अमेरिकामा क्‍वाड देशबीच औपचारिक वार्ता, चीनले गर्‍यो आलोचना

भेटवार्ताका क्रममा बेइजिङको कतै जिकिर नभएको बताइएको छ। भेट भने बेइजिङको बढ्दो प्रभावालाई मध्यनजरमा राखेर नै भएको हो।

नेपालभ्युज

अमेरिकामा क्‍वाड देशबीच औपचारिक वार्ता, चीनले गर्‍यो आलोचना

एजेन्सी। अमेरिका, जापान, भारत र अष्ट्रेलियाका सरकार प्रमुखबीच शुक्रबार अमेरिकाको राजधानी न्यूयोर्कमा भेटघाट भएको छ। यी चार देश मिलेर बनेको क्‍वाड समूहको यो पहिलो औपचारिक भेटघाट हो। भेटवार्ताको क्रममा चारै देशका सरकार प्रमुखले इन्डो प्यासिफिक क्षेत्रमा बढ्दै गएको चीनको उपस्थितिका विषयमा आफ्नो धारणा राख्दै उक्त क्षेत्रलाई स्वतन्त्र राख्ने विषयमा छलफल गरेका छन्।

विश्वका चार ठूला प्रजातान्त्रिक देशका नेताबीच अमेरिकाको राष्ट्रपति भवन ह्वाइट हाउसमा करीब दुई घण्टा भेटवार्ता भएको थियो। यस भेटवार्तालाई बेइजिङले नजिकबाट हेर्नेछ। यसअघि बेइजिङले क्‍वाड समूहलाई ‘असफल हुन अभिसप्त’ रहेको बताएको थियो।

भेटवार्ताका क्रममा बेइजिङको कतै जिकिर नभएको बताइएको छ। यद्यपि, बेइजिङको बढ्दो प्रभावालाई मध्यनजरमा राखेर नै यो भेट भएको हो।

भेटघाटका विषयमा पत्रकारहरुलाई प्रतिक्रिया दिँदै जापानका प्रधानमन्त्री योशिहिदे सुगाले कोभिड भ्याक्सिनमा सहकार्य गर्ने, स्वच्छ उर्जाका लागि प्रत्येक वर्ष यस प्रकारको सम्मेलनको अयोजना गर्ने लगायतका विषयमा छलफल भएको बताएका छन्।

यस्तै, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलेले क्‍वाड सदस्य राष्ट्रका सरकार प्रमुखसँग अक्टोबरको अन्त्यसम्ममा भारतले ८ मिलियन कोभिड भ्याक्सिन वितरण गर्ने बताएका छन्। गत मार्चमा भर्चुअल रुपमा बसेको क्‍वाड देशका नेताबीचको अनौपचारिक बैठकका क्रममा भारतले करीब १ बिलियन भ्याक्सिन इन्डो प्यासिफिक क्षेत्रमा वितरण गर्ने बताएको थियो।

एशियाभरमा २०२२ को अन्त्यसम्म एक बिलियन कोभिड भ्याक्सिन वितरण गर्ने लक्ष्य भारतका कारण प्रभावित भएको थियो। भारतमा कोभिड संक्रमण बढ्दै जाँदा अप्रिल महीनामा भारतले भ्याक्सिन निर्यातमा कडाइ गरेपछि योजना कार्यान्वयनमा ढिलो भएको हो। प्रतिबद्धता अनुरुप भ्याक्सिन वितरण गर्न भारत तयार रहेको भारतीय विदेश सचिवले जानकारी दिएका छन्।

‘‘हामी इन्डो प्यासिफिक क्षेत्रमा सामूहिक रुपमा उभिएका छौँ, यो क्षेत्रमा कसैलाई हस्तक्षेप गर्न नदिई स्वतन्त्र, सार्वभौम, शान्त र अन्तर्राष्ट्रिय कानुनअन्र्तगत राख्न चाहन्छौँ’’, भेटघाटलाई सम्बोधन गर्ने क्रममा अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले बताएका थिए।

अमेरिकाका राष्ट्रपति जो बाइडेनले क्‍वाड ‘भविष्यका लागि साझा सपना र उद्देश्य भएका चार प्रजातान्त्रिक देशबीचको सहकार्य’ भएको बताएका छन्। भेटपछि जापानका प्रधानमन्त्री सुगाले चार देशबीच बलियो एकता भएको बताउँदै भने, ‘‘इन्डो प्यासिफिक क्षेत्रलाई स्वतन्त्र र खुला राख्ने विषयमा सबै देश प्रतिबद्ध छन्।’’

शुक्रबार नै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले क्‍वाड समूहको आलोचना गरेका थिए। विदेश मन्त्रालयका प्रवक्ता लिजियानले क्‍वाड समूहको आलोचना गर्दै भने, ‘‘एक बन्द समूह, जुन एक देशप्रति लक्षित छ। यो क्षेत्रीय देशहरुको आकांक्षाको विपरीत आएको समूह हो। यसले कुनै समर्थन प्राप्त गर्ने छैन र समयक्रममा असफल हुनेछ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved