचि छैन। मेरी दिदीले भन्नुहुन्छ( कत्तिले सिनेमालाई रोज्छन् भने कत्तिलाई सिनेमाले रोज्छ। मलाई सिनेमाले रोजेको जस्तो महशुस हुन्छ।
मेरो जीवनको लक्ष्य एनिमिमा इतिहास रच्नु छ। एनिमी पढेर नेपालमै काम गर्ने रहर छ। यसमा सफल हुन्छु या हुँदिनँ भोलिका दिनहरूमा थाहा हुन्छ। आजसम्म म जहाँ पुगेको छु त्यहीँ मेरो जीवनको टर्निङ प्वाइन्ट बनेको छ। यसरी मेरो यात्रा बढेको छ। मलाई अझै डकुमेन्ट्री बनाउन मन छ। आफ्ना अनुभवका डकुमेन्ट्री बनाउने योजना बनाएको छु।
“यौनकर्मी महिला पनि सामान्य महिला नै हुन् : पुष्षा जोशी
यौनकर्मी महिला भन्नेबित्तिकै हाम्रो समाजमा हरेक व्यक्तिले नराम्रो सोच्छन्। उनिहरूले समाजमा विकृति फैलाइरहेका छन् भनेर दुर्व्यवहार गर्न पनि पछि हट्दैनन्।
धेरै मानिस यौनकर्मी महिलाको व्यक्तिगत जीवन र मानवता हुँदैन भन्ने सोच्छन् यो सोचलाई चुनौती दिँदै हामीले यौनकर्मी महिलाको डकुमेन्ट्री बनाएका छौं। यसमा यौनकर्मी महिला पनि सामान्य नै हुन् भन्ने देखाइएको छ।
केहीलाई मैले चिनेको थिएँ, त्यसैले पनि यही विषयमै डकुमेन्ट्री बनाउँछु भन्ने अठोट गरें। उहाँहरू सजिलै क्यामेरामा बोल्नुहुन्छ सोचेको थिएँ। तर वास्तविकता आफूले सोचेजस्तो सरल रहेनछ। आफ्नो पेशाप्रति लगाव भए पनि कानूनी समस्या र समाजमा लाञ्छाना लगाउने डरले खुलेर बाहिर आउन चाहदा रहेनछन्। धेरै समय लगाएर हामीले एक महिलालाई मनायौं। उनले आफ्नो पहिचान गोप्य राख्ने शर्तमा डकुमेन्ट्री बनाउन दिने भइन्। हामीले उहाँको गोपनियताको सम्मान गरी डकुमेन्ट्री बनायौं।
नेपालमा फिल्म वा डकुमेन्ट्री बनाउँदा महिलालाई पीडित पात्रको रूपमा मात्र देखाइन्छ। महिला पुरुषबिना केही होइन भन्ने भूमिकामा प्रस्तुत गरिन्छ। कति फिल्म महिलाको सुन्दरता र यौनिकतामा केन्द्रित भएर बनाइएको हुन्छ। त्यस्तै गृहणी, दबाएर राखिएको भूमिकामा मात्र चित्रण गरिएको हुन्छ। समाजमा शिक्षित, रोजगार र स्वतन्त्र महिलाहरू पनि छन् उनीहरूलाई मुख्य पात्रको रुपमा प्रस्तुत गरे महिलामा आत्मविश्वास बढ्न मद्दत पुग्छ।
नेपाली फिल्म उद्योगमा महिलालाई प्रस्तुत गर्ने शैलीमा भिन्नता ल्याउन युवा फिल्म निर्माणकर्ता आउन जरुरी छ। उनीहरूले महिलालाई सशक्त रुपमा प्रस्तुत गर्न सक्छन्।
एकमहिने फिल्म मेकिङ कार्यशालामा यसका लागि सहयोगी माध्यम हो। शुरुमा दुई हप्ता अनलाइन कक्षा भयो। कोरोना महामारीका कारण अनलाइन कक्षा हुँदा भौतिक रूपमा उपस्थित भएर सिकेको जस्तो नहुने महशुस भयो।अनलाइन कक्षा कम प्रभावकारी भए पनि यसबाट हामीले धेरै जानकारी कार्यशालामा पायौं। वर्कसपमा शुरुमा सैद्धान्तिक विषयमा अध्यापन गराइयो। त्यसपछि भौतिक उपस्थितिमा प्राविधिक भाग सिकाइयो।
वर्कसपमा शुरुमा अरूले बनाएको डकुमेन्ट्री र सर्ट फिल्म देखाइएको थियो। पहिलो दिन त्यो हेरेपछि धेरैजसो साथी हतासिएका थियौं। तर सिक्दै जाँदा आत्मविश्वास बढ्दै गयो। डकुमेन्ट्री बनाएर हेर्दा वाह मैले यस्तो गरे जस्तो महशुस भएको थियो।
यस वर्कसपले महिलाकेन्द्रित फिल्म बनाउने बिउ रोपेको छ। हामीमध्ये कोही एडिटिङमा, कोही स्क्रिप्ट लेखनमा अब्बल छौं। यही १० जना मिलेर नै बनाउन सकिन्छ। आगामी एक वर्षभित्र महिलाकेन्द्रित अर्को डकुमेन्ट्री वा सर्ट फिल्म बनाउँछु भन्ने योजना छ। तत्कालै यही गर्छु भन्ने योजनाचाहिँ बनाएको छैन।
पेशागत रूपमा विकास अनुसन्धानमा आबद्ध भए पनि फिल्म क्षेत्रमा आवद्ध भइरहन्छु, फिल्म र सामाजिक मुद्धाहरू एक अर्कासँग सम्बन्धित छन्। फिल्म समाजका मुद्दाहरू उठान गरी वकालत गर्ने एक शक्तिशाली माध्यम हो। त्यसैले फिल्मी क्षेत्रमा पनि केही गर्छु भन्ने लागेको छ।
सोचेजस्तो नभए पनि जीवन रंगीन छ : मीरा खड्का
एक महिला आफ्नो ६ बर्से जुम्ल्याहा छोरी लिएर भवन निर्माण गर्ने ठाउँमा जान्छिन्। उनका छोरीहरूलाई भवन निर्माण भइरहेको नजिकै राखेर आफू बालुवा र गिट्टी बोक्छिन्। काममा जाँदा छोरी लिएर जानु असुरक्षित भएको भान भए पनि उनी घरमा कोही नभएका कारण बाध्य छिन्। उनको मनमा आफ्ना छोरीहरू पनि यही काममा त लाग्ने होइनन् भन्ने डरले डेरा जमाएको छ। वर्कसपमा सहभागी भएपछि हामीले डकुमेन्ट्रीमा यही कुरा देखाएका छौं।
उनी मेरो घर आउने जाने बाटोमा निर्माणाधीन भवनमा काम गर्छिन्। उनलाई मैले दैनिकजसो देख्थें। उनको मिहिनेत देखेर आकर्षित भएको थिएँ। त्यसैले उहाँकै जीवनमा आधारित भएर डकुमेन्ट्री बनाउने निधो गरें। उहाँले पनि सहज रुपमा सहमति दिनुभयो।
म पेशागत रुपमा नायिका हुँ। नायिका हुँदा आफ्नो टेकको लागि तयार भएर बस्नुबाहेक अरु काम हुँदैनथ्यो त्यसैले पर्दा पछाडिको काम गर्न निकै इच्छा थियो। कोरोनाको समयमा खालि भएँ। त्यसपछि युट्युब च्यानलमा आफै भिडियो बनाएर अपलोड गरे। फिल्म क्षेत्रका केही साथी थिएँ। उनीहरूसँग सोधेर पनि सर्ट फिल्म बनाए। फिल्म रिच हुँदै गयो। त्यसपछि व्यावसायिक रुपमा नै काम गर्छु भन्ने योजना बनाएँ। फेसबुक चलाउँदा फिल्म कार्यशालाको विज्ञापन देखें। यसलाई सही अवसर ठानेर फारम भरें। छनोट हुन्छु कि हुँदैन भनेर बेचैन बसिरहेको थिएँ। छनोट भएको मेल आयो। त्यसपछि केही घण्टा एक्लै उफ्रिएर बसें।
र्वकसपमा शुरुका दिनहरूमा अलि आत्तिएको थिएँ। केही दिनपछि आफ्नो परिवारको कुनै एक सदस्यको डकुमेन्ट्री बनाउन भनिएको थियो। त्यो डकुमेन्ट्रीले साथीहरूलाई बुझ्न एकदमै सहज भयो। त्यसपछि सहज महशुस हुँदै आयो।
सोचेजस्तो नभए पनि जीवन रंगीन छ। समाजसेवा गर्छु भन्ने सोच बनाएको थिएँ तर समयले मेरो बाटो मोडिदियो। म फिल्मी क्षेत्रमा रमाइरहेको छु। शुरुमा सर्ट फिल्मबाट यो क्षेत्रमा प्रवेश गरे त्यसपछि केही सिरिजमा काम गर्ने अवसर मिल्यो। भविष्य पनि यही क्षेत्रमा बनाउने सोचमा छु। हाल बालविवाह सम्बन्धी अर्को सर्ट फिल्ममा आबद्ध भएको छु।
आफ्ना कमजोरी बुझ्ने माध्यम बन्यो फिल्म मेकिङ कार्यशाला : ज्योति बेलबासे
फिल्म हेर्थें। तर यसबारे त्यत्ति जानकारी थिएन। अझै यसको पढाइ हुन्छ नेपालमा नै भन्ने सोचेको पनि थिइनँ। एसएलसीपछि काठमाडौं आएँ। मलाई फोटोग्राफी एकदमै मन पर्छ। बाबासँग फोटोग्राफी गर्न के पढ्नुपर्छ भनेर सोधें। उहाँले फिल्म पढ्न सुझाउनुभयो।
फिल्म पढिरहेकाले फिल्म मेकिङ वर्कसपमा सहभागी हुने इच्छा थियो। यसले आफ्नो ज्ञान बढाउँछ भन्नेमा विश्वस्त थिए। त्यसैले छनोट भएरनभए पनि फारम भरें। छनोट पनि भएँ। मैले यस वर्कसपमा ज्ञान मात्र पाइनँ, आफ्ना कमजोरीसँग पनि परिचित भएँ। यो कार्यक्रममा सहभागी भएर कम्युनिकेसनको महत्व बुझें। फिल्म विषयमा नै अध्ययन गरिरहेको भएकाले यो कार्यशाला एकदमै प्रभावकारी भयो।
वर्कशपपछि हामीले ‘मिहेनती आमा’को दैनिकीमा आधारित भई डकुमेन्ट्री बनाएका छौं। व्यक्ति छनोट गर्न हामीलाई खासै समस्या भएन तर उनका छोरी सम्हालेर भिडियो लिन अलिक कठिन भएको थियो। तर दुई जना मिलेर तयार यसको सामना पनि गर्यौं।
डकुमेन्ट्री बनाउँदा समय केही चुनौतीपूर्ण थिए। तर क्यामेरा चलाउन पाउँदा आफ्नो लक्ष्य नजिक पुगेको महशुस गरें। यो वर्कशप मेरो लक्ष्य नजिक पुर्याउने माध्यम बनेको छ।
चलचित्र र गायन क्षेत्रमा नै स्थापित हुन्छु : श्रीषा कुँवर
केही समयअघि मैले एक जना पात्र भेटेको थिएँ। उनको स्वभाव सामान्य व्यक्तिको भन्दा फरक देखें। मैले प्रश्न गर्ने हिम्मत गर्न सकिनँ। तर मनमा भने उनको स्वभावको छाप बसेको थियो। धेरै पछि उनी ट्रान्डजेन्डर महिला भएको थाहा पाए। त्यसपछि उनको जीवनबारे बुझ्ने इच्छा जाग्यो।
लाग्थ्यो, उनले आफ्नो व्यवहारमा कसरी परिर्वतन ल्याइन् होला। परिवारले उनको पहिचानलार्ई स्विकार गरेका छन् कि छैन भन्ने जान्न मन लाग्यो। समाजमा नयाँ पहिचानसँग उनी कसरी बाँचेकी छन् भन्ने मेरो लागि रुचिकर विषय बन्यो। त्यसैले यसमा नै डकुमेन्ट्री बनाएँ।
वर्कसपमा म अरु साथीभन्दा अलिक ढिला जोडिएको थिएँ। भाग्यका कारण वर्कसपमा सहभागी हुन पाउने मौका पाएँ। चलचित्र र गायन क्षेत्रमा जान्छु भन्ने बच्चैदेखिको सोचेको थिएँ। कक्षा १२ मा पढ्दा मेरो गीत पहिलो पटक बजारमा आयो। त्यहाँ आफैले मोडलिङ गरें। विस्तारै यस क्षेत्रका मानिससँग चिनजान बढदै गयो। त्यसपछि यही क्षेत्रमै स्थापित हुन्छु भन्ने सोच बनाएँ।
मिडियाकर्मी बन्ने ठूलो चाहमा काठमाडौं आइपुगे : अस्मिता लावती
ट्रान्डजेन्डर महिला भन्ने बित्तिकै नेपालमा धेरैजसो व्यक्ति अचम्मित नै हुन्छन्। त्यसैले डकुमेन्ट्री बनाउन ट्रान्डजेन्डर विषय छनोट गर्यौं। तर व्यक्ति छनोट गर्न निकै कठिन भयो। डकुमेन्ट्री प्रस्तुत गर्ने समय नजिकिदाँसमेत व्यक्ति पाउन सकेका थिएनौं। अन्तिम समयमा एक महिलालाई मनायौं। दुःख गरेर बनाएअनुसार प्रतिक्रिया पनि राम्रै आयो।
वर्कसपमा सहभागी भएर डकुमेन्ट्रीमा उठान गर्ने विषयवस्तु, भिजुअल लिने तरिकालगायत धरै कुरा सिक्ने अवसर पाएँ। यो वर्कसप मेरो भविष्यको एउटा कोशेढुंगा साबित भएको छ।
स्कूल पढ्दा फिल्म हेर्थे तर फिल्मप्रति त्यति मोह थिएन। मिडियाकर्मी बन्ने ठूलो चाहमा काठमाडौं आइपुगें। तर लेखेको कुरा पाइन्छ भनेजस्तै कारणबस मिडियामा जान सकिनँ। परिवारको सल्लाहमा फिल्म विषयमा पढ्न शुरु गरें। फिल्म विषय नै पढेकाले यसलाई नै निरन्तरता दिने योजना छ।
अनलाइन दुर्व्यवहार नसहौं : अम्बिका भण्डारी
दुर्व्यवहार शारीरिक रुपमा छोएर मात्र नभई मानसिक रुपमा बोलेर, फोटो पठाएर पनि हुन्छ। हाल अनलाइनमार्फत यस्ता घटना दैनिक घटिरहेका छन्। अनलाइन दुर्व्यहार धेरैजसोले भोगेको समस्या भए पनि क्यामेरामा बोल्न चाहँदा रहेनछन्। त्यसैले व्यक्ति छनोट गर्न निकै कठिन भयो। दुर्व्यवहार भएको समाजमा थाहा पाए आफ्नो इज्जत परिवारको मान प्रतिष्ठा गुम्ने डरले मनभित्र गुम्साएर राख्ने रहेछन्। समाजमा आफ्नो र परिवार असल छवि कायम राख्न लुकाइएका यस्ता घटनाले धेरै मानिस मानसिक समस्याको शिकार हुन पुगेका छन्। अनलाइन दुर्व्यहार विरुद्ध आवाज उठाउन डकुमेन्ट्री बनायौं।
यो वर्कसप मेरा लागि एकदमै नयाँ विषय थियो। छोटो समयमा धरै जानकारी पाएँ। यो वर्कसप त्यसैले पनि मेरा लागि ठूलो अवसर हो।
फिल्म उद्योगमा नै आफ्नो पहिचान बनाउन मन छ : पुर्निमा महर्जन
हाल अनलाइन प्रयोग नगर्ने व्यक्ति कम छन्। प्रयोगकर्ताले अनलाइनको गलत प्रयोग गरेका घटना धेरै छन्। हामीले अनलाइनमार्फत गरिने दुर्व्यहारविरुद्ध डकुमेन्ट्री बनाएका छौं।
फिल्म मेकिङमा यो मेरो पहिलो अनुभव हो। वर्कसपमा सहभागी भएर डकुमेन्ट्री बनाउन विषयबस्तु छनोट, त्यसलाई आवश्यक व्यक्तिको खोजी र छनोट गर्ने, व्यक्तिलाई मनाउन प्रत्यन गर्ने, त्यसपछि उहाँको दैनिकीलाई क्यामेरामा कैद गर्ने अनि मिलाएर प्रस्तुत गर्ने यी सबै कुराको जानकारी पाएँ।
यो वर्कसपबाट सबै क्षेत्रको ज्ञान मिल्यो। हाल अध्ययन गरिरहेको छु। फिल्म उद्योगमा नै आफ्नो पहिचान बनाउन मन छ। अवसर पाए पढाइसँगै काम गर्ने चाह छ।
रोजगार महिलाले कहिले विश्राम पाउँछन् : प्राधान्या योञ्जन
हाम्रो समाजमा महिला सशक्तीकरण, आर्थिक हिसाबले सबल बनाउनेबारे धेरै छलफल भएका छन्। त्यस्तै प्रजनन् अधिकारबारे पनि समय समयमा बहस भइरहन्छन्। समयसँगै परिवर्तन हुँदै छन्। तर जागिरे महिला घरेलु र जागिरे जीवनको चपेटामा पिल्सिएको विषयमा हामीले डकुमेन्ट्री बनाएका छौं। हामीले तीन जना महिलाको जीवनमा आधारित भएर डकुमेन्ट्री बनाएका हौं।
फिल्म बनाउनेसम्बन्धी मसँग अनुभव थियो। हालसम्म मैले चार ओटा फिल्म बनाएको छु। फिल्ममेकिङ कार्यशालालाई एक अवसर ठानेर फारम भरें। यसमा डकुमेन्ट्री बनाउनुपर्ने विषयले प्रभावित भएँ।
रोजगार आमाले निभाएको जिम्मेवारीलाई नजरअन्दाज नगरौं : आश्रुति थपलिया
रोजगारी पाएकी आमाले निभाएको दुवै जिम्मेवारीलाई सबैले नजरअन्दाज गरिरहन्छन्। त्यसैले तीन जना जागिरे महिलाले भोगेका समस्यालाई डकुमेन्ट्रीमा उतारेका छौं।
डकुमेन्ट्री बनाउन व्यक्ति छनोट गरी मनाउन अलिक समय लाग्यो। धेरैजसो मानिस क्यामेराको अघि आएर बोल्न हिचकिचाउने, कोही अलि बढी नाटकीय शैलीमा प्रस्तुत भए। केही समयपछि यर्थाथ रुपमा प्रस्तुत हुने महिला पायौं। हामीले उहाँहरूलाई एक(एक दिन फलो गरी डकुमेन्ट्री बनाएका छौं।
यसअघि नै फिल्म उद्योगमा आबद्ध थिएँ। तर वर्कशपमा सहभागी भएपछि क्यामेरा चलाउनेजस्ता प्राविधिक विषयमा विविध जानकारी पाएँ। अहिले पनि प्रोजेक्टमा काम गरिरहेको छु। भविष्यमा पनि यही क्षेत्रमै रहनेछु।
यो कार्यशाला महिलासम्बन्धी थुप्रै ‘स्टेरियोटाइप’ चिर्न र फिल्म निर्माणमा महिलाको संख्या बढाउन किपालयले आयोजना गरेको थियो। एकमहिने कार्यशाला साउन ३ देखि भदौ ३ सम्म चलेको हो।
देशभर २० लाख बालबालिकाले लगाए दादुरा–रुबेलाविरुद्धको खोप
मधेस प्रदेश : एमालेका मन्त्रीहरूले दिए राजीनामा
थप समाचार
लोकप्रिय (यो साता)
-
१
सिन्धुलीमा भेटियो उँट, कहाँबाट आयो ?
-
२
डा. स्वर्णिम वाग्लेको ‘बिल्ला’ !
-
३
मोबाइलमा हुने सानो प्वालको काम के ?
-
४
दुई दिनसम्म निगरानी गरेपछि आक्रमणकारीले पुण्य गौतमलाई हानेका थिए रड, को थिए उनी ?
-
५
पुण्य गौतममाथि रड प्रहार, टाउको फुटेपछि आइसीयूमा (भिडिओ)
-
६
को हुन् सिमी ग्रेवाल ? जोसँग रतन टाटाको सम्बन्धको धेरै चर्चा भएको थियो
-
७
रतन टाटा : सरलताको उदाहरण, देखावटीपनबाट सधैँ टाढा
-
८
रवि लामिछानेलाई पक्राउ गर्ने तयारी भइसकेको थियो, अदालतले पुर्जी नदिएपछि रोकियो : प्रचण्ड
न्यूज अपडेट
-
प्रभुको ‘उर्दी’- भ्रष्ट नेतालाई बहिष्कार र जनकारबाही गरौँ
-
सहारा मरुभूमिमा ५० वर्षयताकै ठूलो वर्षा
-
खानेपानीमन्त्रीले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण
-
चिसिँदै काठमाडौं, न्यूनतम तापक्रम १५ भन्दा कम
-
बन्दैछ गौतमबुद्ध क्रिकेट रङ्गशाला, दैनिक दुई चरणमा काम
-
पाँच आरोहीको शव एक सातादेखि धौलागिरि हिमालमै
-
झापामा भएको छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु
Facebook Comment
Comment