दशैं टिकट बुकिङ

अनलाइनमा किन जाँदैनन् यातायात व्यवसायी?

केही व्यवसायीले अनलाइन बुकिङ अभ्यासमा ल्याए पनि वर्षौंदेखि लामाे दूरीकाे यातायातमा सिन्डिकेट लगाएका ठूला यातायात व्यवसायी अनलाइन प्रणालीमा जान तयार छैनन् । 

नेपालभ्युज

अनलाइनमा किन जाँदैनन् यातायात व्यवसायी?
फाइल फोटो

काठमाडौं। दशैं नजिकिँदै जाँदा लामो दूरीको यातायातको अग्रिम टिकट बुकिङ खोल्ने विषयमा छलफल शुरु भएको छ। यातायात व्यवस्था विभागले बिहीबार व्यवसायीहरूलाई छलफलका लागि बोलाएको छ।

बिहीबार कहिलेदेखि अग्रिम टिकट खुला गर्ने भन्ने विषयमा निर्णय हुने विभागले जनाएको छ। यद्दपि, विभागले गत सोमबार पनि व्यवसायीसँग अग्रिम टिकट खोल्न छलफल गरेको थियो। यात्रुको चाप बढ्ने भएकाले असोज १० गतेदेखि अग्रिम टिकट खोल्न विभागले प्रस्ताव गरेकोमा सो दिन नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले व्यवसायीसँग छलफल गर्ने भन्दै तत्काल टिकट खोल्न नसकिने बतायो।

तथापि, सोही दिन अनलाइन टिकटिङमा व्यवसायी नजाने र काउन्टरमै पुगेर टिकट काट्नुपर्ने प्रस्ताव उनीहरूले राखे, विभागले पनि अनिवार्य अनलाइन टिकटिङका लागि दबाब दिएन। यो सँगैं निषेधाज्ञाको समयमा डिजिटल प्रणाली शुरु गरेको नयाँ बसपार्कमा पुनः दशैंको बेला टिकटका लागि काउन्टरमै पुगेर मध्यरातिदेखि लाइन लाग्नुपर्ने बाध्यता दोहोरिने निश्चित देखिएको छ।

प्रत्येक वर्ष दशैंको बेला सबैभन्दा बढी यात्रु काठमाडौंबाट बाहिरिने गरेका छन्। ठूलो संख्यामा यात्रु बाहिरिने गरेपनि मुलुकको यातायात व्यवस्था चुस्त नहुँदा नागरिकले दोब्बर भाडामा क्याबिन र मुढामा बसेर यात्रा सँधैं सास्तीको यात्रा गर्न बाध्य छन्। अग्रिम टिकट बुकिङ खोलेको मध्यरातिदेखि काउन्टरमा पुगेर लाइन लाग्दा पनि टिकटमा हुने कालोबजारीका कारण कतिपय लामो दूरीको मध्यदिनदेखि नै टिकट नपाउँदा यात्रुहरू सकशपूर्ण यात्रा गर्न बाध्य छन्। टिकटको कालोबजारी रोक्न र पारदर्शी रुपमा अनलाइनमार्फत टिकटको व्यवस्था गर्न लामो समयदेखि बहस पनि हुँदै आएको छ।

अघिल्लो वर्ष संसदीय समितिले सरकारलाई दशैं र तिहारमा घर जाने नागरिकका लागि अनिवार्य अनलाइन टिकटको व्यवस्था गर्न निर्देशन नै दियो। तर व्यवसायीले नमानेपछि अग्रिम टिकट नै खुलेन र यात्रु संक्रमणको जोखिमको बेला दोब्बर–तेब्बर पैसा तिरेर गाउँ जान बाध्य भए।

यस वर्ष पनि विभागले बसकाे टिकट डिजिटल प्रणालीमा शुरू गर्न प्रस्ताव गरेपनि व्यवसायीहरूले तत्काल अनलाइन टिकटिङमा जान नसकिने बताएकाे विभागका प्रवक्ता लाेकनाथ भुषालले बताए। ‘‘व्यवसायीले दशैं अगाडि अनलाइन टिकटिङमा जान नसकिने बताएका छन्,’’ उनले भने, ‘‘मंसिरपछि अनलाइन टिकटका लागि तयारी गर्ने बताएका छन्।’’ व्यवसायीले डिजिटल प्रणाली सञ्चालनमा ल्याउन खर्च नभएकाले दशैंमा कमाएर डिजिटल प्रणालीमा जाने बताएकाे जानकारी उनले दिए।

नेपालमा बससेवा, स्मार्टबस लगायत केही व्यवसायी अनलाइन बुकिङ सेवा शुरू गरेर सफल पनि भएका छन्। केही व्यवसायीले अनलाइन बुकिङ अभ्यासमा ल्याए पनि वर्षौंदेखि लामाे दूरीकाे यातायातमा सिन्डिकेट लगाएका ठूला यातायात व्यवसायी अनलाइन प्रणालीमा जान तयार छैनन्।

अनलाइन टिकटिङ राम्राे भएपनि तत्काल अनलाइनमा जान नसकिने यातायात व्यवसायी महासंघका महासचिव सराेज सिटाैला बताउँछन्। ‘‘यात्रुहरू प्रविधिमा साक्षर नभएकाले तत्काल अनलाइनमा जान सकिन्न,’’ उनले भने,‘‘काेभिड संक्रमणकाे जस्तै जनचेतना बढाउन आवश्यक देखिन्छ।’’ सरकारले यस वर्षदेखि तयारी गरे आगामी वर्षसम्म अनिवार्य अनलाइन टिकटिङमा जान सकिने उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved