संखुवासभा हत्या प्रकरण : थप चार पक्राउ

मृतक रञ्जनाको हराएको मोबाइल गत शुक्रबार फेला पारेपछि प्रहरीको अनुसन्धान टोली पुनः घटनास्थल पुगेको हो।

संखुवासभा हत्या प्रकरण : थप चार पक्राउ
फाइल तस्वीर

संखुवासभा। संखुवासभाको मादी १ उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्यामा संलग्न भएको आरोपमा थप चार जना पक्राउ परेका छन्। प्रहरीले ४६ वर्षीय खड्गबहादुर कार्की, २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र १७ वर्षीय नरेश कार्कीलाई पक्राउ गरेको हो।

पक्राउ गरिएका चारै जनालाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गर्न लागिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख लालध्वज सुवेदीले जानकारी दिए। गत भदौ २१ गते उम्लिङ खोला गाउँका ५२ वर्षीय तेजबहादुर कार्की, उनकी ८४ वर्षीया आमा पार्वती, ५२ वर्षीया श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी सात वर्षीया गोमाको हत्या भएको थियो।

एकै परिवारका ६ जनाको हत्यामा संलग्न स्थानीय लोकबहादुर कार्कीलाई यसअघि नै प्रहरीले पक्राउ गरिसकेको छ। मृतक रञ्जनाको हराएको मोबाइल गत शुक्रबार फेला पारेपछि प्रहरीको अनुसन्धान टोली पुनः घटनास्थल पुगेको हो।

घटनाबारे थप अनुसन्धान गर्ने शुक्रबार सङ्घीय इकाई प्रहरी कार्यालय धरानका प्रहरी उपरीक्षक भीम दाहालको नेतृत्वमा १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरीसहित ६ जनाको टोली घटनास्थल खोला गाउँ पुगेको छ। लोकबहादुरको बयानका आधारमा चार जनालाई पक्राउ गरिएको सुवेदीले बताए। पक्राउ परेका चारै जना मृतक तेजबहादुरका छिमेकी हुन्।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved