एमसीसी पारित गर्न नसकिने निर्णयसहित सकियो नेकपा (एसको) बैठक

नेपालभ्युज

एमसीसी पारित गर्न नसकिने निर्णयसहित सकियो नेकपा (एसको) बैठक

काठमाडौं। आफ्नो पार्टीलाई नेकपा (एमाले) भन्दा फरक बनाउँदै अघि बढ्ने निष्कर्षका साथ नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को पहिलो केन्द्रीय कमिटी बैठक सकिएको छ। नेकपा एमालेलाई विभाजन गरेर नेकपा एस बनाएका नेताहरु सम्मिलित सो पार्टीको आफ्नो पार्टीलाई एमाले भन्दा फरक बनाएर अघि बढ्ने निष्कर्ष छ।

एमालेमा विचलन आएको आरोप लगाउँदै आफूहरूको नयाँ पार्टीलाई विचलनबाट मुक्त राख्न प्रतिबद्धता समेत नेताहरूको छ। तीन दिनयता काठमाडौंमा जारी नेकपा एको केन्द्रीय कमिटीको बैठकले बेदुराम भुसाललाई महासचिव बनाएको छ।

उपमहाबिचमा प्रकाश ज्वाला, गांगालाल तुलाधर र नागेन्द्र प्रसाद यादव छन्। स्थायी कमिटीको बैठकको निर्णय अनुमोदन गर्दै पूर्ण र केन्द्रीय संगठनलाई वैकल्पिक गरी ३०१ सदस्यीय केन्द्रीय कमिटी बनाइएको छ।

बिहीबार बिहान बसेको स्थायी कमिटीको बैठकले पदाधिकारी र केन्द्रीय कमिटीको सङ्ख्यासहित नेताहरूको नाममा  समझदारी बनाएको थियो। सो निर्णयलाई केन्द्रीय कमिटी बैठकले  अनुमोदन गरेको प्रचार विभाग प्रमुख तथा सचिव जगन्नाथ खतिवडाले जानकारी दिए।

नेकपा एको पदाधिकारीमा अध्यक्ष, वरिष्ठ नेतासहित उपाध्यक्ष र सचिव ७–७ जना हुनेछन्। त्यस्तै उपमहासचिव ३ जना रहने समझदारी भएको छ। पोलिटव्यूरो कमिटी ७१ सदस्यीय, स्थायी कमिटी सदस्य ३५ सदस्यीय  र पदाधिकारीमा अध्यक्ष, वरिष्ठ नेता, उपाध्यक्ष, महासचिव, सचिव रहनेछन्।

यस्तै नेकपा एसले अमेरिकी सहायता परियोजना (एमसीसी) अहिलेकै अवस्थामा पारित गर्न नसकिने निर्णय लिएको छ। एमसीसी राष्ट्रिय हित अनुकूल नभएकाले आजकै अवस्थामा पारित गर्न नसकिने निर्णय भएको सचिव जगन्नाथ खतिवडाले बताए।

 

माओवादीसँग एकता हुँदैन, गठबन्धन फुट्दैन : अध्यक्ष नेपाल

बैठक समापन गर्दै अध्यक्ष माधवकुमार नेपालले जबजको मूल्य मान्यतामा अघि बढ्ने बताए। एमालेको नवौँ महाधिवेशनले उठाएका विचार र सिद्धान्तलाई कार्यान्वयन गर्ने पनि नेपालको भनाई थियो। कोरोना महामारीको नियन्त्रण र उपचारमा सरकारलाई घचघचाउने समेत नेपालले बताए।

अमेरिकी सहयोग परियोजना एमसीसी राष्ट्र हितमा नरहेको समेत अध्यक्ष नेपालले बताएका छन्। पार्टीको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै नेता नेपालले अर्को पार्टीमा मिसिन लागेको भन्ने हल्ला झुटो भएको स्पष्ट पारे।

माओवादी केन्द्रमा एकता हुन लागेको हल्लाप्रति संकेत गर्दै उनले कोहीसँग एकता नहुने दोहोर्‍याए।

‘हाम्रो पार्टी अर्को पार्टीसँग मिसिन गएको छ भन्ने हजार प्रतिशत गलत छ। जन वर्गीय संगठन फैलिँदै गएको छ। यो पार्टीलाई सशक्त र प्रभावकारी बनाउनुपर्छ। कसैले भ्रम फैलाउन खोज्छ भने भ्रममा नपर्न आग्रह गर्छौ। हामी ५ दलको गठबन्धनमा सहभागी छौँ,’ उनले भने।

पाँच दलको सत्ता गठबन्धनमा कुनै विवाद नभएको बताउँदै नेपालले चुनावसम्म र त्यसपछि पनि गठबन्धन कायमै रहने दाबी गरे। गठबन्धनलाई अघि बढाउन दस्ताबेज निर्माणको काम भइरहेको जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved