सातामा ‍‍‍२८ अर्ब ७६ कराेडको शेयर कारोबार

१२१‍.४२ अंकले बढ्यो नेप्से परिसूचक

अघिल्लो साता ३८ अर्ब ३२ करोड रुपैयाँको सात करोड चार लाख ४७ हजार ७१७ कित्ता शेयर काराेबार भएको थियाे।

नेपालभ्युज

काठमाडाैं। धितोपत्र बजारमा यस साता २८ अर्ब ७६ करोड रुपैयाँकाे काराेबार भएकाे छ। यस साता उक्त रकम बराबरको ६ करोड चार लाख ७३ हजार १६१ कित्ता शेयर कारोबार भएकाे छ।

यद्यपि, यो अघिल्लाे साताको भन्दा कम हाे। नेपाल स्टक एक्सचेञ्जका अनुसार अघिल्लो साता ३८ अर्ब ३२ करोड रुपैयाँको सात करोड चार लाख ४७ हजार ७१७ कित्ता शेयर काराेबार भएको थियाे।

कारोबार घटेपनि यस साता धिताेपत्र बजारले केही सकारात्मक संकेत गरेकाे छ। कारोबारको दाेस्रो दिन ११४ दशमलव ०२ अंकले गिरावट भएकाे बजार मंगलबारयता बढ्दै गएको छ। मंगलबार १३ दशमलव ८३ अंकको सामान्य सर्किट हानेको बजार बुधबार तेहाेराे अंकले वृद्धि भयाे। बुधबार १०४ दशमलव ८८ अंकले बढेकाे बजार बिहीबार पनि झिनाे अंकले बढेकाे छ। बिहीबार शेयर बजार २ दशमलव ७० अंकले बढेको हो।

राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति २०७८/७९ पश्चात् गएका दुई साता उतारचढावकाबीच शेयर बजार ओरालो लाग्यो। २ दिन सामान्य वृद्धि भएको बजार ३ दिन ओरालो लागेको थियो। शेयर बजारमा पहिरो जाने क्रममा झण्डै ३ हजार ३ सयको विन्दुमा पुगेको नेप्से परिसूचक एकै साता २८ सयको विन्दुमा झर्न पुग्यो।

यस साता कारोबारको दोस्रो दिन सोमबार धितोपत्र बजारमा अघिल्लो साताको पहिरोकै निरन्तरता रह्यो। २ हजार ८१७ दशमलव ९८ विन्दुबाट शुरु भएको बजार ११४ दशमलव ०२ अंकले गिरावट आई २ हजार ६९८ दशमलव २४ विन्दुमा झरेर बन्द भयो। उक्त दिन कुल २२५ ओटा कम्पनीको १ करोड ७३ लाख ३९ हजार ५३८ कित्ता शेयर किनबेच भयो। साताकै सबैभन्दा भारी अंकले परिसूचक घटेपनि उक्त दिन कारोबार भने उच्च रह्यो। यो साता सबैभन्दा बढी सोमबार ८ अर्ब ४९ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भयो। उक्त दिन १३ वटै समूहको परिसूचक घट्यो भने सबैभन्दा बढी वित्त समूहका लगानीकर्ताले घाटा व्यहोर्नुपर्यो।

मंगलबार बजारमा १३ दशमलव ८३ अंकको सामान्य सर्किटले लगानीकर्तामा उत्साह थपियो। बजार बढेपनि उक्त दिन कारोबार भने ७ अर्ब ३६ करोड ४७ लाखमा मात्रै सीमित भयो। मंगलबार २२३ कम्पनीको १ करोड ५३ लाख ६ हजार कित्ता शेयर कारोबार भयो। लगातार ५ दिन घटेको नेप्से उक्त दिन १३ मध्ये ८ समूहको परिसूचकमा भएको सामान्य वृद्धिले लगानीकर्तामा ‘पर्ख र हेर’को अवस्था सिर्जना गर्यो।

साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक साताकै उच्च १०४ दशमलव ८८ अंकले बढेर २ हजार ८१६ दशमलव ८७ बिन्दूमा पुग्यो। १३ वटै समूहको समग्र नेप्से परिसूचक उकालो लागेकोमा सबैभन्दा बढी वित्त समूहको ८ दशमलव ५४, विकास बैंकको ७ दशमलव ७४ र जलविद्युतको ५ दशमलव ५७ बिन्दूले परिसूचक बढ्यो। बिहीबार २१७ कम्पनीको कुल ६ अर्ब १७ करोड ९३ लाख रुपैयाँको १ करोड २१ लख २२ हजार कित्ता शेयर कारोबार भयो। बुधबार १३ वटै समूहको सूचक हरिया भई तेहोरो अंकले परिसूचक वृद्धि भएको थियो।

सबै समूहको सूचक हरियो देखिए पनि कारोबार भने अघिल्लो दिनको तुलनामा १ अर्ब १९ करोड रुपैयाँले घट्यो। शेयर मूल्य बढेपछि खरिद गर्नेको संख्या घटेको हो।
बुधबारको बृद्धिले बजारले सकारात्मक दिशातर्फ अघि बढ्ने अनुमान धेरै लगानीकर्ताको भएपनि कारोवारको अन्तिम दिन बजार त्यति सन्तोषजनक देखिएन। साताको अन्तिम कारोवार दिन बिहीबार शेयर बजार झिनो अंकले वृद्धि भएको छ।

आज नेप्से परिसूचक २ दशमलव ७० अंकले वृद्धि भई नेप्से परिसूचक २ हजार ८१९ दशमलव ६६ विन्दुमा पुगेर बजार बन्द भएको छ। आज २२८ ओटा कम्पनीको ७ अर्ब ६३ करोड ६३ लाख रुपैयाँ बराबर १ करोड ५७ लाख १४ हजार २६६ कित्ता शेयर कारोवार भएको छ।

आज १३ वटा समूहमध्ये बैंकिङ र फाइनान्सबाहेक सबै समूहको शेयरमा गिरावट आएको छ। सबैभन्दा बढी मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको शेयर १० प्रतिशतले बढेको छ भने दोस्रोमा प्राइमा लाइफ इन्सोरेन्सको शेयरमूल्य ६ दशमलव १३ प्रतिशतले बढेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved