मदन पुरस्कार विजेताको प्रतिक्रिया

‘‘घरसँगै इतिहासका दस्ताबेज जलेपछि गाउँ-गाउँ पुगेर खोजेँ”

गुठीले सही मूल्यांकन गर्यो म खुसी छु

नेपालभ्युज

‘‘घरसँगै इतिहासका दस्ताबेज जलेपछि गाउँ-गाउँ पुगेर खोजेँ”

काठमाडाैं।  २०७७ सालको मदन पुरस्कार भगिराज इङ्नामलाई प्रदान गरिने भएको छ। मदन पुरस्कार गुठीको बिहीबार बसेको साधारणसभा बैठकले लिम्बूवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह सम्वत् १७१९–२०२०’का लेखक इङ्नामलाई प्रदान गर्ने निर्णय गरेको हो।

नेपाली इतिहासको प्राथमिक सामग्रीको संकलन र विस्तार गर्न महत्वपूर्ण योगदान पुर्याएकाले इङ्नामलाई सो पुरस्कार दिने निर्णय गरिएको हाे। मदन पुरस्कारका लागि लिम्बूवानको ऐतिहासिक दस्तावेज छनाेटमा परेपछि नेपालभ्यूजलले लेखक इङ्नामसँग गरेकाे संक्षिप्त कुराकानीकाे सार:

यो एक महत्वपूर्ण ऐतिहासिक दस्ताबेज हो। पुरातात्विक र प्रतिष्ठित राष्ट्रको सम्पत्ति भएकाले राज्यले खोज्नुपर्थ्याे। प्राज्ञिक व्यक्ति र इतिहासकारले खोज्नुपर्थ्याे। तर कसैले नखोजेपछि ७० वर्षको उमेरमा दुःख गरेर गाउँ गाउँमा पुगेर ऐतिहासिक दस्ताबेज खोजेँ। प्रकाशित गरेँ। र आज मदन पुरस्कार गुठीले यस पुस्तकलाई सम्मानित गर्ने निर्णय गरेको छ। म सामान्य मान्छे हुँ, गुठीका कसैलाई म व्यक्तिगत रुपमा चिन्दिनँ, मूल्यांकन कमिटीमा को छ थाहा छैन।  तरपनि गुठीले मलाई पुरस्कृत गर्ने निर्णय गरेकाेमा खुसी लागेकाे छ। कसैले नखोजेको ऐतिहासिक दस्ताबेज बहुत दुःख गरेर खोजेकाले गुठीले सही निर्णय गर्यो भन्ने लाग्छ।

पुस्तकको नामैबाट पनि थाहा हुन्छ कि यो लिम्बुहरूको इतिहास हो। अहिले राजपत्र, ऐन, कानून, संविधान परिपत्र भए जस्तो शाहकालमा लालमोहर हुन्थ्यो। त्यसकै माध्यमद्वारा मुलुक सञ्चालन हुन्थ्याे। मेरो घरमा पनि त्यस्ता कागजात थिए। तर घर आगो लागेर जल्यो, सबै दस्ताबेज मेटिए। त्यतिबेलासम्म मलाई लिम्बुवानको इतिहास थाहा थिएन। जागिर खाने क्रममा इतिहास पढ्न शुरु गरेँ। घरमै भएको इतिहास घरसँगैं जलेकाले त्यो खोज्ने हुट्हुटी चल्यो र यसलाई संकलन गर्नुपर्छ भन्ने सोचेँ। राष्ट्रिय अभिलेखालयमा पनि बेला बेला जान्थेँ। २०७१ सालमा जागिरबाट अवकास लिएपछि गाउँ गाउँ पुगेर इतिहासका दस्ताबेज खोज्न थालेँ।

त्यस्ता दस्ताबेज कहाँ कोसँग छन् भनेर पत्ता लगाएर लामो यात्रा गर्दै गाउँ गाउँ पुग्न थालेँ। लामो समय पैदलै भोकभोकै हिँडेर, पानीमा लुगलुग काँप्दै, बास बसेर त्यस्तो गाउँमा पुग्दा कतिले त यसको महत्व गाउँमा थाहा छैन सहरमा लाखौँमा बिक्छ भनेर कागजात दिएनन। अझैं यस्ता ऐतिहासिक दस्ताबेज सुब्बाहरूसँग प्रशस्त छन्, घरमै राखेका छन्।

पछि कसैको मोटरसाइकलमा तेल हालिदिएर भाडा पनि दिएर यात्रा गर्न थालेँ। यसले तीन दिनको काम एक दिनमा हुन थाल्यो र संकलन गर्न सहज भयो। ७ वर्षसम्म अथक प्रयासपछि यो किताब प्रकाशन गर्न सफल भएँ। गुठीले मलाई पुरस्कार दिने निर्णय गरेपछि दुःखअनुसार आज फल पाए जस्तो लागेको छ, लेख्ने प्रेरणा मिलेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved