काठमाडौँ। प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले सत्ताको दुरुपयोग गरिरहेको आरोप लगाएका छन्। बिहीबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै ओलीले सरकारले आफ्नो स्वार्थको लागि संयन्त्रहरूकै दुरुपयोग गरेको बताए।
सरकारले प्रहरी र शिक्षकहरूलाई आफूले भनेअनुसार काम गर्न भन्ने र नमाने दुर्गम क्षेत्रमा सरुवा गरिदिने धम्की दिएको ओलीको आरोप छ। सरकारमा रहेकाहरूमा अलिकति पनि मानवीयता नभएको आरोप लगाउँदै उनले भने, ‘‘‘‘शिक्षक कर्मचारी लाई आफूतिर लाग्छस् कि सरुवा गरम भनेर दुर्गममा सरुवा गर्छ। यिनीहरूमा त मन पनि छैन। यिनीहरूको छातीमा मुटु हैन ढुङ्गा राखेको छ, त्यो पनि दर्शन ढुङ्गा।’’
ओलीले आफ्नो दलबाट छु्ट्एिर बनेको नेकपा (एकीकृत समाजवादी) पार्टीलाइ व्यङ्ग्य गर्दै चोईदिएको टुक्राको नाम एकीकृत पार्टी नसुहाउने बताए। ‘‘माधव नेपाल अहिले नेकपा एकीकृत समाजवादीको अध्यक्ष रे ? फुटेको एउटा चोइटो एकीकृत रे। टिभीमा हेरेको अध्यक्ष रे ? कत्रो ठुलो,’’ ओलीले भने ‘‘सात–सात जनाले त नगदा नगदी उपाध्यक्ष लिए। उपमहाबिच र सचिव त झन् कति कति ? अब मान्छे छानेर केन्द्रीय निकाय र विभागमा २५ – २५ का दरले राख्ने रे। मान्छे छैन। मान्छे कोही पाइएमा राख्ने अरे।’’
सरकारले पदक वितरण गरेकोप्रति ओलीले फेरि पनि कटाक्ष गरे। आफूहरू प्रचण्ड र उपराष्ट्रपति जस्तो आफ्नै छोरालाई पदक दिने नभएको ओलीले सुनाए। ‘‘हामी प्रचण्ड र उपराष्ट्रपति जस्तो आफ्नै छोरालाई पदक दिने होइनौं, माधवकुमार नेपाल जस्तो अफ्नै बालाई दिने होइन।
हिजो उषाकिरण भण्डारीलाई किन दिएको भन्दै आलोचना भएको छ। मदन भण्डारीलाई दिएको हो। उहाँको निधन भइसकेकाले त्यो पदक लिन उहाँको परिवारलाई दिएको हो। नेपाली जनता मूर्ख छन् भनेर भ्रम छरेका होलान्। खुलेआम यत्रो झुट किन ?’’ ओलीको भनाई थियो।
आफ्नो सरकारले धेरै विकास निर्माण गरेको र त्यसको उद्घाटन गर्ने सौभाग्य प्रधानमन्त्री शेरबहादुर देउवाले पाएको ओलीको दाबी थियो।
उनले भने ‘‘सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा हामीले बनाएको नयाँ घरमा सर्दै हुनुहुनेछ। हामी खुशी छौँ, उहाँले रिबन काटेर बत्ती बालेर घर सर्नुहुने छ। घर हामीले बनाऔँ उहाँले रिबन काट्नुहुन्छ। धेरै आयोजना हामीले बनायौँ उहाँले रिबन काट्न पाउनुभयो। अझै २ बर्ष हामीले सरकार चलाउन पाएको भए उहाँहरूको सटर बन्द हुनेथ्यो। घ्यार्र सटर बन्द हुन्थ्यो।’’