मेस्सीलाई पीएसजी बस्न छैन सहज

रोनाल्डोले भनेझैं मेस्सी आफ्नो ‘कम्फर्ट जोन’ छाडेर पीएसजी गएका छन्। तर त्यहाँको वातावरणमा घुलमिल हुन नसक्दा उनको प्रभाव क्लबमा पर्न सकेको देखिएको छैन। जसले गर्दा उनको बसाइँ नै धरमर देखिएको छ।

मेस्सीलाई पीएसजी बस्न छैन सहज

काठमाडौं। स्पेनको शान्त शहर बार्सिलोनामा एकाएक एउटा ‘बम’ खस्यो। बार्सिलोनाभरि तरंग मच्चियो। आफ्नै गतिमा चलिरहेको यूरोपको शहरमा तहल्का मच्चाउने उक्त बमको नाम थियो ‘मेस्सी बम’।

गत साउन साउन २१ (५ अगस्ट) का दिन बार्सिलोना फुटबल क्लबले घोषणा गर्‍यो, आफ्ना स्टार खेलाडी मेस्सी अब बार्सिलोनामा रहने छैनन्। बार्सिलोनाका समर्थकहरुले जुन दिन कहिल्यै नआओस् भनी प्रार्थना गरिरहेका थिए, आखिरमा त्यो दिन आएरै छाड्यो।

आर्थिक सकंटले मेस्सीलाई धान्ने क्षमता नभएपछि करीब २१ वर्ष बिताएपछि प्रिय क्लब बार्सिलोनालाई मेस्सीले रुँदै छाडे। रुँदै पत्रकार सम्मेलनमा बोलेको २ दिनपछि नै मेस्सी फेरि हाँस्दै फ्रेन्च क्लब पीएसजीसँग अनुबन्धित भएको दृश्य विश्वभर भाइरल नै भयो।

यो घटनाको करीब ३ वर्षअघि क्रिष्टियानो रोनाल्डोले मेस्सीलाई एउटा चुनौती दिएका थिए, “आफ्नो कम्फर्ट जोन छाडेर बाहिर आऊ।” रोनाल्डोले सन् २०१८ मा आफ्नो करिअरकै सबैभन्दा सफल क्लब रियल मड्रिड छाडेर युभेन्टस् गएपछि भनेका थिए, “मेस्सीले मैलेजस्तै धेरै क्लबबाट खेल्ने चुनौती स्वीकार गर्नुपर्छ, मलाई लाग्छ कि उनी बार्सिलोना छाडेर बाहिर आउनेछन्।”

उक्त चुनौतीलाई अहिले आएर मेस्सीले स्वीकारेको देखिन्छ। बार्सिलोना छाडेर पीएसजी गएपछि मेस्सीले अन्य क्लबबाट खेलेको हेर्ने रोनाल्डोको त्यो इच्छा पनि पूरा भयो।

तर मेस्सीको पीएसजी बसाइ बार्सिलोनामा जस्तो नहुने संकेत देखिइसकेको छ। उनी साँच्चै आफ्नो बार्सिलोनाको कम्फर्ट जोन छाडेर बाहिर आए। विश्व फुटबल इतिहासकै सर्वाधिक सफलमध्ये एक खेलाडी मेस्सीलाई पनि रोनाल्डोको त्यो चुनौती पूरा गर्न त्यति सजिलो नहुने देखिन्छ।

यसै सिजन मेस्सी पीएसजी गएपछि रोनाल्डो पनि इटालियन साइड यूभेन्टस छाडेर आफ्नो इंग्लिस क्लब म्यान्चेष्टर यूनाइटेड नै फर्किएका छन्। रोनाल्डोलाई म्यान्चेष्टर यूनाइटेडको नयाँ टिममा सेट हुन एक खेल पनि लागेन। यूनाइटेड पुनरागमनपछिको डेब्यू खेलमै उनले दुई गोल गरे।

त्यसपछि पनि खेलेका सबै खेलमा गोल गरिरहेका छन्। यूनाइटेड आएपछि खेलेको तीन खेलमा चार गोल गरिसके रोनाल्डोले। टिममा अग्रपंक्तिको जिम्मेवारी पूर्ण रुपमा सम्हालिरहेका छन्।

उक्त चुनौतीलाई अहिले आएर मेस्सीले स्विकारेको देखिन्छ। बार्सिलोना छाडेर पीएसजी गएपछि मेस्सीले अन्य क्लबबाट खेलेको हेर्ने रोनाल्डोको त्यो इच्छा पनि पूरा भयो।

तर मेस्सी भने पीएसजी टिममा भिज्नै सकेका छैनन्। पीएसजीमा डेब्यू गरेयता खेलेका तीन खेलमा उनको खुट्टाबाट एक गोल पनि भएको छैन। पीएसजीमा मेस्सीको खेल हेर्दा उनले आफ्नो नियमित प्रदर्शन र स्वाभाविक खेल शैलीलाई पनि निरन्तरता दिन गाह्रो भइरहेको भान हुन्छ।

हुन त पीएसजी जानुअघि मेस्सी पूरै फर्ममा थिए। मेस्सीले पहिलो पटक अर्जेन्टिनाको राष्ट्रिय टिमबाट प्रमुख उपाधिको रुपमा कोपा अमेरिका २०२१ को उपाधि जित्दा उनी उच्च गोलकर्ता र उत्कृष्ट खेलाडी घोषित भएका थिए।

त्यसैगरी पीएसजीबाट डेब्यू गरिसकेपछि राष्ट्रिय टिमबाट खेलेको विश्वकप छनोट खेलमा अर्जेन्टिनाले बोलिभियालाई ३-० ले हराउँदा उनले ह्याट्रिक गरे।

दक्षिण अमेरिकी देशमा राष्ट्रिय टिमबाट सर्वाधिक गोल गर्ने पेलेको रेकर्ड पनि उनले यसै खेलबाट तोडे। तर यता पीएसजीको टिममा भने उनी पूर्ण फिट भइसकेका छैनन्।

हरेक टिमको आफ्नो छुट्टै खेल्ने शैली हुन्छ। नयाँ टिमका खेलाडी र प्रशिक्षकसँग शुरुमा तालमेल कमी हुनु स्वाभाविक मानिन्छ। टिममा पहिल्यै फ्रान्सेली स्ट्राइकर किलियन एम्बाप्पे र ब्राजिलियन खेलाडी नेयमार जुनिअरजस्ता स्टार स्ट्राइकरहरू पनि छन्। मेस्सी आएपछि पीएसजीको स्ट्राइकिङ लाइन-अप हाल विश्वकै नम्बर १ मानिन थालिएको छ।

त्यसैले नयाँ क्लबमा एम्बाप्पे र नेइमारजस्ता स्टार खेलाडीबीच राम्रो प्रदर्शन गर्नुपर्ने दबाब पनि मेस्सीले महशुस गरेको हुन सक्छ। बार्सिलोना छँदा पूरै टिम उनको वरिपरि घुम्थ्यो। क्लबले कुन खेलाडी किन्ने र कुन खेलाडी बेच्नेदेखि खेलको प्लेइङ-११ मा कुन-कुन खेलाडी खेलाउने सम्मको निर्णयमा प्रशिक्षकसँगै उनको राय चल्थ्यो।

टिमका कप्तानसमेत रहेका मेस्सीको एक हिसाबले भन्दा बार्सिलोनामा आफ्नै बोलबाला थियो। उनीसँग खेलाडी, व्यवस्थापन पक्ष र प्रशिक्षकसमेत केही हदसम्म डराउने गर्थे भन्दा फरक पर्दैन।

तर पीएसजीमा उनको दायरा खुम्चिएको छ। महान् खेलाडी मेस्सी नै भए पनि पीएसजीमा उनको अवस्था नौलो जागिरेझैं भएको छ। जसलाई नयाँ साथीहरूसँग घुलमिल हुन समय लाग्छ।

टिमका कप्तानसमेत रहेका मेस्सीको एक हिसाबले भन्दा बार्सिलोनामा आफ्नै बोलबाला थियो। उनीसँग खेलाडी, व्यवस्थापन पक्ष र प्रशिक्षकसमेत केही हदसम्म डराउने गर्थे भन्दा फरक पर्दैन।

गत आइतबार पीएसजी घरेलु लिगमा लियोनसँग खेलिरहेको थियो। खेल १-१ को बराबरीको अवस्थामा छँदा ७६ औं मिनेटमा प्रशिक्षक मौरिसिओ पोचेटिनोले मेस्सीलाई परिवर्तन गर्दै उनको ठाँउमा हाकिमीलाई मैदानमा पठाए। यसबाट निकै निराश भएका उनले प्रशिक्षकसँग हात पनि मिलाएनन्। यसपछि उनी बेन्चमा पनि निकै हतोत्साहित देखिन्थे।

यो घटनापछि पीएसजीमा मेस्सीलाई देख्दा लाग्छ उनले साँच्चै रोनाल्डोले भनेजस्तै आफ्नो कम्फर्ट जोन छाडेर आए। कतारी व्यापारीको लगानी रहेको पीएसजीले पैसाको खोलो बगाउँदै मेस्सीबाहेक नै अन्य महँगा खेलाडी टिममा भित्र्याएको छ। फ्रेन्च लिगमा रहेका कतिपय अन्य क्लबको वार्षिक बजेट नै पीएसजीको स्टार खेलाडीको एक वर्षको तलबभन्दा कम छ।

यसै पनि फ्रेन्च लिगलाई ‘फार्मस लिग’ भनेर जिस्काउने गरिन्छ। यो लिगमा प्रतिस्पर्धा नहुने र १-२ वटा क्लबको मात्र दबदबा हुने हुनाले हेपेर साना क्लबका खेलाडीहरु दिनभरि खेतमा काम गरेर बेलुका फुटबल खेल्छन् भन्ने गरिएको हो।

त्यसैले मेस्सीसहित पीएसजीले यो सिजनको फ्रेन्च लिग जितेर केही ठूलो उपलब्धि हुँदैन। यो त यसै पनि उसले जित्नैपर्छ। मेस्सीले पीएसजीमा आफूलाई प्रमाणित गर्न राम्रो खेलेर, गोल गरेर तथा घरेलु लिग र कपको उपाधि जितेर मात्र पुग्नेवाला छैन। मेस्सी आएपछि उनको मात्र होइन, क्लबको पनि प्रमुख चुनौती अब यूरोपियन च्याम्पियन्स लिग जित्नु हुनेछ।

जुन पीएसजीले अहिलेसम्म जितेको छैन। अनि जसका लागि नै पीएसजीले मेस्सीलाई टिममा भित्र्याउने खर्च बेहोरेको थियो। सोचौं, यदि यो सिजन पीएसजीले यूरोपियन च्याम्पियन्स लिग जित्न नसके क्लबमा मेस्सीको भविष्य के होला?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved