सयौँ, हजारौँ पात्र पढियो। सबैको आ-आफ्नै विशेषता र चरित्र छन्। ठूल्ठूला पात्रहरू पनि छन्। विशेष ठूला उपन्यास र काव्यका पात्र मन पर्छन्। प्रमिथस, सेक्सपियरको नाटकका ह्याम्लेट जस्ता पात्र मन पर्छन्।
मलाई मनपर्ने अनेक पात्र छन्। तीमध्ये महाभारत (संस्कृत महाकाव्य)मा सधैँ अन्यायमा परेको, नबुझिएको एउटा पात्र छ। मलाई त्यही पात्र मनपर्छ।
महाभारतको मूल पात्र भीष्म पितामह हुन्। त्यो महाआख्यान उनी पछिका छोरा पात्रहरु, नाति-नातिनाको लडाइँको कथा हो। मलाई मनपर्ने पात्र महाभारतको मूल पात्र त होइन, तर मूल पात्रहरूसँगै सम्बद्ध छ। ती हुन्- अम्बा, राजा ध्रुपदकी छोरी।
भीष्म पितामहको खास नाम ‘देवदत्त’ हो। उनी हस्तिनापुरको राजा शान्तनुको छोरा हुन्। युवराज थिए। उनी आफ्नो समयको ठूलो पराक्रमी वीर थिए।
शान्तनुले सत्यवतीलाई मन पराएपछि उनी तर्फबाट जन्मेका सन्तानलाई राजा मानेर आजीवन देशको सेवा गर्छु भनेर भीष्मले प्रतीज्ञा गर्छन्। ‘जीवनभर विवाह गर्दिनँ’, ‘राजा पनि बन्दिनँ’ भनेर भीष्म प्रतिज्ञा लिएको भएर उनलाई ‘भीष्म’ भन्न थालिएको हो।
सत्यवतीको कोखबाट दुई सन्तान जन्मिन्छन्- चित्रांगत र विचित्रविर्य। चित्रांगत लडाइँमा मारिन्छन्। विचित्रविर्य बाँच्छन्। उनको बिहे गर्ने समय आएको हुन्छ। त्यति नै बेला काशीका राजाका तीन छोरीहरुको स्वयंवरको पनि समय भएको हुन्छ। तीन राजकुमारीहरु, अम्बा, अम्बिका र अम्बालिकाको स्वयंवर समारोह आयोजना गरिन्छ।
विभिन्न देशका राजा-महाराजालाई बोलाएर वर चुन्ने अधिकार दिइन्छ। पतिवरण गरेकाहरुसँग नै बिहे गराउने राजाको घोषणा हुन्छ। त्यसमा भाइको बिहे गराउन भीष्म आफै काशी जान्छन् र स्वयंवर सभाबाट तीन राजकुमारीलाई अपहरण गरी भाइसँग बिहे गराउन हस्तिनापुर लैजान्छन्।
दरबारमा पुगेपछि अम्बाले भन्छिन्, “मैले अरु कसैलाई वरण(प्रेम) गरिसकेकी छु। उनी शाल्व देशको राजा हुन्।”
त्यसपछि भीष्मले अम्बालाई छोडिदिन्छन्।
अम्बा शाल्ब राजाकहाँ पुग्छिन्। शाल्ब राजाले उनलाई अस्वीकार गर्छन्। भीष्मको कारण आफ्नो जीवन बर्बाद भो भनेर अम्बाले भीष्मसँग प्रतिशोध लिनको लागि भीष्मकै गुरु परशुरामकहाँ जान्छिन्। परशुरामले पनि भीष्मलाई हराउन सक्दैनन्। त्यसपछि अम्बाले महादेवको कठोर तपस्या गर्छिन्। महादेवले अर्काे जन्ममा मार्न सक्छौ भनेर वरदान दिन्छन्।
अम्बाले अग्निकुण्डमा हाम फालेर आफ्नो देह त्याग गर्छिन्। र अर्को जन्ममा ध्रुपद राजाको छोरी भएर जन्मिन्छिन्। तर एउटा ऋषिले उनको यौनांग परिवर्तन गरेर शिखण्डी बनाइदिन्छ। तिनै शिखण्डी महारभारत युद्धको दशौँ दिनमा भीष्मको मृत्युको कारण बन्छन्।
कतिपयले शिखण्डी कारण मात्रै हुन्, खास मारेको त अर्जनुले हो भन्ने गर्छन्। भीष्मको निधनमा अर्जुनको हात त थियो नै। तर अम्बाले आफू अस्वीकार भएदेखि नै जन्म नै परिवर्तन गरेर स्त्रीबाट पुरुषको जीवन बाँचेर पनि एकनिष्ठ भएर प्रतिशोध लिन्छिन्। मलाई त्यो निकै रोचक लाग्छ।
सामान्यतया शिखण्डी भनेपछि नपुंसक भनेर हँसिमजाकको पात्रको रुपमा लिइने गरिएको छ। कसैलाई गाली गर्नुपरे पनि कस्तो शिखण्डी जस्तो भनेर पनि भन्ने गरिन्छ। तर शिखण्डी महाभारत युद्धका महावीर थिए। १८ दिनको युद्धमा पनि उनी मारिएनन्। १८ दिनको युद्धपछि सुतिरहेको बेलामा द्रोणाचार्यका छोरा अस्वत्थामाले उनलाई मार्छन्।
महाभारतको युद्धमा उनले देखाएको बहादुरी असामान्य हो। त्यो बहादुरी नबुझेर हाम्रो समाजले शिखण्डीलाई अपहेलनाको बिम्बको रुपमा लिएको छ।
महाभारतको विद्रोही नारी हुन् उनी, जसले एउटा जीवन होइन, दुई जीवन बाँचेर भए पनि आफ्नो लक्ष्य पूरा गर्छिन्। त्यसैले उनी मेरो प्रिय पात्र हुन्।
महाभारतमा ठूल्ठूला पात्रहरु छन्, भीष्म, पाण्डव, कौरव, कर्ण, कृष्ण आदि। उनीहरुको आफ्नै महत्त्व छ। तर ती ठूला पात्रहरुको बीचमा मलाई अम्बादेखि शिखण्डीसम्मको यात्रा मन पर्छ। त्यो विरोधको यात्रा हो। महिलाले आफ्नो अस्तित्व हरण भएपछि गरेको जीवनको यात्रा।
भीष्मले अन्याय गरेपछि अम्बा निराश भएर बसिनन्। त्यतिबेलाका शक्तिशाली, बहादुर र पराक्रमी मानिने वीरसँग पनि नझुकीकन प्रतिशोधको यात्रा वा नयाँ जीवनको यात्रा शुरु गरिन्। अर्काे जन्म लिएर भए पनि परास्त गर्छु भनेर कसम खाइन्। पछि गएर पराक्रमी वीर, महारथी नै भएर युद्धभूमिमा अपराजित भइन्।
पहिलो भेट
पढ्नुभन्दा पहिला मैले महाभारत सुनेँ। पोखरामा श्री १०८ स्वामी देवानन्दले मन्दिरहरुमा वाचन गरेर महाभारत सुनाउनुहुन्थ्यो। पाँच, ६ कक्षा पढ्दाताका मैले उहाँको मुखबाट महाभारत सुनेको थिएँ। अलि बुझ्ने भएपछि महाभारतका अनेक संस्करण पढेँ। नेपाली र हिन्दी भाषामा लेखिएका महाभारतका अनेकौँ संस्करण पढेँ।
मलाई अहिलेसम्ममा सबैभन्दा बढी मनपर्ने कृति पनि महाभारत नै हो। महाभारतमा जुन विराट पात्रहरु छन्, विराट कथावस्तु छ, त्यसको तुलनामा अरु कुनै ग्रन्थ लेखिएजस्तो लाग्दैन।
पहिलोपटक सुनेदेखि नै अम्बाले मलाई आकर्षित गरिरहिन्। त्यसैले मैले उनीबारे लेख्ने प्रयत्न पनि गरेँ।
१०, १५ वर्षअघि मैले शिखण्डीको आत्मकथाको रुपमा बालकथा लेखेको थिएँ। त्यस्तै, पछिल्लो वर्षमात्रै मैले उनको महिमागान गर्दै बालकथा पनि लेखेँ।
हुन त अम्बा वा शिखण्डीसँग जन्म, जन्मको कथा जोडिएको छ। कतिपयले त्यसमा वैज्ञानिकता नदेख्लान्। तर अहिले लिंग परिवर्तन त सहज भएको छ। महाभारत कालमा पनि त्यसको कल्पना गरिँदो रहेछ।
भविष्यमा पनि उनीबारे लेख्ने प्रयास गर्नेछु। त्यसैले मैले जतिपटक लेख्दा पनि शिखण्डीको मूल पहिचान परिवर्तन गर्न चाहन्न। अहिलेको समाजमा सम्मानित हुनुपर्ने चरित्र हुन् उनी तर शिखण्डी शब्दलाई नै जसरी अपमानको रुपमा लिइएको छ, म त्यसको विपक्षमा छु।
(प्रस्तुतीः सुनिता साखकर्मी)
Facebook Comment
Comment